धनुषा, ९ असार/रासस
जिल्लामा पछिल्लो समय कोदोखेती लोप हुँदै गएको छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा कोदोखेती लोप हुँदै गएको हो । प्रशस्त मात्रामा कोदो फल्ने जमीनमा अहिले अन्य खाद्यान्न बालीले ढाकिएका छन् ।
कोदोलाई औषधिका रूपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रूपमा समेत लिइन्छ । तीन दशकअघिसम्म धनुषाको ग्रामीण क्षेत्र विशेषगरी ढल्केबर, बटेश्वर, सखुवा महेन्द्रनगर, दिगम्बरपुर, धारापानी, लवटोली, गोदार, तुलसी, भरतपुरलगायत दर्जनौं गाउँका अधिकांश कृषकले कोदोखेती गर्दथे । तर अहिले यसको खेती पूरै विस्थापित हुने अवस्थामा पुगेको कृषकहरू बताउँछन् ।
कोदोको उत्पादन राम्रो भएपनि कृषकले हिजोआज खेती गर्न छाडेपछि बिस्तारै गाउँघरमा कोदोखेती कम हुँदै गएको छ । कृषकले कोदोखेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको कृषक बताउँछन् । केहीले फाट्टफुट्ट कोदोखेती गरे पनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइन्छ ।
पहिले जस्तो बिक्रीका लागि भनेर कोदोखेती गर्न कृषकले छाड्दै गएका छन् । अन्य बालीभन्दा स्वास्थ्यका लागि लाभदायक भएपनि अहिले धनुषाको सीमित गाउँमा मात्र यसको खेती गरिन्छ । रोटी र ढिंडोका लागि मात्र उत्तम ठानिने भएपनि अहिले स्वस्थ रहनका लागि भन्दै शहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् । तर कोदोखेती गर्ने किसानको सङ्ख्या दिनहुँ घट्दै गएको कृषकको भनाइ छ ।
“पहिले मुख्य खाना नै कोदोको रोटी, ढिंडो हुन्थ्यो तर अहिले मुख्य खाना भातरोटी भएकाले कोदोखेती विस्थापित भएको छ,” मिथिला नगरपालिका–६ ढल्केबरका कृषक दानबहादुर खड्काले भने, “अहिले कोदोको रोटी, ढिंडोभन्दा भात नै खाने चलन बढ्नै जाँदा यसको खेती विस्थापित हुन पुगेको छ ।” बटेश्वरका कृषक रामप्रसाद भण्डारीले गाउँघरमा हेपिएको खाद्यान्न अहिले शहरबजारतिर खोजी–खोजी खान थालिएको बताए । “पहिला पहिला खेतमा लटरम्म फल्ने कोदो अहिले औषधिका लागि समेत भेट्टाउन मुस्किल भएको छ,” उनले भने, “अहिले शहरी क्षेत्रमा यसको अत्यधिक माग भएपनि उत्पादन घट्दै गएको छ ।”
धान, गहुँ र मकै जस्तै कोदोलाई कृषकले महŒव नदिएका कारण लोप हुँदै गएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हाको भनाइ छ । उनका अनुसार विस्थापित भएको बालीलाई दुर्ई वर्षदेखि स्थापित गर्ने लक्ष्य राखिएको भएपनि सफल हुन सकेको छैन । कोदोको माग धेरै भएपनि खेती गर्ने कृषक नभएपछि माग अनुसार आपूर्ति गर्न नसकिएको उनले बताए ।
औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ । कृषकले बिस्तारै कोदोखेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हुँदै गएको मिथिला नगरपालिका पुष्पवलपुरका कृषक गङ्गा महतोले बताए ।
कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भएपनि पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदोखेती लोप हुने अवस्थामा पुगेको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका किसान राजेश महतोको भनाइ छ ।
स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदैछन् भने अर्काेतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रमण बढ्न थालेको जेटिए ममता बलम्पाकीले बताइन् । उनले उच्च पहाडी भेगमा मुड्के र डल्ले, मध्य पहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिने बताए । मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ ।
दुर्ई दशकअघिसम्म गाउँका सबै खेतबारीमा कोदो हुन्थ्यो तर आजभोलि सबै हराए, पुष्पवलपुरका कृषक श्याम गोलेले खाद्यान्नको रूपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको बताए । उनले भने, “कोदोखेतीभन्दा पनि कृषक हिजोआज बाख्रापालन, तरकारीलगायत नगदेबाली, फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् ।” पुष्पवलपुर, भरतपुर, दिगम्बरपुरलगायतका गाउँमा धेरै कृषकले खेतमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । परम्परागतरूपमा गरिंदै आएको कोदोखेती जिल्लाका साबिक २० भन्दा बढी गाउँका कृषकको मुख्य खाद्यान्न बाली थियो ।
बटेश्वर गाउँपालिका–५ शान्तिपुरका कृषक अमरबहादुर थिङले पहिले–पहिले ५ मुरीसम्म कोदो उत्पादन गरेको स्मरण गर्दै अहिले लगाउनै छाडेको बताए । “धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमैं खरीद गर्न व्यापारी आउँथे, दुर्ई/चार पैसा पनि हुन्थ्यो । अहिले त कोदो लगाउने जमीन बाँझिन थालेको छ,” उनले भने । “कोदोको मूल्य अति न्यून हुने र यो अन्नलाई पहिलेदेखि गरीब खानाको रूपमा लिइने हुँदा यसलाई कुअन्न भन्ने चलन थियो,” क्षीरेश्वरनाथ नगपालिका–३ पकडियाका कृषक रामनारायण सिंहले भने, “बजारमा पनि यसको मूल्य अन्य अन्नको तुलनामा न्यून छ । त्यसैले आजभोलि यो बाली लगाउने किसानको सङ्ख्या न्यून हुँदै गएको छ ।”
कोदोमा अन्य धेरै विषेशता होलान् तर मानिसहरू यो खाना दुःखी र गरीबले खाने भन्ने भनाइ छ । त्यसैले यसलाई उपभोग गर्नेलाई अपमानित गरिन्छ । उच्च खानदानीमा पाहुनालाई कोदोको परिकार दिइँदैन्थ्यो र अझै पनि दिइँदैन ।
परम्परागतरूपमैं कोदोको ढिंडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । शहरबजारमा कोदोको सुप बनाएर खाने गरिन्छ । कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी बनाइन्छ ।
जाडोयाममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदो बालबालिकाका लागि सबैभन्दा उत्तम मानिन्छ । प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरका वरिष्ठ अहेब अशोक साहले कोदो पौष्टिक आहारको रूपमा सबैभन्दा राम्रो बाली भएको बताए । उनले भने, “कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदोखेती गर्ने चलन हराएको हो । उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि कोदो उत्तम मानिन्छ ।”
कोदोमा ट्रिस्टोफेन नामक एमिनो एसिडले गर्दा यो पच्न ढिलो हुने हुँदा लामो समय नखाँदा पनि हुन्छ । यसबाट हाम्रो शरीरको तौल यथावत् राख्न मदत गर्छ । कोदो खानाले यसमा भएको क्याल्सियमले गर्दा वृद्ध र बालकलाई चाहिने प्राकृतिक क्याल्सियमले गर्दा हाड मजबूत बन्न मदत पुग्छ । कोदोलाई क्याल्सियम, फलाम, प्रोटिन रेशाको धनीको रूपमा लिइन्छ । यसले बोसोको मात्रा कम गराउँछ । मुटु, कलेजो र उच्च रक्तचाप भएका मानिसको लागि यो राम्रो खानाको रूपमा लिइन्छ ।
कम सिंचाइ, मल, मेहनतको प्रयोगले उत्पादन बढी लिन सकिने भएपनि कोदोखेतीको संरक्षण र जगेर्ना गर्नेतर्फ अब सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ ।