राधेश्याम पटेल, परवानीपुर, २ साउन/

दुई साताअघि पर्सा राष्ट्रिय निकुञ्जको एउटा जङ्गली हात्तीले बाराको सदरमुकाम कलैयामा एकजना किसानलाई आक्रमण गरी मा¥यो ।

त्यसपछि त्यो हात्ती बाराबाट रौतहटको उत्तरी सिमाना हँुदै बेलबिछवाबाट मसाहा भारततर्फ पसेको थियो । सो हात्तीलाई नियन्त्रण गर्ने कुनै प्रयास नगर्दा हात्ती अहिले पनि नेपाल फर्केको खबर छैन ।

जङ्गली हात्ती किन मात्तेर उपद्रो मचाउँछ र बस्तीमा पुगेर मानिस किन मार्छ ? यसबारे भारत, देहरादुनस्थित भारतीय वनजीव संस्थाबाट विद्यावारिधि गरेका कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत एवं हात्ती विशेषज्ञ अशोक रामसँग गरिएको संक्षिप्त कुराकानीमा आधारित सम्पादित अंश ।

हात्तीको इकोलोजिकल ¥याक्ट

हात्तीको उत्पत्ति डायनासोरससँगै भएको मानिन्छ । हात्ती अब थलमा पाइने एकमात्र भीमकाय शरीर भएको जन्तु हो । हात्तीलाई दैनिक १४० देखि २ सय किलो खानेकुरा र त्यतिकै पानी पनि चाहिन्छ।

जङ्गलमा घाँस एउटै ठाउँमा पाइँदैन, ठूलो क्षेत्रमा फैलिएको हुन्छ । हात्ती दिनको २४ घण्टामा २० घण्टासम्म खाइरहन्छ र चार घण्टा मात्र सुत्छ । हात्तीको आफ्नो क्षेत्र ३ सयदेखि १० हजार वर्गकिलोमिटरसम्म हुन्छ । अर्थात् एउटा हात्ती नेपालको पूर्वी जिल्ला झापादेखि चितवनसम्म आउजाउ गर्छ ।

एक क्षेत्रबाट अर्को क्षेत्रमा किन गर्छ माइग्रेन्ट

एक त खानेकुराको खोजीमा र अर्कोतर्फ सन्तान जन्माउन भाले हात्ती हिंड्छ । हात्तीले उसको पूर्वजले हिंडेको बाटो पछ्याउँछ । हात्ती सामाजिक प्राणी हो । ऊ पूर्वजले हिंडेको बाटो हिंड्न रुचाउँछ, उक्त बाटोको सूक्ष्म निगरानी गर्छ । के बन्यो, कहाँ खाली छ, सबैलाई ध्यानपूर्वक हेर्छ।

मानिस जस्तै हात्ती पनि परिवारमा बस्ने जीव हो । हात्तीको बथानमा के गर्ने, कहाँ बसाइँ सर्ने र कुन बेला सन्तान जन्माउन संसर्ग गर्ने यी सबै कुराको नेतृत्व हात्तीको बथानमा हजुरआमा हात्तीले गर्छिन् ।

मानिसको समाज पुरुषप्रधान हो तर हात्तीको परिवारमा हजुरआमा घरमुली हुन्छिन् । खानेकुरा खोजी गर्न, समूह विभाजन गरी पुनः साँझ ५/६ बजेसम्म हात्तीको बथान जङ्गलभित्र फर्काउने कार्यलगायतका सबै कार्य हजुरआमा हात्तीले गर्छिन् ।

किशोर हात्ती किन मातिन्छन् ?

मानव जस्तै किशोरावस्थामा हात्ती पनि मातिन्छ । खासगरी ८ देखि २० वर्षसम्मको हात्तीलाई किशोरावस्थाको हात्ती मानिन्छ । यो उमेर समूहका हात्ती बढी मातिन्छन् । मानिसमा किशोरावस्थामा जसरी केटाले केटी खोज्छ, त्यसरी नै भाले हात्तीले पनि ६ देखि ८ वर्ष पार गरेपछि पोथी हात्ती खोज्छ ।

त्यति बेला हजुरआमाले रोक्छिन् । १०/१२ वर्षको उमेर नपुगेर भाले/पोथी हात्तीले समागम गरेमा शारीरिकरूपमा कमजोर, अपाङ्ग बच्चा जन्मिने भएकोले हजुरआमाले भाले हात्तीलाई सम्झाउने गर्छिन् । तर हजुरआमाको आदेश नमानेर भाले हात्तीले समागम गरेपछि हजुरआमाले आफ्नो समूहबाट उक्त मतवाली हात्तीलाई निकाल्छिन् ।

परिवारबाट बहिष्करणमा परेपछि थप आक्रामक

पारिवारिक माहोलबाट हजुरआमाले निकालेपछि उक्त हात्ती निकै आक्रामक बन्दै अन्तै हिंड्न बाध्य हुन्छ । पहिलेको समूहमा आउन खोज्यो भने हजुरआमाको आदेशमा अन्य हात्तीहरू मिलेर उसलाई घाइते बनाउने वा मार्ने प्रयाससमेत गर्छन् ।

समूहबाट निकाल्ने बेलामा हजुरआमाले हात्तीलाई अब तिमीले मेरो कुरा मानेनौं, अन्तै जाऊ र अर्को समूहको भाले हात्तीसँग लडाइँ गर, त्यसको मुखिया भाले हात्तीलाई मारेर त्यो समूहमा बस भनेर सुझाव दिन्छिन् ।

यस कारण भाले हात्तीले उपद्रो मचाउँदै मान्छे मार्छ

परिवारबाट बहिष्कृत भाले हात्तीले लामो दूरी तय गर्छ, खानेकुरा खोज्छ, मान्छे मार्छ । केही दिनअघि कोशीभन्दा ४० किलोमिटर दक्षिणमा भारतीय एक गाउँमा गएर हात्तीले मानिस मारेको थियो ।

पहिले त्यो क्षेत्र जङ्गल थियो, अहिले त्यहाँ बस्ती बसेको छ । पर्सा, बारा, रौतहटसम्म खैलाबैला मचाउने हात्ती पनि त्यसै वर्गका हात्ती हुन् । परिवारबाट निकालिएका । पहिले वन्यजन्तुका लागि पर्याप्त जङ्गल तथा हराभरा क्षेत्र थियो, अहिले बस्ती बसेको छ, कङ्क्रिट संरचना खडा गरी होटल तथा भवन बनाइएका छन्, राजमार्ग ।

रेलमार्ग, द्रुतमार्ग निर्माण भइरहेका छन् । उद्योग पनि बनेका छन् । हामी विकास त चाहन्छौं, तर हात्तीले पनि आफ्नो पुर्खाले राज गरेको क्षेत्रमा घुमफिर गरी आनन्दले विहार गर्न खोज्छ, त्यसै कारण हात्ती र मानवबीच द्वन्द्व भइरहेको छ ।

हात्तीको सुघ्ने क्षमता बढी हुन्छ, मदिरा खाएको व्यक्तिले जिस्काउनुहँुदैन

हात्ती मात्तिएर बस्ती पसेको अवस्थामा उसलाई सामान्य गतिविधि गरेर जङ्गल फर्किने वातावरण बनाउनुपर्छ । कतिपय घटनामा गाउँले तथा स्थानीयले जिस्काउँदा हात्तीको आक्रमणमा परेर मानिसको ज्यान जान्छ ।

हात्तीको बाटोमा मानिस तगारो बनेपछि द्वन्द्व बढिरहेको छ । हात्तीले खाना खोज्ने क्रममा घरटहरा, भकारी भत्काउँछ, खेतमा हानि पु¥याउँछ । यदि घरमा अवैध घरेलु मदिरा राखिएको छ वा चुहाउने गरिएको छ भने त्यहाँ अवश्य हात्ती जाने गर्छ । मदिरा राखिएको भाँडो फुटाउँछ, भान्सा पनि भत्काएर खानेकुरा खाने कोशिश गर्छ ।

हात्तीलाई खेद्ने, जिस्काउने, हेप्ने वा घेर्ने काम भयो भने उसले आफूलाई असुरक्षित महसूस गर्छ। त्यसपछि आक्रमण गरी मान्छे मार्छ । खेद्न गएका मानिसहरूमध्ये केहीले घरेलु मदिरा पिएका छन् भने उनीहरूलाई हात्तीले छानीछानी मार्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here