काठमाडौं, ५ असार/रासस
मङ्गलवारको बाढीका कारण झन्डै डेढ दर्जन जलविद्युत् आयोजनामा सानाठूला क्षति पुगे। सोही क्षतिका कारण सरकारी तथा निजी क्षेत्रका केही आयोजना अझै पनि पुनः सञ्चालनमा आउन सकेका छैनन्।
कास्कीमा निर्माणाधीन अवस्थामा रहेको ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनामा सबैभन्दा ठूलो क्षति पुगेको छ। सुपर मादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुङ्गानाका अनुसार बाढीका कारण झन्डै रु एक अर्ब बराबरको नोक्सानी भएको छ।
उनका अनुसार मादी नदीमा आएको बाढीले निर्माणाधीन आयोजनाको हेडबक्स, पावरहाउस, कामदार आवास क्षेत्रलगायत स्थानमा ठूलो क्षति पु–याएको छ। यस्तै, लोडर, एक्साभेटर, पेनस्टक पाइप, कर्सर प्लान्ट, आरएमसी प्लान्ट, हेभी जेनेरेटरलगायत पावरहाउस क्षेत्रबाट निर्माण सामग्रीसमेत बगाएको छ।
आज मात्रै नेपाल–चीन सीमा क्षेत्रनजीकै रहेको रोजिया शहर र सोको आसपासमा भारी वर्षा भएसँगै पहिरो आउँदा नदीको बहाव रोकिन गएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले सचेत रहन सूचना जारी गरेको छ। नेपाल–चीन सीमा क्षेत्रको बस्ती तथा तामाकोशी नदी तटीय क्षेत्रमा जोखिम उत्पन्न हुने सूचनामा उल्लेख छ।
तामाकोशी नदीमा नै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ। बाढीका कारण दोर्दी करिडोरमा निर्माणमा रहेका आयोजनामध्ये केहीमा सामान्य क्षति पु–याएको छ। बाढीका कारण दोर्दी करिडोरमा निर्माणाधीन अवस्थामा रहेका आयोजनामा क्षति पुगेको छ। कुल ५४ मेगावाट क्षमताको सुपर दोर्दी (ख), १२ मेगावाट क्षमताको दोर्दी १ मा बाढीले समस्या पारेको छ। रसुवामा निर्माण भइरहेको रसुवागढी आयोजनाको टेलरेसबाट बाढी पसेको छ। बाढीले आयोजनामा आवतजावतका लागि निर्माण गरिएको बेलीब्रिज बगाएको छ।
मेलम्चीमा आएको बाढीले पु–याएको जनधनको क्षति असाध्यै ठूलो छ। वातावरण विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएका रविन निरौलाका अनुसार कमजोर भूसतहमा सामान्य पहिरो जाँदा पनि तल्लो तटमा ठूलो क्षति पुगेको छ। मेलम्चीको हकमा पहिरो खसेर ४५ मिनेट बढी खोला थुनिएको देखिन्छ। मनसुनको समयमा नदी त्यसले कति विकराल रूप लिन्छ भनेर मेलम्चीको अवस्थाबाटै थाहा भएको छ।
बाढीपहिरोले नेपालको हिमाली तथा पहाडी क्षेत्रमा निर्माण भएका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। मेलम्ची खानेपानी आयोजनाका अनुसार बाँधस्थल तथा अन्य संरचनामा बाढीले समस्या पारेको छ। जानकारहरूका अनुसार नेपाल आफैंमा प्राकृतिक विपत्तिको जोखिममा छ। ‘गोरखा भूकम्प’का कारण भौगोलिकरूपमा नै केही जटिलता सिर्जना भएका छन्। त्यसमाथि जलवायु परिवर्तनका कारण एकै स्थानमा धेरै वर्षा हुने कारण पनि बाढीपहिरोको जोखिम उत्तिकै बढी देखिन्छ। यस्तो अवस्थामा भौतिक पूर्वाधार निर्माण गर्दा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।
विशेषगरी उत्तरी क्षेत्रमा निर्माणमा रहेका र सञ्चालनमा आइसकेका जलविद्युत् आयोजनामा पछिल्ला बाढीपहिरोले झनै समस्या थपिदिएको छ। लागत र समय मात्रै बढेको छैन, आयोजनाको भविष्यमा समेत प्रश्नचिह्न खडा भएको छ।
यसो गरे जोगाउन सकिन्छ
यस्तो विषम अवस्थामा हाम्रा भौतिक पूर्वाधार निर्माणमा कुन विषयलाई बढी ध्यान दिनुपर्ला त भन्ने जिज्ञासामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनीयरिड्ढा प्रबन्ध सञ्चालक माधव कोइराला भन्छन्, “हामीले विशेषगरी खोलाको अवस्थालाई ख्याल गरेर मात्रै निर्माणका काम अगाडि बढाउनुपर्छ।” उनका अनुसार हामीले कस्तो संरचना बनाउFदैछौF, त्यहाFको भूगोल कस्तो छ भन्ने जस्ता विषयमा मिहीन अध्ययनको जरुरी देखिएको छ।
यस्तै, सुरक्षाका उपाय के कति मात्रामा अवलम्बन गरेका छौं वा जोखिम न्यून गर्ने मापदण्डलाई के कसरी आत्मसात् गरेका छौं भन्ने विषय पनि यसमा जोडिएर आएको प्रबन्ध सञ्चालक कोइरालाको भनाइ छ। भइहाल्छ वा चलिहाल्छ नि भन्ने मान्यताले कतिपय विकास निर्माणका काममा गुणस्तरलाई ख्याल नगर्ने प्रवृत्ति पनि उत्तिकै छ। सही डिजाइन भयो वा भएन, डिजाइन अनुसारका संरचना तयार भए वा भएनन् भन्ने कुरालाई विशेष ख्याल गर्नुपर्ने र सोही अनुसारका संरचना बनाउन लागिपर्नुपर्ने कोइरालाको भनाइ छ।
चिलिमे जलविद्युत् आयोजनादेखि नेपाल–चीन सीमा क्षेत्रनजीक निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी आयोजनाको समेत प्रमुख भएर काम गरिसकेका कोइरालाको विचारमा “सही स्थानमा सही संरचना (राइट प्लेस, राइट स्ट्रक्चर)” हुनु आवश्यक छ। परियोजनाको छनोटदेखि नै भौगर्भिकरूपमा जोखिम छन् वा छैनन् भन्ने विषयमा राम्रो खोज आवश्यक रहेको पछिल्ला दिनमा देखिएको बाढीपहिरोले देखाएको कोइरालाको बुझाइ छ। उनी भन्छन्, “हामीले अब इन्जिनीयरिङलाई पनि सोही अनुसार अगाडि बढाउनुपर्ने देखिन्छ, सही डिजाइन र मापदण्डको पूर्ण कार्यान्वयन जरुरी देखिन्छ।” एनइए इन्जिनीयरिङ कम्पनीले गरिरहेका कामलाई समेत अब थप गुणस्तरीय र प्रभावकारी बनाउने तथा जोखिम कम गर्नेतर्फ ध्यान दिने उनको भनाइ छ।
ठूला प्राकृतिक विपत्तिलाई रोक्न नसकिए पनि क्षति कम गर्नेतर्फ सोच्नु जरुरी छ। किनकि, नेपालको विकास निर्माण प्रक्रियामा सुरक्षाका उपाय अवलम्बन नगर्ने प्रवृत्ति पनि उत्तिकै छ। पूर्वसावधानी अपनाउन सकिए क्षतिलाई घटाएर भौतिक संरचनाको सुरक्षा गर्न सकिने प्रबन्ध सञ्चालक कोइरालाको भनाइ छ। ठूला भौतिक पूर्वाधार निर्माण गर्दा सामान्यता दशौं वर्षको मौसमी विवरण आवश्यक पर्दछ। त्यसमा अध्ययन गरिन्छ। त्यसमा पनि अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रका परियोजना निर्माण गर्दा झनै मिहीन अध्ययनको जरुरी देखिन्छ।
बाढीपहिरोका कारण जलविद्युत् आयोजनाका उपकरणमा नदीको बालुवा तथा लेदो पसेकाले पनि केही दिन विद्युत् उत्पादन बन्द हुने उनीहरूको भनाइ छ। मेलम्चीको बाढीले इन्द्रावती तेस्रोको विद्युत् उत्पादन बन्द छ। कुल ७.५ मेगावाट क्षमताको सो आयोजना मङ्गलवार साFझदेखि बन्द रहेको छ। मुख्य संरचना सुरक्षित रहेको भएपनि बाFधको गेटमा समस्या देखिएको बताइन्छ। नेशनल हाइड्रोपावर प्रवद्र्धक रहेको सो आयोजनाको क्षतिका बारेमा मूल्याङ्कन भइरहेको जनाइएको छ। कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार क्षतिको मूल्याङ्कन भइरहेको छ।
यस्तै, सो आयोजनाका तीनवटा टावरमा क्षति पुगेको छ। गत माघमा भारतको उत्तराखण्डको चमोलीमा आएको हिमपहिरोले बूढीगङ्गालगायतका आयोजनालाई क्षति पु–याएको थियो। हिमाली क्षेत्रमा भौतिक पूर्वाधार निर्माणलाई कसरी सुरक्षित बनाउने भन्नेमा ध्यान जानु जरुरी छ।