• सम्पादकीय

कोरोनाको दोस्रो लहरको समाप्ति र तेस्रो लहरको आगमनका साथै विद्यालय सञ्चालनसम्बन्धी बहस गम्भीरतापूर्वक उठ्न थालेको छ । के गर्ने ? कोरोनाको बेवास्ता गर्दै विद्यालय सञ्चालन गर्ने कि वर्ष दिनभन्दा बढी विद्यालय जान नपाएर अलपत्र परेका विद्यार्थीहरूको जीवन दाउमा लाग्ने भयले अवस्था सामान्य नभएसम्म भौतिक कक्षा सञ्चालन नगर्ने ? विद्यार्थीको जीवन ठूलो कि शिक्षा ? जीवन गयो भने फर्कंदैन ।

शिक्षा भएन भने काम चल्न सक्छ । तर कुरा यतिमैं टुङ्गिदैन । के मानव आज यति लाचार भइसकेको छ कि एउटा भाइरसले उसलाई भ्रमित पारिदिएको छ ? मानव इतिहासले सदा अग्रगामी पाइला चाल्न सिकाएको छ । मानिस पछि फर्कन सक्दैन । विभिन्न बाधा–अवरोधका बावजुद आफ्नो लक्ष्य प्राप्त गर्छ । त्यसका लागि जतिसुकै मूल्य चुकाउनु किन नपरोस् । विद्यालयहरूको अडान छ, विद्यालय खुल्नुपर्छ, हामी स्वास्थ्य मापदण्ड पालना गर्छौं । सरकारलाई भने विद्यालयको प्रतिबद्धताप्रति भरोसा छैन । किनकि कोरोनाको पहिलो लहरपछि खुलेका विद्यालयहरू अधिकांशले स्वास्थ्य मापदण्ड पालना गरेका थिएनन् ।

यहाँ सरकार र विद्यालय दुवै दोषी देखिन्छन् । सरकार कोरोनाको प्रतिकार गर्न चाहन्छ, तर पार्किन्सन रोगबाट ग्रस्त छ । कुरा खोपको हो । अब त सबै उमेरका मानिसका लागि कोरोनाविरुद्ध खोप उत्पादन भइसकेको छ । खरीद गर्न नसकिने होइन । तर सरकार सित्तैमा खोज्छ, भलै लाखौं विद्यार्थीको जीवनका महत्वपूर्ण क्षणहरू खेर किन नजाओस् । विद्यालयहरूलाई पनि सञ्चालनको खाँचो विद्यार्थीको भविष्य नबिग्रोस भनेर होइन, आयले निरन्तरता पाओस् भनेर हो । परोक्षमा विद्यालयका शिक्षक, कर्मचारीहरूको रोजगारको स्वार्थ पनि छ । निजी विद्यालयहरूले अहिले लाखौं व्यक्तिलाई रोजगार दिइरहेका छन् । त्यसैले उनीहरूको छटपटीलाई जायज मान्न सकिन्छ । तर समग्रमा विद्यार्थीको हितलाई दुवैथरीले बेवास्ता नै गरेका छन् । किनभने विद्यालय त त्यो ठाउँ हो, जसले जस्तोसुकै समस्याको समाधान दिन सक्छ । सबैभन्दा ठूलो समस्या व्यक्तिको जीवनशैली राम्रो बनाउने दिशा निर्देश हो । यो काम परापूर्वकालदेखि विद्यालयहरूले गर्दै आएका छन् । अभिभावकलाई विद्यालयहरूको यस क्ष्Fमतामा आज विश्वास छैन, अन्यथा उनका सन्तान आज विद्यालयमा पढिरहन्थे ।

निष्कर्षमा हामी के भन्न सक्छौं भने विद्यालय सञ्चालन हुनैपर्छ । सरकारले जति छिटो हुन्छ, सबै उमेरका व्यक्तिलाई खोप दिनुपर्छ, विद्यालयहरूले आफ्नै स्वार्थका लागि पनि आफ्नो परिसरलाई कोरोना प्रतिरोधात्मक बनाउन सक्नुपर्छ । अहिले रुने–कराउने बेला होइन, केही गर्ने, सार्थक गर्ने बेला हो । जीवन त जुन कालमा पनि अमूल्य रहेको छ, आज पनि छ । तर आज मानिस जीवनभन्दा जीवन–मूल्य खोज्छ । असार्थक जीवन बेकार छ । जीवनलाई सार्थकता दिन शिक्षा आवश्यक छ । शिक्षा विना आज मानिस बाँच्न मात्र सक्छ, मानव बन्न सक्दैन । समस्या हातखुट्टा चलाउने हो । यसमा सरकारले अग्रणी भूमिका निर्वाह गर्न सक्नुपर्छ । सरकारले निश्शुल्क खोप दिन सक्दैन भने नागरिक स्वयंले खरीद गरेर भएपनि सुरक्षित हुन पाउने वातावरण बनाइदिनुपर्छ । निश्शुल्क दिने प्रतिबद्धता जनाएको बेला नागरिकसँग मूल्य तिराउनु लाजमर्दो कुरा हो । तर लाज पचाउन सिपालु नभई हामीकहाँ कोही सरकारमा बस्नै सक्दैन । खासगरी हाम्रा सरकारहरूले लाज मानेको कहिल्यै देखिएको पनि त छैन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here