विश्व कोरोना सङ्क्रमणले आक्रान्त छ । संसारका मैं हुँ भन्ने मुलुकहरूले पनि कोरोनालाई पराजित गर्न सकेका छैनन् । कोरोनाविरुद्ध खोप पनि सबै खाले भाइरसविरुद्ध सधैंको लागि प्रभावकारी हुने देखिएन । खोपले कोरोनाविरुद्ध लड्न सक्ने क्षमता १० गुनासम्म बढाए पनि समय अवधिसँगै सोही अनुपातमा प्रतिरोधात्मक क्षमता कम हुँदै जाने कुरा विभिन्न अध्यायन–अनुसन्धानले देखाएको छ । एकपटक वा दुईपटक खोप लगाएर लामो समयका लागि काम नलाग्ने थाहा भएपछि, सम्पन्न मुलुकका नागरिकहरूले बुस्टरको रूपमा अर्को डोज थप्ने क्रम शुरू गरेका छन् । यद्यपि विश्व स्वास्थ्य सङ्गठनले भने कैयन मुलुकका नागरिकलाई पहिलो डोज खोप नपाइरहेको अवस्थामा बुस्टरको नाममा डोज थप नगर्न आग्रह गरेको छ । त्यसैगरी एउटा उत्पादक कम्पनीको खोप लगाएका व्यक्तिले अर्को कम्पनीले उत्पादन गरेको खोप लगाउँदै खोप–क्रस गर्न पनि शुरू गरेका छन् । खोप क्रस गरेर लगाउनेबारे अध्ययन अनुसन्धान निष्कर्षमा पुगी नसकेको विज्ञहरूले बताइरहेका छन् ।
कोरोना रोकथामका लागि बन्दाबन्दी, स्वास्थ्य मापदण्ड पालना र खोप मात्र उपाय हो । स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने यसले कोरोनालगायत धेरै सरुवा रोगबाट बचाउँछ । तर त्यसका लागि अति सजगता र सतर्कता जरूरी पर्छ । एक–दुईजनाले मात्र सावधान भएर हुँदैन। एक व्यक्तिको सम्पर्कमा आउने हरेक व्यक्तिले स्वास्थ्य मापदण्ड पालना गरे मात्र कोरोनाले प्रवेश पाउन सक्दैन । यसको निरोधका लागि बन्दाबन्दी वा लकडाउन सकभर लगाउनै नपरोस्। बन्दाबन्दीमा रोगभन्दा पनि भोक र शोकले तडपाउँछ । बन्दाबन्दीले दिने आर्थिक, सामाजिक र मानसिक क्षतिको पूर्ति सम्भव छैन । अल्छी, लापरवाह मानिसको लागि कोरानाविरुद्ध खोपले नै थोरै भए पनि राहत दिएको देखियो । तर त्यस उपयोगी खोपमा पनि खोप उत्पादककर्ता एवं उपभोक्ता मुलुक र सर्वसाधारण आआफ्नै स्वार्थ घुसाउन उद्धत छन् ।
भारतीय उत्पादनको कोभिशिल्ड खोप लगाएको व्यक्तिलाई चीनले मान्यता दिएन । त्यसैगरी नेपालको रोजगारदाता खाडी मुलुकले चीनको भेरोसिल खोपभन्दा अमेरिकाको जेनसिन खोपलाई प्रथमिकता दियो । खोपको गुणस्तरीयता तथा विश्वसनीयताको कुरा उनीहरूले उठाएका छन् । हुनत त्यो उनीहरूको एउटा बहाना मात्रै हो । असली मुद्दा त राजनीति तथा व्यापारिक स्वार्थ एवं क्षेत्रीय र आफू पक्षमा लबिड्ढो हो । हाम्रै मुलुकभित्र हेर्ने हो भने पनि चिनियाँ उत्पादनको भेरोसिल खोपलाई तराई–मधेस क्षेत्रमा विश्वास गरिएन । पहिलो चरणमा सरकारले पठाएको भेरोसिल खोप लगाउने लक्षित सङ्ख्या नआएर खोप फिर्ता गयो । बचत खोप लक्षित समूहभन्दा बाहिरका पनि धेरैले पाए । तर अमेरिकी उत्पादनको जेनसीन खोपका लागि यहाँ मारामार छ । बागमती प्रदेशमा त्यही जेनसीन खोप लगाउन लक्षित समुदायको न्यून सहभागिता थियो । जहाँ चिनिया उत्पादनको भेरोसिल खोप नै मागिरहेका छन् । यो डर, भर वा चेतना स्तरको कुराभन्दा जनविश्वासको कुराले प्राथमिकता पाएको हो । हाम्रो मुलुकमा आएका सबै खोपलाई डब्लुएचओले मान्यता दिएको हो । हरेकको प्रभावकारिता प्रतिशत स्पष्ट छ। फेरि पनि एउटै मुलुकमा फरक स्थानका उपभोक्ताले उत्पादक मुलुक अनुसार फरक प्रथमिकता दिनु भनेको चीन र खाडी मुलुकको रुचिजस्तै हो ।