प्रस, सेढवा, ४ असार/
कृषि उपकरणमा आधुनिक यन्त्रीकरण बढेसँगै विश्वकर्मा समुदायको पेशा सङ्कटमा परेको छ।
यस समुदायको लोहसारी (फलामको औजार उत्पादन तथा मरम्मत गर्ने स्थान) सङ्कटमा परेको जीराभवानी गाउँपालिका–३ नौकाटोलाका प्रेम विश्वकर्मा बताउँछन्।
कृषि प्रयोजनमा अहिले ट्याक्टरको प्रयोग बढेको, फाली तथा रोटाभेटरबाट खेतको जोताइ, धान, गहुँबाली भिœयाउने हार्भेस्टर मेशीनको प्रयोग बढेपछि पेशा सङ्कटमा परेको उनले बताए। पुख्र्यौली पेशा छाड्न पनि नसकिने र अहिले सो पेशाबाट छाक टार्न पनि समस्या भइरहेको विश्वकर्माले बताए। उनले यो पेशाबाट वार्षिक प्रतिपरिवार एक मन धान पाउने र त्यसबाट परिवारको गुजारा नहुने भएपछि अहिले अन्य पेशा गर्न थालेको बताए।
पहिले गाउँमा टोलपिच्छे एउटा लोहसारी हुने गर्दथ्यो। अहिले गाउँमा लोहसारी पाउन छाडेको छ। जगरनाथपुर गापाका अनन्त ठाकुरले पुख्र्यौली पेशा जेनतेन जोगाउँदै आएको बताए। उनले पेशा जोगाए पनि पेशाबाट गुजारा भने नभएको बताए। महँगी बर्सेनि बढ्दै गएको तर पेशाबाट आम्दानी घट्दै गएकोले छाक टार्न समस्या भएको ठाकुरको भनाइ छ। फलाम पिट्नेजस्तो मेहनतको काम गर्दा पनि अहिले आम्दानी हुन छाडेको उनले बताए।
पत्थर कोइला र काठको कोइलाबाट फलामे उपकरण बनाउने र त्यसो गर्दा महँगो हुने गरेको तर मजदूरी सन्तोषजनक नपाइने गरेको उनको गुनासो छ। उनले आफूपछिका पुस्ता अन्य पेशामा आकर्षित भएको बताए।