- सम्पादकीय
आजको दिनमा विगत भनेको कोरोनाकाल हो । विगत भनेपछि बितिसकेको नबुझियोस्, किनकि कोरोना बितिसकेकोे छैन । कोरोनाको प्रतिकार गर्न जारी भएको लकडाउनमात्र बितेको हो, त्यो पनि आंशिक । लकडाउन खुकुलो हुनेबित्तिकै बजारमा चहलपहल बढेको छ । मानिस लापरवाह हुन थालेका छन् ।
समस्याको मूल जरा यही हो । बाँधिराखेको पशु फुका भयो भने त्यसलाई समाउन कठिन हुन्छ । मानिस पनि मूलतः पशु नै भएकोले यो प्रवृत्ति उसमा पनि छ । तर मानिस पशुभन्दा यस अर्थमा भिन्न हुन्छ कि उसमा विवेक हुन्छ । तर विवेक भएर मात्र पुग्दैन, विवेकको प्रयोग पनि हुनुपर्छ । त्यो भनेको लकडाउन खुकुलो हुनेबित्तिकै फुकेको पशुझैं सबैलाई तर्साउँदै गाउँभरि कुद्नु होइन । कोरोनाबाट सावधान हुने मापदण्ड त्यस बेलासम्म पालना गरिरहनुपर्छ, जबसम्म यसको प्रभावकारी औषधि फेला पर्दैन वा यो उन्मूलन नै भइसक्दैन । आपत्मा आत्तिने र आपत् बितेपछि पशुझैं मात्तिने हाम्रो स्वभाव छ । यसले थाहै नपाई तेस्रो चरणको कोरोना निम्त्याउन सक्छ । आज उपलब्ध खोप त सरकारले जनतालाई उपलब्ध गराउन सकेको छैन, भोलि सङ्क्रमण फैलियो भने क्ष्Fति बेहोर्ने जनता नै हो ।
सरकारलाई के छ, महामारी फैलनेबित्तिकै लकडाउन गरिदिन्छ । उसको ‘म्युजिकल चेयर’को खेल अहर्निश चलिरहन्छ । न कसैको हरहर, न कसैको कचकच १ भारत र चीनले सित्तैमा दिएको कोरोना खोपबाहेक सरकारले थप खोप दिन सकेको छैन । थप विडम्बना के छ भने निर्धारित समयमा अनिवार्य दुईवटा खोप लगाउनुपर्नेमा संवेदनशील ज्येष्ठ नागरिकहरूलाई नै दोस्रो चरणको खोप जुर्न सकेको छैन । राजनीतिक दलहरू कुर्सी, महाधिवेशन, टुटफुट र सत्ता समीकरणमा लागेका छन् । सबै जिम्मेवारी वहन गर्नुपर्ने दायित्व जनतामा छ ।
एक वर्षभित्र दुई/दुई पटक लकडाउनको सास्ती बेहोरिसकेपछि पनि कोही फुक्का साँढझैं स्वच्छन्द हुन चाहन्छ भने त्यस्तालाई भीरबाट लड्न लागेको गोरुको संज्ञा दिन सकिन्छ । पहिलो र दोस्रो कोरोनाकालको परिणाम स्पष्ट देखिसकेका छौं । पहिलोको पालामा वृद्ध, दीर्घरोगी, निकट सम्पर्कका मानिस, केटाकेटीलाई धेरै असर पु-याउँछ, किशोर र युवाहरू खतराबाट मुक्त छन् भनियो, दोस्रो लहर आउनेबित्तिकै धमाधम किशोर र युवा नै यसको ग्रास बन्न थाले । एउटा मात्र कारण थियो, कोरोना जोखिमबाट जोगिने स्वास्थ्य मापदण्डको पालनामा लापरवाही ।
एउटा उर्दू शेर छ–और भी गम हैं जमाने में मुहब्बत के सिवा/राहतें और भी हैं वस्ल के राहत के सिवा । आजको मानिसको लागि कोरोना मात्र भय होइन । त्यो मात्र भइदिएको भए मानिस घरभित्रै थन्किएर यसको प्रतिकार गर्न सक्थ्यो । भय त छ देशको आर्थिक अवस्था डामाडोल भएको, घरमा अन्नको दाना रित्तिएको, काम गर्न नपाउँदा परिवारको पालनपोषण राम्ररी हुन नसकेको, रोजगार गुमेको ।
यो भय कोरोनाको भयभन्दा सयौं गुणा बढी हुन्छ । यसले कोरोनाको भयलाई जित्छ । त्यस्ताहरू थन्किएर बस्नुपर्ने, जसलाई यी सबैको चिन्ता छैन, सरोकार छैन, उनीहरूको उच्छृङ्खलताले कोरोनाको लहरमाथि लहर आइराख्ने अवस्था दुःखदायी हो । लकडाउन खुकुलो भयो भनेर हुलका हुल निस्कनुको साटो एक समयमा परिवारको एकजना मात्र बाहिर निस्कने समझदारी बनाउन सक्ने हो भने पनि तेस्रो लहरको रोकथाम हुन सक्छ । स्थानीय सरकार र प्रशासनले पनि सोच्नुपर्छ ।