सम्पादकीय……

सरकारले जनता आवास कार्यक्रम लागू गर्नु अघि नै मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरेको थियो । खुला दिसामुक्त अभियान अहिले कुन अवस्थामा छ, समाचार पनि आउन छाडिसकेको छ । किनभने लेख्न र जिज्ञासा शान्त पार्नका लागि देशमा दिनदिनै नयाँ–नयाँ घटनाहरू भइरहेका छन् ।

देशको राजनीतिक अवस्था सबैभन्दा रमाइलो परिघटना हो । राजनीतिक दलहरू त त्यसमा अलमलिने नै भए, जनताको पनि सबैभन्दा बढी चाख राजनीतिक समाचारमा रहने गर्दछ । खाँदो न पाउँदो जाइफल धाउँदोजस्तै गरी राजनीतिले जति उपेक्षा गरेपनि जनता भने राजनीति नभई निदाउनै सक्दैन । अहिलेको नेपालको राजनीतिक अवस्था त झन् कहीं नभएको जात्रा हाँडीगाउँको जस्तो छ । त्यसपछि एक वर्षभन्दा बढी समयदेखि कोरोनाले मानिसको ध्यान तानेको छ । देशमा दुईवटा रमाइलो कार्यक्रम चलिरहेको बेला खुला दिसामुक्त अभियानको वास्ता कसले गर्ने ? यस्तोमा जनता आवास कार्यक्रम अन्तर्गत बनेका घरहरूमा बस्ने मानिसले आफ्नो हैसियतले कसरी शौचालय बनाउँछ र खुला दिसामुक्त अभियानलाई सघाउँछ ?

नेपालीहरूको प्रवृत्ति अनौठो छ । निम्सरा गरीबका लागि राहतको सामान वितरण हुन थाल्यो भने सबैभन्दा अग्रपङ्क्तिमा धनीहरूको लाम देखिन्छ । जाडोमा काम्लो बाँड्ने कार्यक्रम होस् वा कोरोनाकालमा राशन बाँड्ने काम, गरीबले पाउला नपाउला, धनीले अवश्य पाउँछ । यद्यपि सबै धनी मानिस यस्ता छैनन् तर सित्तैमा पाए चुक घोप्ट्याउने मानिसको हाम्रो देशमा कमी छैन । यहाँ त कस्तोसम्म देखियो भने गाउँको धनीमानी, समाजको नाइके र सत्तासीन दलकै मानिस पनि सरकारले शौचालय बनाइदिने योजना ल्याएपछि, त्यो सुविधा नलिएसम्म आफ्नै हैसियतले शौचालय बनाउन तयार भएनन् । अनि जनता आवास कार्यक्रम अन्तर्गत निम्सरा जमातसँग शौचालय आफैं बनाउनुपर्ने आग्रह कसरी पूरा हुन्छ ?

खुला दिसा गर्नुहुँदैन भन्ने कुरासम्म नबुझेको र आफुले बनाउनै नसक्ने वर्गका मानिसले कसरी र किन शौचालय बनाउँछ ? शौचालय नभएर उसको प्राकृतिक आवश्यकता पूरा नहुने हो र ? शौचालयको आवश्यकता महसूस गरेको छैन, महसूस भए पनि क्षमता नभएको व्यक्तिले आफैं शौचालय बनाओस् भन्ने अपेक्षा विवेकपूर्ण हुँदै होइन ।

सरकारले आफैं ल्याएको खुला दिसामुक्त कार्यक्रमलाई आफैंले नसघाउने हो भने कसरी यो देश खुला दिसामुक्त हुन सक्छ ? खुला दिसा गर्नु, जथाभावी फोहर गर्नु, आफैंले फोहरको आहाल बनाई रमाउनुलाई संस्कृति ठान्ने जनतालाई शौचालयको के आवश्यकता ? बरु सरकारले बनाइदिएको शौचालयलाई बाख्राको खोर, अन्नपानी, दाउरा राख्ने ठाउँको रूपमा प्रयोग गर्ने जनताले किन आफ्नो पैसा खर्च गरेर शौचालय बनाउँछ ? सरकारले आफ्नो अभियानलाई सार्थक बनाउनु छ, मानिस बाहिर दिसापिसाब नगरून् भनेर भएको शौचालय प्रयोग गर्ने बानी बसाल्न कडा नीति–नियम र कार्यान्वयनमा ध्यान दिनुपर्नेमा शौचालयविहीन आवास बनाउनु दिमागको दिवालियापन मात्र हो ।

गन्तव्य अर्कै, फरक बाटो हिंड्ने भएपछि लक्ष्य प्राप्ति कसरी हुन सक्छ ? यो कुरा खुला दिसामुक्त क्षेत्रको अवधारणामा मात्र होइन, सरकारले थालेको प्रत्येक कार्यक्रमको हविगत हो । पर्सा जिल्लामा बनाइएका जनता आवासमा शौचालय छैन भने अन्यत्र जिल्लामा हुने कुरै भएन । निम्सरा जनताप्रति सरकारको दायित्वको योभन्दा राम्रो नमूना के हुन सक्छ ? यसलाई आवास कार्यक्रम भन्ने गरीबसँग गरिएको सरकारी मजाक ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here