• राजेश मिश्र

“देह पर पाकी के छिटकी नु परता, लव से बिया पासाह ना बबुओ।” जीउमा हिलोका छिटा परिरहेको छ। बिस्तारै बेर्ना सार न बाबु भन्दै ‘रोपाहार’ (धान रोप्ने महिला)हरूले भन्ने गर्दछन्। ठूलाबडाको देखासिकी गर्दै केटाकेटीले पनि सानै उमेरदेखि कृषिकार्य सिक्छन्। खेतमा बेर्ना ओसार्दै र हिलोसँग पौंठेजोरी गर्दै कृषिसम्बन्धी गुणहरू नवपुस्तामा अङ्कुरित हुन्छन्। बाल्यावस्थामा श्रमिकहरूसँगै खेतमा ‘पनपियाइ/जलखइ’ (खाजा) खाने आतुरता बढी हुन्छ। बिस्तारै उमेर बढ्दै जान्छ। अभिभावकत्वसँगै खेतीकिसानीको जिम्मेवारी अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा हस्तान्तरण हुन्छ।

हिजो खेतको हिलोमा रमाउने लालाबालाले पछि अभिभावकत्वसँगै कृषिका समस्याहरू प्रत्यक्ष अनुभूति गर्छन्। कहिले बीउको समस्या हुन्छ। कहिले मलको समस्या हुन्छ। कहिले बाढीको सन्त्रास त कहिले खडेरी आदिको भयले सताइरहन्छ। यद्यपि विभिन्न समस्याका बावजूद किसान हरेस खाँदैनन्। कर्तव्यपथमा निरन्तर अगाडि बढिरहन्छन्। अन्न किसानलाई मात्र आवश्यक पर्दैन। अपितु राजनीति तथा सत्ता वा पदाधिकारी तथा कर्मचारी आदि जुनसुकै ओहोदा/पेशासँग आबद्धता भएपनि अन्नविना जीवन बाँच्न सकिंदैन। जीवनमा सरेह र खेत कति अहम् छ भन्ने कुरा कसलाई थाहा नहोला। आज जुन ओहोदा र गरिमा प्राप्त छ, त्यसको पृष्ठिभूमि खेत र खलियान नै हो भन्ने कुरा कसरी बिर्सन सकिन्छ ?

आर्थिक वर्ष वा शैक्षिक वर्षझैं किसानको लागि असार महीना ‘धानवर्ष” नै हो भन्नुपर्छ। बाली राम्रो भए मात्र किसानको श्रम खुशीमा परिणत हुन्छ। अन्यथा ह्दयमा चोट पुग्छ। मन रुन्छ। बाढी, पहिरो वा खडेरीको पीर, भय र त्रास तथा कृषि सामग्रीको अभावबीच पनि आफूलाई सन्तुलित राख्ने क्षमता किसानमा मात्र हुन्छ। यस वर्ष प्रदेश २ का अधिकांश जिल्लामा वर्षा र बाढीका कारणले दुर्ईपटक धानका बेर्नामा क्षति भइसकेको छ। कतिपय किसानले ब्याडमा तेस्रोपटक बेर्ना छरेको अवस्थामा अहिले पुनः वर्षा, बाढी र पहिरोको सामना गर्नुपरिरहेको छ।

गत असार १५ गते १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ “धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ मनाइयो। किसानहरूलाई खेत रोप्ने चटारो रहेका बेला धान दिवस मनाइन्छ। कतै बाढीले क्षति त कतै खडेरी परेको बेला किसानहरूलाई धान दिवसको उत्सव कतिको रमाइलो लाग्दो होला ? विचारणीय छ। अहिले तीन दिनदेखि परिरहेको अविरल वर्षाले कृषि कार्यलाई प्रभावित तुल्याएको छ। सरेह जलमग्न छ। खेतका गराहरू पानीले भरिभराउ छन्। खेतका आलीहरू पानीले छोपिएका छन्। धान रोप्नको लागि तयार धानका बेर्ना गल्ने अवस्थामा छन्। के यी पीडाहरू माझ राष्ट्रिय धान दिवसले किसानलाई खुशी पार्न सक्ला ? अन्नले भकारी भर्ला ? वर्षभरि खानलाई पुग्ला ? यावत् प्रश्नहरू विद्यमान छन्।

यस वर्ष असार १५ मा धान दिवस तथा रोपाइँ दिवस मनाइरहँदा प्रदेश २ मा कति प्रतिशत धान रोपाइँ भएको छ ? एकपटक यो विषय पनि जान्न जरुरी छ। कृषि विभागले २०७८ असार १५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश २ को धनुषा जिल्लामा १२ प्रतिशत, पर्सा र बारामा ११ प्रतिशत तथा रौतहट, सप्तरी, सिराहा, महोत्तरी र सर्लाहीमा १० प्रतिशत मात्र धान रोपाइँ भएको छ। औसतरूपमा यस वर्ष प्रदेश २ मा धान रोपाइँ असार १५ गतेसम्म जम्मा १०.५५ प्रतिशत भएको छ। अतः ८९.४५ प्रतिशत रोपाइँ बाँकी रहेको अवस्थामा धान दिवसको सार्थकता केवल सरकारी उत्सवको रूपमा सीमित छ भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला।

धान दिवसको अवसरमा हैसियतवाला व्यक्तित्वहरू एक दिनको लागि हिलाम्य खेतमा पस्छन्। धान रोप्छन्। किसानहरूलाई उत्साहित पार्ने काम प्रशंसनीय छ। यद्यपि धान दिवसको दिनबाहेक ती व्यक्तित्वहरू खेतमा देखा नपर्नु विडम्बना हो। सरकारबाट पाउने सुविधामा टाठाबाठा र बिचौलियाको हालीमुहाली रहन्छ। सामान्य किसान वर्ग बीउ, मल, सिंचाइ, कृषि सामग्रीलगायत सहुलियत ऋण आदि सुविधाबाट उहिले पनि वञ्चित थिए र आज पनि खासै फरक देखिएको छैन। कृषि क्षेत्रमा केवल बजेट छुट्ट्याएर फड्को मार्न सकिंदैन। कृषि प्रणाली सुधार तथा किसानलाई अनुभूति हुने गरी सरकारी र राजनीतिक तदारूकता आवश्यक छ।

पनपियाइ

वर्षात्मा भ्यागुताहरूको टर्रटर्रयुक्त ध्वनिले सरेह गुञ्जायमान हुन्छ। हल, गोरु तथा किसान खेतमा हुन्छन्। पम्पियाइ/जलखइ (खाजा)मा भुजा (मुरी) वा रोटी, नून, खुर्सानीसँगै आँप वा खुर्सानीको अचार दिइन्थ्यो। जनताको मत पाएर सिंहासनमा बसेर विभिन्न व्यञ्जनका स्वाद नेताहरूले प्राप्त गरे जस्तै किसानको भोजन हुँदैन। तीन दशकअघि बनिहारी (ज्याला) तीन किलो धान वा गहुँ थियो। बिडरिया (धानको बेर्ना उखेल्ने मानिस), हल वा कोदालो चलाउने श्रमिकको ज्याला महिला श्रमिकभन्दा एक किलो बढी थियो।

धानको बीउ उखेल्दा वा रोपाइँ गर्दा घाम र वर्षाबाट जोगिनको लागि विभिन्न उपक्रम प्रयोग गरिन्थ्यो। जस्तै ‘खोपी, छतरी, मेघडमर’ आदि प्रयोग गरिन्थ्यो। पर्सा, बारा र रौतहटमा खेतमा खाइने खाजालाई ‘पनपियाइ/पनपियाव’ भनिन्छ। त्यस्तै, पूर्वका जिल्लाहरूमा ‘जलखइ’ भनिन्छ। पनपियाइलाई अथ्र्याउँदा ‘पन’ अर्थात् पानी र ‘पियाइ/पियाव’ अर्थात् पिउनु हो। त्यस्तै, ‘जल’ अर्थात् पानी र ‘खइ’ अर्थात् खानु हो। स्थान अनुसार पनपियाइ र जलखइ भने पनि दुवैको अर्थ खाजा खानु हो।

कडा घाममा परिश्रम गर्ने किसानलाई तिर्खा बढी लाग्छ। खाली पेटमा पानी खानुहुँदैन भन्ने उहिलेको मान्यता आजको वैज्ञानिक दृष्टिकोणले समेत सही छ। त्यसैले पनपियाइ/जलखइ वा खाजा खाएपछि टन्न पानी खाइन्छ। खेतमा परिश्रम गर्ने किसान/ज्यामीलाई नून र खुर्सानी हुनैपर्छ। शारीरिक परिश्रम गर्ने मानिसलाई तीतो र तीखो खानेकुरा बढी मनपर्छ। खाजा खाएपछि दुवै हात जोडेर आफूतिर भएको भाग ओठमा टाँसेको हुन्छ भने अघिल्लो भागमा लोटाको पानी गिराइन्छ। त्यसरी पानी खाँदा कतिपयले एक सासमा एक लोटा वा एक जग पानी खाने गर्छन्। मनभरी पानी खाइसकेपछि ह्दयभित्रबाट जुन ‘आह’ शब्द निस्किन्छ, त्यस्तो आत्मसन्तुष्टि महलहरूमा बस्ने मानिसहरूका लागि सपना जस्तै होला भन्नुपर्छ।

प्रदेश २ का केही किसानहरूसँग भएको संवाद यहाँ प्रस्तुत छ।

हरिशङ्कर राउत यादव, पर्सा

“पूर्वइ देशवा से, अरे बहे रे बेयरिया, रे पछिम के ओरी,” यो झुमर गीत हो। वीरगंज महानगरपालिका–२७ उदयपुर घुर्मीका हरिशङ्कर राउत यादवले यस्ता थुप्रै झुमर गीतको अस्तित्व लोप हुन लागेको बताउँछन्। उनले यो गीत गाइरहँदा अति रमाइलो महसूस भइरहेको थियोे। यस्ता गीत धेरै छन्। लोकगीतसँगै बिडारमा धानको बेर्ना उखेलिन्छ। असार महीनामा बिडरिया र रोपाहारको लर्को सरेहतर्फ जान्छ। बिडरियाले बीउ उखेल्छन्। रोपाहार चाहिं खेत रोप्छन्। झुमरलगायतका स्थानीय भाकामा आधारित थुप्रै गीत छन्। गीत गाउँँदै खेतमा काम गरिन्छ। रमाइलोसँगै कृषि कार्य पनि भइरहन्छ। महिलाहरूले शिवभोले, कृष्ण, गणेश भगवान्सँग सम्बन्धी लोकगीत गाउँँदै खेत रोप्छन्। धेरै पहिले त छाता छँदै थिएन। छाता धेरैपछि आएको हो। उहिले वर्षा र घामबाट बच्नको लागि खोपी र छतरी आदि प्रयोग गरिन्थ्यो। ‘दशगण्डी से एक पसेरी बनिहारी दियाए, मतलब आजके किलो से अढाई किलो भइल।’ खेतमा धेरै मेहनत गर्नुपर्छ। त्यसअलावा प्राकृतिक अपदाको त्रास पनि उत्तिकै हुन्छ। भकारीमा अन्न पुगिसकेपछि मात्र किसानको मन हर्षित हुन्छ। अहिले तीन दिनदेखि परिरहेको अविरल वर्षाले चिन्ता बढाएको छ।

भिखारी पासवान, बारा

पानी भरे चलले जोगिरवा, गङ्गा हे जमुना बहे
ए हो माता गे, भैंसुरवा बटिया रे बल रोके
घाट छोरू बाट हे छोरू, हो माता भैंसुर कहे
हे झिसिए रे फुहिए, सारी मोरा भिंजे

बारा जिल्लाको कोल्हवी नगरपालिका–१० बरेवाका भिखारी पासवानले बताएको लोकभाकामध्येको उपरोक्त गीत एक हो। उनको बुझाइमा अहिले ती लोकभाकाका गीतहरू विलीन हुने अवस्थामा छन्। स्थानीय लोकभाकासँगै बिडरिया र रोपाहारलाई ऊर्जा प्राप्त हुन्छ। स्थानीय लोकभाका गाउँँदै महिलाहरू खेत रोप्ने काममा व्यस्त हुन्छन्। असारमा रोपनीको शुभारम्भ भएर साउनको पहिलो हप्तासम्म खेत रोपिसक्नुपर्छ। रोपनीको मौसममा यस्तो लाग्छ कि सिङ्गो गाउँ नै सरेहमा पुगिसकेको छ। धान रोप्नुभन्दा अघि धार्मिक परम्परा अनुसार खेतमा पूजापाठ गरेर रोप्ने कार्य शुभारम्भ गरिन्छ। बीउ, मल र सिंचाइ आदि सहज उपलब्ध हुने हो भने खेतीपाती राम्रो हुनुका साथै विदेशबाट अन्न कहिल्यै मगाउनुपर्दैन।

रामकिशोर महतो, सर्लाही

“जन सबके जलखइ क बेर भे गेलै, जलखइ ल के जो, बौवा गे।” ज्यामीहरूको खाजा खाने बेला भइसक्यो। खाजा लिएर जाऊ बाबु, हजुरबुबा/बुबाले भन्नुहुन्थ्यो। सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राइटरखोरका रामकिशोर महतो बाल्यकालमा हजुरबुबा/बुबाले अ–हाउने बित्तिकै खाजा लिएर उफ्रिंदै खेतमा जान्थे। अहिले म पनि छोराछोरीलाई भन्ने गर्छु, “बौवा गे, जन सके लागि जलखइ ल के जो, हम खाद (मल) ल के अबै छि।”

बाल्यावस्थादेखि नै खेतीपातीसँग पौंठेजोरी गर्दै खेतीपातीको अनुभव भएको हो। आज खेतीपातीको जिम्मेवारी सम्भाल्दै आएको छु। कुनै वर्ष खडेरी पर्छ। कुनै वर्ष बाढीले बगाउँँछ। खेत रोपाइँ नहुँदै कहिले पानीको अभावले त कहिले बाढीले धानको बेर्ना नष्ट हुन्छ। कहिले विविध रोगका कारणले रोपेको धानमा राम्ररी बाला लाग्दैन। उब्जनी कम हुन्छ। कृषि कार्य हरेक प्रकारले जोखिमपूर्ण छ। यद्यपि बीउ, मल, सिंचाइ र कीटनाशक औषधि आदिको पर्याप्त आपूर्ति भएमा प्रदेश २ राष्ट्रको अन्नभण्डारको रूपमा स्थापित हुन सक्छ।

सरेह अन्नभण्डार हो। किसान अन्नदाता हुन्। किसानको लागि खेत नै सबै थोक हो। जीवनकालमा कैयौंपटक बाढी र खडेरी देखेको छु। प्रत्येक वर्ष वर्षात्मा वाग्मती नदीमा बाढी आउँछ। बाढीले धनजनको क्षति गर्नुका साथै कृषिबाली पनि नष्ट हुन्छ। जीविकोपार्जनको लागि घाम, वर्षा र चट्याड्ढो परवाह नगरी कृषकको पसिना खेतमा बगिरहेको हुन्छ। ‘तीन दिन से मेघ हो रहल है, किसान क छाती पे हात है,’ विभिन्न प्राकृतिक कारणले बाली नष्ट हुँदा किसानको ह्दयमा कति पीडा हुँदोरहेछ भन्ने कुरा शब्दमार्फत वर्णन गरेर साध्य छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here