प्रस, निजगढ, १२ साउन/

निजगढ नगरपालिकाको निजगढ र रतनपुर जोड्ने कालोपत्रे सडक लालखोलाले कटान गरेको छ । वर्षामा खोलामा आएको भेलबाढी माथिल्लो सतह नाघेर सडकबाट बग्दा सडकका विभिन्न स्थानमा कालोपत्रे भत्किएको हो ।

सडकको किनारातर्फ पानीले कटान गरेर भत्किने क्रम जारी छ । निजगढ नपाबाट २५ लाख रकम लालखोलाका लागि विनियोजन भएपनि सो रकमबाट भरपर्दो तटबन्ध नगरिएको कारण सडक कटानमा परेको स्थानीयले बताएका छन् । उक्त रकमबाट खोलाको दायाँ/बायाँ एक्साभेटरको प्रयोग गरी बालुवाको ड्याम लगाइएको थियो ।

बालुवाको ड्याम नदीले बगाएर सडक कटान शुरू गरेको हो । अति आवश्यक स्थानमा तारजाली नै भर्न पुग्ने रकम रहँदा पनि कार्यकर्ता पोस्नका लागि जनप्रतिनिधिहरूले बालुवाको ड्याम बनाउन लगाएकाले समस्या निम्तिएको रतनपुरीका बासिन्दाहरूले टिप्पणी गरेका छन् ।

अर्कोतर्फ तारजालीको तटबन्ध गरिएको क्षेत्रमा पनि नदीले कटान गरेको छ । नदीको बहाव, माटोको प्रकार र धरातल हेरेर उपयुक्त स्थानमा तटबन्ध गर्नुपर्नेमा जथाभावी तटबन्ध गर्दा निष्प्रभावी भएको हो ।

गत वर्ष राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ भरतपुर चितवनले तटबन्ध गर्दा समयमा प्रयोग गर्न नसकेपछि बाँकी रहेको १३७ थान तारजाली निजगढ नपा–१० लालका वडाध्यक्ष पद्मबहादुर मोक्तानको जिम्मा लगाएको थियो ।

यसपालि वर्षामा उक्त तारजाली लालखोलामा प्रयोग गरिए पनि खासै प्रभावकारी हुन सकेन । बाढीले तटबन्धका केही भाग बगाएको छ भने कटानबाट बाँकी रहेको बालुवाको अधिकांश ड्यामको निशाना अहिले हराउनसमेत थालेको छ ।

उचित तटबन्ध नगरिएको कारण लालखोलामा निर्माण अन्तिम चरणमा पुगेको झोलुङ्गे पुलको दायाँ/बायाँको तारजालीसहितको तटबन्ध बगाएर खोलाबीचमा ल्याएको छ । वर्षायाममा विपत् व्यवस्थापनको लागि निजगढ नपा–१३ मा करीब १३/१४ सय मिटर ग्रेभलको ड्याम बनाउने कार्य भएको वडाध्यक्ष सूर्य घलानले जानकारी दिए ।

पसाहाको शक्ति खोला, भक्तलाल खोला, पानी सरा खोला, भालु खोलामा ड्याम लगाए पनि लगभग ३/४ सय मिटर बाढीले कटान गर्दै बगाएको उनले बताएका छन् । वर्षायाममा विपत् व्यवस्थापनको नाउँमा गरिएको खोलाको तटबन्ध, ड्यामका अधिकांश कार्य बालुवामा पानी खन्याए सरह भएको निजगढ नपाका नागरिकहरूको भनाइ छ ।

खोलामा तटबन्ध उपयुक्त समयमा गर्नुपर्ने भएपनि वर्षायाममा नै गर्ने कार्य उपयुक्त नरहेको सचेत स्थानीयहरूले बताए । यसरी वर्षायाममा तटबन्ध, ड्यामका लागि १ करोडभन्दा बढी रकम खर्च भएको हुन सक्ने अनुमान छ ।

यसरी लगाइएका तटबन्धहरूको आधाजसो भाग बाढीले कटान गरिसकेको छ । वर्षामा यस्ता खाले तटबन्ध निर्माण गरी प्राविधिकलाई मूल्याङ्कन गरी रकम निकासा गर्न तटबन्ध निर्माण समितिहरूबाट बारम्बार ताकेता गर्दै आए पनि प्राविधिक आफू फस्न सक्ने डरले मूल्याङ्कन गर्न सकेका छैनन् ।

“उपभोक्ता समितिहरू आफूखुशी काम गर्छन् । कतिपयले काम शुरू कहिले गर्नेबारे जानकारीसमेत दिंदैनन् । जबरजस्ती मूल्याङ्कन गर्न भन्छन् । जागीर दाउमा राखेर काम गर्न सकिंदैन,” निजगढ नपाका प्राविधिकहरू बताउँछन् ।

यता विपत् व्यवस्थापनको नाउँमा वर्षामा हतारमा काम गर्दा एकातिर कामको जस नपाइने र भुक्तानी लिनसमेत समस्या हुने हुँदा यस वर्ष यस्ता प्रकृतिको बजेटमा खोलामा तटबन्धको काम शुरू नगरेको निजगढ नपा–१ का अध्यक्ष मङ्गल लोप्चनले बताए । दिगो र टिकाउ खालको तटबन्धमा जोड दिनुपर्ने उनको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here