प्रस, परवानीपुर, २० असार/
वीरगंज महानगरले सामाजिक सुरक्षा भत्ता वितरण गर्न ढिलाइ गरिरहेको छ । विगतका आवमा चैतदेखि असारसम्म चार महीनाको सामाजिक सुरक्षा भत्ता असारको पहिलो सातामैं भुक्तानी गर्दै आएको वीरगंज महानगरले चालू आवमा असार १८ गते बितिसक्दा पनि वितरण गर्न सकेको छैन ।
वीरगंजका ३२ वटा वडामा गरी करीब १० हजारजना लाभग्राही छन् । उनीहरूले चौमासिकरूपमा सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । एउटा चौमासिकमा महानगरले करीब ९–१० करोड रुपैयाँ निकासा गर्दछ । वीरगंज महानगरको सामाजिक विकास महाशाखा अन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाकी प्रमुख बुद्धिमाया गुरुङले आगामी साताको सोमवारपछि भत्ता पठाउने तयारी भइरहेको बताइन् ।
“केही नामावली रुजु गर्न वडा कार्यालयमा पठाएका छौं, एक/दुई दिनमा सबै आइपुग्छ, त्यस लगत्तै नगरप्रमुख र बैंकका प्रबन्धकहरूको बैठक बसेर सबै लाभग्राहीको खातामा रकम पठाउँछौं,” उनले भनिन् । वीरगंजका ३२ वटा वडामा ६ वटा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन्छ । नेपाल बैंक, कुमारी बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई, ज्योति विकास बैंक र सनराइज बैंकमा रहेका लाभग्राहीहरूको खातामा महानगरले रकम निकासा गरेपछि लाभग्राहीले चेकमार्फत रकम झिक्न सक्छन् ।
नेपाल बैंकको आदर्शनगर, माईस्थान, सिटी अफिस, श्रीपुर शाखाबाट १ देखि १६ वडाका लाभग्राहीले भत्ता बुझ्छन् भने वडा नं १८ भवानीपुर, २२ मनियारी, २३ प्रसौनीबिर्ता र २७ उदयपुरघुर्मीका लाभग्राहीहरूको भत्ता रकम कृषि विकास बैंक चिनीमिल शाखास्थित उनीहरूको खातामा जम्मा हुन्छ । २९ बसडिल्वा, ३१ बेलवा, ३२ चोर्नीका लाभग्राहीले ग्लोबल आइएमईको मिलनचोक शाखाबाट, २१ लिपनीबिर्ता, २८ बगही, ३० लालपर्साका लाभग्राहीले ज्योति विकास बैंक परवानीपुरबाट, १९ विन्ध्यवासिनीका लाभग्राहीले सनराइज बैंकको बहुअर्वाभाठा शाखाबाट भत्ता निकाल्छन् ।
सरकारले बजेट भाषणमार्फत आगामी आर्थिक वर्षदेखि भत्ता रकममा वृद्धि गरेको छ । चालू आवको असारसम्म ७० वर्ष पुगेका ज्येष्ठ नागरिकले मासिक ३ हजार, ६० वर्ष पुगेका दलित ज्येष्ठ नागरिक र ६० वर्षमाथिका एकल महिलाले मासिक २ हजार भत्ता पाउँछन् । रातो कार्ड बनाएका पूर्ण अपाङ्ग बालबालिकाले ३ हजार र आंशिक अपाङ्गले १६ सय, दलित दम्पतीका ५ वर्षमुनिका बढीमा दुर्ईजना बालबालिकाले पौष्टिक आहारबापत मासिक ४ सय र लोपोन्मुख जातिले मासिक प्रतिपरिवार ३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् ।
वीरगंजमा लोपोन्मुख जाति अन्तर्गत सिलौटी बनाउने (पथरकट्टा) ११ घरपरिवार वीरगंज–२ छपकैया पोखरीनजीक बसोबास गर्छन् । त्यसैगरी, अन्य लक्षित समूहमा ७० वर्षमाथिका ज्येष्ठ नागरिक ५ हजार १ सय ६ जना, दलित ज्येष्ठ नागरिक ७ सय ७१ जना, ६० वर्षमाथिका अविवाहित महिला १ हजार ५ सय ७९ जना, विधवा १९ सय ८० जना, पूर्ण अपाङ्ग २ सय ३ जना, अतिअशक्त अपाङ्ग ४ सय ४७ जना, लोपोन्मुख ११ जना, दलित बालबालिका ११ सय ७४ जना गरी कुल ११ हजार ३ सय ८६ जना लाभग्राही छन् ।