राधेश्याम पटेल, परवानीपुर, ७ असार/
वीरगंज–पथलैया व्यापारिक राजमार्गको काम पाँच वर्षमा पनि सम्पन्न भएको छैन। २०७३ असार २९ गतेदेखि शुरू भएको सडक निर्माणको काममा ठेकेदार कम्पनीले चरम लापरवाही गर्दा सडकको दुरवस्था भएको हो। करीब ५ अर्ब रुपैयाँको ठेक्का लिएर समयमा काम नगरिदिंदा यस भेगका जनता चरम सास्ती खेप्न बाध्य छ।
दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता भए तापनि विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीहरूले काममा ढिलाइ गरिरहेका छन्। वीरगंज–पथलैयाबीचको विभिन्न सडकखण्ड अहिले वर्षात्को समयमा कहीं हिलाम्मे त कहीं पोखरी बनेका छन्।
सुक्खा बन्दरगाहको लक्ष्मी आयलनिर, जगरनाथपुर–गण्डक नहरनजीकै, परवानीपुर चोक, गढीमाई मन्दिरदेखि जीतपुर बजार र लालका पुल क्षेत्रमा वर्षात्को बेला यात्रा गर्न सास्ती खेप्नुपरेको यात्रीहरूले बताएका छन्। लक्ष्मी आयलनजीकै राजमार्ग पोखरी नै बनेको कारण अहिले सवारीचालकहरू ज्यानको जोखिम मोलेर गाडी चलाउन बाध्य छन्। सवारीचालकहरूले सडक नबन्दा पटक–पटक गाडीको चक्का पञ्चर हुने र गाडीको इन्जिन खराब हुँदा लाखौं रुपैयाँ गाडी मरम्मत सम्भारमा खर्च भइरहेको बताए।
व्यापारिक मार्गमा तीनवटा पुलको निर्माण काम भइरहेको छ। पथलैया–परवानीपुर–आइसिपी सडकखण्डमा ६ वटा प्याकेजमा ६ लेनको ३१ किलोमिटर लम्बाइको सडक कालोपत्रे गर्ने काम भइरहेको छ भने परवानीपुर–गण्डकको चार किलोमिटर लम्बाइको सडक निर्माण कार्य भइरहेको छ।
अर्को जीतपुरको लालका पुल, परवानीपुरदेखि गण्डक जाने बाटोमा एउटा पुल र अर्को परवानीपुरदेखि सुक्खा बन्दरगाह जाने सडकखण्डमा गरी तीनवटा पुलको निर्माण कार्य भइरहेको छ।
पुलमा करीब १ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ। सडकको सातवटा प्याकेजको जेठ महीनासम्मको प्रगति हेर्दा सडकको भौतिक प्रगति ७५ प्रतिशत छ भने वित्तीय प्रगति ७० प्रतिशत छ। सडक निर्माणको सातवटा प्याकेजमा सबैभन्दा ढिला काम गर्ने ठेकेदार कम्पनीको रूपमा पप्पु कन्स्ट्रक्शन देखा परेको छ। पप्पु तीनवटा प्याकेजको साझेदारको रूपमा छ।
परवानीपुरदेखि जगरनाथपुरको गण्डक नहरसम्म १ नं प्याकेज, हरपतगंजदेखि आइसिपीसम्म ३ नं प्याकेजमा पप्पुले निकै कम काम गरेको छ। यी दुई सडकमा पोहोरको कोरोनाकालदेखि यस वर्षको कोरोनासम्म ठेकेदार कम्पनीले ज्यादै थोरै काम गरेको व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय पथलैयाका सूचना अधिकारी इन्जिनीयर सम्पतलाल दासले बताए।
त्यसैगरी, सूर्य नेपालदेखि गढीमाई मन्दिर जीतपुरसम्म ५ नं प्याकेजमा पनि दिवा, शर्मा, युनाइटेड जेभीले थोरै काम गरेको छ। पथलैयादेखि सूर्य नेपालसम्म ४ नं प्याकेज, गढीमाईदेखि परवानीपुरसम्म ६ नं प्याकेज र परवानीपुर–गण्डक सडकखण्डमा अन्य खण्डभन्दा केही काम बढी भएको उनले बताए। ठेकेदार पक्षलाई पटक–पटक पत्राचार गरी ताकेदा गर्दा पनि लक्ष्यअनुरूपको काम नगर्ने र खाली म्याद थपको लागि फाइल खडा गर्दा काम हुन नसकेको उनले बताए।
परवानीपुर–गण्डक सडकको भौतिक प्रगति ८० प्रतिशत र तीनवटा पुलको प्रगति ७५ प्रतिशत रहेको जनाइएको छ। यसैगरी, यस वर्षको बजेट भाषणमा पनि कोरोना महामारीले गर्दा निर्माण आयोजनामा असर परेकोले थप ६ महीना म्याद थप्न ठेकेदारले लबिङ गरिरहेको उनले बताए।
सातवटा प्याकेजमा एमआर कन्टेक, पप्पु कन्स्ट्रक्शन, लुम्बिनी, दिवा, शर्मा, युनाइटेड, दिवा सपना, मृत सञ्जीवनी, इलाइट र एसबिएलगायत ठेकेदार कम्पनीले साझेदारीमा काम गरिरहेका छन्।