• सञ्जय मित्र

इतिहास र पुराणको सम्बन्ध रहेको छ। भगवान् गौतम बुद्धको समय र यात्रालाई हेर्दा यो पूर्णतया स्पष्ट हुन्छ।
भगवान् गौतम बुद्धका पिता शुद्धोधनका समकालीन मगध सम्राट हुन् विम्बिसार। विम्बिसारका पुत्र हुन् अजातशत्रु। अजातशत्रु अत्यन्त उच्च महत्वाकाङ्क्षा राख्ने पात्र हुन्।

शुद्धोधनका भाइ द्रुद्धोधनका छोरा देवदत्त पनि अति महत्वाकाङ्क्षी थिए। संयोग कस्तो थियो भने अजातशत्रु र देवदत्तबीच मित्रता थियो तर दुवैका मित्रतामा स्वार्थ थियो। दुवै राजा बन्न चाहन्थे। विम्बिसारका उत्तराधिकारी अजातशत्रु थिए तर शुद्धोधनका उत्तराधिकारी देवदत्त थिएनन्।

अजातशत्रुका पिता विम्बिसार गौतम बुद्धका अनुयायी थिए। राज्यमा गौतम बुद्धको ठूलो सम्मान भएकोले दरबारका पण्डित पुरोहित क्षुब्ध थिए। राजा बन्न लालायित अजातशत्रुको महत्वाकाङ्क्षा अझ बढाउँदै पण्डित–पुरोहितहरूले षड्यन्त्र गरे र विम्बिसारलाई कैद गर्न लगाए। छोराको महत्वाकाङ्क्षा बुझेका विम्बिसारले कारागारमा नै हत्या गर्लान् भन्ने बुझेर छोरालाई पितृहत्याको दोषबाट जोगाउन आत्महत्या गरे। अजातशत्रु राजा बने।

अजातशत्रु राजा नबन्दै आम्रपाली विम्बिसारसित गएर भगवान् गौतम बुद्धको दर्शन गर्दथिन्, उपदेश सुन्दथिन्। आम्रपाली कतिपय समय विम्बिसारसित दरबारमैं बिताउँथिन्। यो कुरो पूर्ण रूपमा गोप्य राखिएको थियो तर भगवान् बुद्धलाई सबै यथार्थ थाहा थियो।

विम्बिसारलाई अजातशत्रुले कारागारमा बन्दी बनाउने योजना बनाएको विम्बिसार र आम्रपाली दुवैलाई जानकारी थियो। विम्बिसारले आम्रपालीलाई गोप्य बाटोबाट शपथ दिलाएर वैशाली पठाएका थिए। वास्तवमा आम्रपाली वैशालीकै थिइन्। इतिहासले आम्रपालीलाई वैशालीकी नगरबधू भनेर चिन्दछ। त्यस युगमा आम्रपालीलाई प्रथम विश्वसुन्दरी भन्न सकिन्छ। अजातशत्रुले वैशालीलाई आफ्नो शत्रु ठान्दथे। वैशालीमाथि आक्रमण गर्दा आम्रपालीले आफ्ना संरक्षक, युवा दस्ता तथा पर्याप्त धन दिएर वैशालीलाई जिताएकी थिइन्। अनेकौं घाइतेलाई उपचार गरेकी आम्रपालीको अर्को नाम अम्बपाली पनि थियो।

अम्बपालीलाई कुनै पनि मूल्यमा पाउन चाहन्थे अजातशत्रु। विम्बिसारको मृत्युपछि आम्रपाली एक दिन गौतम बुद्धलाई भेट्न गइन्। सिद्धार्थ गौतमसित भेट गरेपछि केही उपदेश ग्रहण गरिन् र अजातशत्रुले बुद्धमाथि केही नराम्रो गर्न सक्ने पनि बताइन्। बुद्धको दर्शनपछि डोलीमा वैशाली फर्किरहेकी अम्बपालीमाथि अजातशत्रुले आक्रमण गरे। अम्बपालीसित छिटै बिहे प्रस्ताव स्वीकार गरेर मगध साम्राज्यकी महारानी बन्ने प्रस्तावमाथि निर्णय सुनाउन दबाब दिए।

केही दिनपछि अजातशत्रुलाई उनका द्वारपालले उपहारको एउटा बाकस आएको बताए। उपहारको बाकस खोलेर हेर्दा त्यसमा अजातशत्रुले अम्बपालीलाई दिएको बहुमूल्य रत्नाभूषण थियो। द्वारपालले यो पनि सन्देश दियो कि अम्बपाली भिक्षुणी बनिसकिन्। अम्बपाली भिक्षुणी बनेको खबरले अत्यन्त विक्षिप्त बने अजातशत्रु।

बुद्धको बढ्दो लोकप्रियता रोक्न बुवाको हत्या गर्नेसम्मको योजना बनाएका अजातशत्रुले आमाको आशीर्वाद पनि पाउन सकेनन्। आमा पनि बौद्ध भिक्षु बनिन्। अन्तिम सहारा अम्बपालीलाई बनाउन चाहेका थिए। उनी पनि भिक्षुणी भइन्। अत्यन्त निराश र क्षुब्ध भएको बखत एक दिन एकजना भिक्षु दरबारमा भिक्षा माग्न आयो। अलिकति भिक्षा लिएर जान थालेपछि अज्ञातशत्रुले आफ्नो शिरको ताज नै बुद्धकहाँ पठाइदिए। भगवान् बुद्धले थाहा पाएर तिनको तनाव कम गर्न आफैं आए। भगवान् बुद्धसित अनेक प्रश्न गरे, अजातशत्रुले।

मनमा शान्ति कसरी हुन सक्छ भन्ने भनाइ अजातशत्रुको थियो। बुद्धले मनभित्रै शान्ति छ भने। बाहिर खोजेर होइन आफैंभित्र रहेको शान्तिलाई खोज्न सक्नुपर्दछ भने। अजातशत्रुले जति पनि प्रश्न गरे, सबै प्रश्नको चित्तबुझ्दो उत्तर बुद्धले दिंदै गए। त्यससित सम्बन्धित कुराहरू पनि बताउँदै गए। अज्ञातशत्रुको मनमा पनि वैराग्यभाव उत्पन्न भयो तर बुद्धको सल्लाहले उनले राज्य त्यागेनन्। राजा बनिरहे तर धर्मसङ्गत किसिमले राज्य सञ्चालन गर्ने प्रण गरे। गौतम बुद्धले महापरिनिर्वाण गर्दा अन्तिम दर्शनका लागि अजातशत्रु पनि पुगेका थिए। प्रारम्भमा बुद्धको विरोधीको रूपमा देखिएका अजातशत्रु अन्ततः बुद्धकै शरणमा पुगे र अनुयायी भए।

हुन त काशी नरेश पनि सिद्धार्थलाई देखिसहँदैनथे तर उनको सम्पर्क, उनको दर्शन र विचारबाट यति धेरै प्रभावित भए कि सबै किसिमले सहयोग गर्ने प्रतिबद्धता जनाए। राजा शुद्धोधनकै समयदेखि सदैव मैत्री तथा सद्भावपूर्ण सम्बन्ध वैशालीसित रहेको थियो। सिद्धार्थ गौतमबाट गौतम बुद्ध बनिसकेपछि पनि वैशालीसित हार्दिक सम्बन्ध रहिरह्यो। बुद्धका सा–है प्रिय स्थानमा वैशाली पनि थियो। भगवान् बुद्धले स्वयं यस कुरालाई स्वीकार गरेका छन्। बुद्धको शेषपछि उनका प्रिय शिष्य एवं काकाका छोरा आनन्दका लागि पनि वैशाली प्रिय बनिरह्यो। ध्वस्त भएपछि पनि वैशालीमा उनको इच्छानुसार भिक्षु आनन्दको अस्थि विसर्जन गरिएको थियो। आनन्दको अस्थि विसर्जन गरिएको स्थानको नाम त्यतिबेला उच्चकला थियो भने अहिले त्यो ठाउँ हाजीपुरको नामले प्रसिद्ध छ। सन् १३४५ मा बङ्गालबाट आएका हाजी इलियासले त्यहीबाट शासन गर्न थालेपछि उच्चकलाको नाम हाजी इलियासकै नामबाट रहन पुगेको हो।

वैशालीकी नगरबधू अम्बपालीका एक छोरा थिए जो सानैमा भिक्षु बनेका थिए। अम्बपाली भिक्षुणी बनेपछि अन्य धेरैले एकैसाथ सन्न्यास ग्रहण गरेका थिए। हुन त सिद्धार्थ गौतमकी पत्नी यशोधरा र सिद्धार्थलाई पालनपोषण गर्ने आमा प्रजापति पनि भिक्षुणी बनिसकेकी थिइन्। गौतम बुद्धले दीक्षा दिएको पहिलो महिला नै माता प्रजापति थिइन्। गौतम बुद्ध आफैंले दीक्षा दिएका तीन शक्तिशाली महिलामा आफ्नै माता प्रजापति, सिद्धार्थ गौतमकी पत्नी यशोधरा र वैशालीकी नगरबधू आम्रपाली थिए।

भगवान् बुद्ध र अम्बपालीको सम्बन्ध एउटा घटनाले पनि पुष्टि गर्दछ। भगवान् बुद्ध राजगृह (मगधको राजधानी जसलाई अहिले राजगिर भन्ने नामले चिनिन्छ) जाँदा र फर्कंदा वैशालीमा बस्दथे। एकपटक उनले अम्बपालीको आतिथ्य पनि ग्रहण गरे। जब एकचोटि तथागत वैशालीमा रोकिएका थिए, त्यहFँ देवताहरूजस्तो देदीप्य लिच्छवि राजपुत्रहरूले भगवान् बुद्धलाई भोजनको लागि गरेको आग्रह भगवान् बुद्धले अस्वीकार गरिदिए। त्यहीं राजनर्तकी वा गणिका अम्बपालीको निष्ठाबाट प्रसन्न भई उनको आतिथ्य स्वीकार गरे। यसबाट गर्वले अभिभूत अम्बपालीले राजपुत्रहरूलाई लज्जित तुल्याउँदै आफ्नो रथ राजपुत्रहरूको बराबरीमा हाँकेर बुद्धको महिमा राजपरिवारभन्दा ठूलो छ भन्ने देखाएकी थिइन्। आम्रपालीले आफ्नो आँपको एउटा बगैंचा भिक्षु सङ्घलाई दानमा दिइन्। यस घटनाबाट एकातिर बुद्धको नारीप्रतिको सम्मान तथा श्रद्धा र सम्मान स्पष्ट हुन्छ भने अर्कोतिर आम्रपालीको वैभवताको पनि सामान्य सङ्केत पाइन्छ।

भाषाको इतिहासमा त यो पनि भनिन्छ कि आम्रपाली सङ्घमा सम्मिलित भएपछि भजनहरू पनि लेखेकी थिइन्। आम्रपालीले बज्जिका भाषामा लेखेका सत्तरीभन्दा बढी भजन उपलब्ध रहेको भनिन्छ तर कहाँ छ र कोसित छ अज्ञात छ। अम्बपालीरचित भजनहरू भगवान् बुद्धसित सम्बन्धित छन्।

भगवान् बुद्धले प्रारम्भमा यशोधरालाई भिक्षुणी बनाउन अस्वीकार गरेका थिए। जब महाराज शुद्धोधनको देहान्त भयो तब प्रजापतिको निष्ठाको अगाडि केही लागेन। प्रजापतिको आफ्नो पनि एक छोरा थिए जो पहिल्यै भिक्षु बनिसकेका थिए, सिद्धार्थ गौतमले त बुद्धत्व नै प्राप्त गरिसकेका थिए, अन्य भाइहरू पनि भिक्षु सङ्घमा सामेल भइसकेका थिए, दरबारका पुराना मन्त्रीहरूसमेत सङ्घका सदस्य भइसकेका थिए। यस परिस्थितिमा प्रजापतिलाई दरबारमा शान्ति र सुख सम्भव थिएन। उनी पनि भिक्षुणी बनिन्। बुद्धले शर्तसहित भिक्षुणीहरूलाई भिक्षुहरूबाट अलग्गै राखेका थिए।

भगवान् बुद्धको अजातशत्रुसित पहिलेको सम्बन्ध र पछिको सम्बन्धमा भिन्नता देखिन्छ भने अम्बपालीसितको सम्बन्ध सर्वदा एकनासको रहेको देखिन्छ। तर बुद्धप्रति वैरभाव मनमा राख्ने अजातशत्रु जब अम्बपाली सन्न्यासिनी भइन् तब बुद्धप्रतिको भावना बदलिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here