कुनै बेला ‘ओलीको बोली बन्दुकको गोली’ भन्ने गरिन्थ्यो । झापा विद्रोहबाट खारिएका र विभिन्न दुःख, कष्ट एवं व्यवहार र सुखदुःख बुझेर अगाडि बढेका व्यक्ति हुनाले उनले लिएको अडान परिपक्व हुन्छ र जे बोल्छन्, त्यही गर्छन् भन्ने विश्वास जनमानसमा थियो । उनको पार्टीभित्र जेसुकै तिकडमबाजी चले पनि बाहिर सर्वसाधारणको बीचमा भने जसरी नालबाट निस्केको गोली फिर्ता हुँदैन, त्यसैगरी ओलीको मुखबाट निस्किएको शब्द पनि फिर्ता हुँदैन, झुक्दैेन भन्ने विश्वास थियो ।

पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको लोकप्रियतामा ओलीको भूमिका महŒवपूर्ण रह्यो । उनी नौ महीने गृहमन्त्री हुँदा मुलुकमा कहीं पनि प्रहरीले लाठी चलाउनु नपरेको इतिहास छ । यसर्थ पनि ओलीको विचार र बोलीमा दूरदृष्टि हुन्छ भन्ने भरोसा मुलुकवासीमा थियो ।

नेकपा ओरालो लागेर अहिले एमाले हुँदै माधव गुट र ओली गुटमा विभाजित हुन पुगेको छ । संसारका कुनै पनि पार्टीमा नभएका क्रियाकलाप यतिबेला एमालेभित्र भइरहेको छ । पार्टी एउटै भनिए पनि फरक दुईवटा पार्टीबीचको दुश्मनीभन्दा पनि एमालेमा दुई गुटबीचको दुश्मनी डरलाग्दो छ ।

यो अवस्थाको जिम्मेवार नेपालले ओलीलाई दिन्छ भने ओली नेपाललाई दिइरहेका छन् । जे भएपनि दुई गुटमध्ये नेपालतर्फभन्दा ओली पक्षमा पार्टी कमिटी र सांसद सङ्ख्या अत्यधिक रहेकाले विधानतः पार्टी अध्यक्ष ओली नै हुन् । पछिल्लोपटक पार्टी अध्यक्षको बोली, निर्णय र अडान भने परालको खुट्टा साबित हुँदै गएको देखिन्छ । नेपाल पक्षले देउवालाई विश्वासको मत दिएपछि एक साता नबित्दै ओलीको बोलीमा टिकाउपन छैन ।

शुरूमा ओलीले नेपाल समूहलाई लाल गद्दार घोषणा गरे र एक हुन नसक्ने बताए । त्यसपछि नेपालबाहेक अरूसँग एक हुन सक्ने उद्घोष गरे । अनि पछि बोली फेर्दै नेपाललाई दोस्रो अध्यक्ष दिन सक्ने भन्दै आममाफीको घोषणा गरेका छन् । अध्यक्ष ओलीको बोली परिवर्तन भइरहँदा उनको आफ्नै समूहका नेता–कार्यकर्ता पनि अलमलमा परेका छन् ।

मनोविश्लेषकहरूका अनुसार कुनै पनि व्यक्तिको बोली र विचारमा अस्थिरता आउनु हतास मनस्थितिको उपज हो । बन्दुकको गोली जस्तो बोली भएका ओलीमा पनि त्यो मनोदशा शुरू भएको हो त ? यदि हो भने उनको आफ्नै कारणले भएको हो । देउवाले विश्वासको मत लिंदासम्म पनि ओलीले जानेको भए आफ्नै दाउ माथि पार्न सक्थ्ये ।

अदालतले नै निर्णय दिइसकेपछि कि त सबै प्रक्रिया बहिष्कार गरेर व्यवस्थाको विरोधमा जान सक्नुपर्छ, होइन भने लाज पचाउने उपायले राजनीति गर्न सकिन्न । देउवालाई ओलीले पनि विश्वासको मत दिएको भए माधव नेपाल र ठाकुर ओलीबाट टाढा हुन पाउने थिएनन् । त्यसले एमाले एकीकरणमा सहज हुने थियो भने एक वर्षपछि ओलीले विश्वासको मत फिर्ता लिएको खण्डमा देउवाले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आउने थियो । ओलीको सत्ता छँदा देउवाले कहिल्यै विरोध गरेनन् ।

देउवालाई त वामपन्थीहरूले नै प्रधानमन्त्रीको पद पस्किएर दिएका हुन् । देउवासँग ओली रिसाउनुपर्ने कारण छैन । अर्कोतर्फ दुई तिहाइ मात्रै किन देउवाले सर्वसम्मत मत पाएका हुन भन्ने भनाइ पनि रहन्थ्यो र ओलीको चरित्र अझ लोकतान्त्रिक देखिने थियो । आफूले अगाडि सारेका कतिपय कार्यक्रमलाई पनि निरन्तरता दिन सकिन्थ्यो र सत्ताको मुख्य खेलाडीको रूपमा ओली स्थापित हुने अवसर थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here