प्रस, परवानीपुर, ४ असार/
इट्टा उत्पादन व्यवसाय यस वर्ष घाटाको रोजगार बनेको व्यवसायीहरूले बताएका छन्। कोरोनो महामारीको कारण गत वर्षदेखि ईंटा उत्पादन व्यवसाय घाटाको रोजगार बनेको बारा–पर्सा ईंटा व्यवसायी सङ्घका अध्यक्ष असर्फीप्रसाद जैसवालले बताएका छन्। उनका अनुसार निषेधाज्ञाको कारण निर्माण योजना प्रभावित बनेर ईंटाको बिक्री घटेको छ।

अहिले रु १० हजार प्रतिहजारको दरमा ईंटा बिक्री भइरहेको उनले बताए। यही ईंटा गत वर्ष रु १२ हजारमा बिक्री भएको उनले बताए। “कोरोनाको कारण जारी निषेधाज्ञाले भारतीय मजदूर पाउन समस्या भएको र उनीहरूलाई अहिले ल्याएर काममा लगाउने अवस्था पनि नभएको तथा कोइलाको भाउ आकाशिएकोले व्यवसाय प्रभावित भएको उनले बताए। कोरोनाको कारण निर्माण कार्य प्रभावित भएकोले बजारको आर्थिक अवस्था कमजोर हुन गई ईंटाको खपत ठप्प भएको उनले बताए।

यो समस्याबीच अहिले मौसमले ईंटा व्यवसायलाई धक्का पु–याएको अध्यक्ष जैसवालले बताए। अहिले ईंटा पकाउने बेला जेठ महीनादेखि नै लगातार पानी पर्दा उद्योग चौपट भएको जैसवालको भनाइ छ। पर्सा–बारामा २५० भन्दा बढी ईंटा उद्योग छन्। प्रायः सबै ईंटा उद्योगको अवस्था अहिले दयनीय भएको उनले बताए।

नेपाली ईंटा उद्योगमा अधिकांश भारतीय कामदार काम गर्छन्। उनीहरूको खर्च वर्षैपिच्छे बढ्दो छ। यसैगरी ईंटा उद्योगको लागि चाहिने पथेरा,पकिया (आग मिस्त्री), झोकाइ, बोझाइ, पकिया निकासीलगायत वर्गका जनशक्ति नेपालमा नपाइने र भारतबाट मगाउँदा उनीहरूलाई महँगो मजदूरी दिनुपर्ने उनले बताए।

ईंटा उद्योगीहरूले उद्योग चलाउन भारतीय मजदूरलाई सिजन शुरू हुनुभन्दा पहिले तीनपटक पेश्कीस्वरूप लाखौं रुपियाँ दिने गरेको र उनीहरूको ऋणको ब्याजसमेत बुझाउँदै आएको बताए। यसो नगर्दा मजदूरको समस्याले उद्योग थप समस्याग्रस्त हुने उनको भनाइ छ। व्यवसायीले चालू आवमा २४ हजार प्रतिटन कोइला खरीद गरेका छन्। जबकि गत वर्ष कोइला २० हजार प्रतिटन थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here