राजविराज, २८ जेठ/रासस
सप्तरीको राजविराजस्थित राज रङ्गशाला संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ। पछिल्लो समय रङ्गशालाको पर्खाल ठाउँ–ठाउँमा भत्किएको छ भने प्रवेशद्वारसमेत खुला रहेकाले रङ्गशाला बटुवाहरूको खुला शौच गर्ने स्थल बनेको छ। भएका संरचनासमेत जीर्ण हुँदै गएपछि अहिले रङ्गशाला गौचरणमा परिणत भएको छ। रङ्गशालाको पूर्वी भागको प्याराफिटमुनि करीब २० विपन्न परिवारले बारेर कोठा बनाइ प्रयोग गर्दै आएका छन्।
स्थानीयस्तरका विभिन्न खेलकूद प्रतियोगिताको आयोजना हुँदै आएको यो रङ्गशाला औद्योगिक मेला र राजनीतिक दलको सभा गर्ने स्थलको रूपमा समेत विकास हुन थालेको छ। तर यसको मर्मत, सम्भार र सुरक्षातर्फ सम्बन्धित निकायले चासो देखाउन सकेको छैन। सात हजार दर्शक अटाउने क्षमता भएको प्याराफिटसमेत जीर्ण हुँदा कसैको ध्यान नगएको सप्तरी क्रिकेट सङ्घका अध्यक्ष आयुष श्रेष्ठले बताए।
राज रङ्गशालाको जीर्ण प्याराफिटको तल्लो भागमा करीब दुर्ई दर्जन परिवार बसोबास गरेका हुनाले राष्ट्रियस्तरको खेलकूद गर्न पनि समस्या हुने गरेको सप्तरी क्रिकेट सङ्घका अध्यक्ष श्रेष्ठको भनाइ छ। अहिले रङ्गशाला खेलाडीले खेल खेल्ने नभई गाईवस्तु चराउने र घाँस काट्ने स्थानका रूपमा परिणत भएको उनको भनाइ छ। राजविराज नगरपालिकाले २१ वर्षअघि नै जिल्ला खेलकूद विकास समितिलाई यसको स्वामित्व हस्तान्तरण गरिसकेको भएपनि समितिले यसको मर्मतसम्भार र संरक्षण गर्न नसकेको आरोप नगरवासीको छ । रङ्गशालाको अतिक्रमित स्थान पनि समितिले खाली गराउन कुनै पहल नगरेको बताइएको छ।
समितिका कार्यालय प्रमुख दिनेश भुजेलले रङ्गशालाको अतिक्रमित स्थान र प्याराफिटमुनि बस्दै आएकाहरूलाई खाली गराउन पटक–पटक सूचना जारी गरे पनि नटेरेको बताए। जीर्ण अवस्थामा पुगेको प्याराफिट भत्केर कुनै बेला पनि ठूलो दुर्घटना हुन सक्ने भन्दै पटक–पटक त्यहाँको बस्ती खाली गराउन जाँदा दुर्घटना भए हामी आफैं जिम्मेवार हुनेछौं भनेर त्यहाँका बासिन्दाले जवाफ फर्काउने गरेको उनको भनाइ छ।
२०३६ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुड्ढो पालामा निर्माण भएको राज रङ्गशाला मुलुककै पुराना रङ्गशालामध्ये मानिन्छ। दुर्ई बिघा ७ कट्ठा १३ धुर क्षेत्रफलमा रहेको रङ्गशालामा कुल ७ हजार दर्शक बस्न सक्ने क्षमता भएको प्याराफिटसमेत रहेको छ। आवश्यक रेखदेख र संरक्षण नहुँदा वर्षायाममा रङ्गशाला जलमग्न हुने गरेको छ। स्थानीयवासी रामकुमार यादवले भने, “ढल व्यवस्थापन र पानीको निकास नहुँदा वर्षायाममा खेलमैदान पानी नै पानीले भरिएको हुन्छ। तर यसप्रति कसैको ध्यान जानसकेको छैन।”