प्रस, परवानीपुर, २७ जेठ/

बिस्कुट उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी ब्रिटानिया नेपाल प्रालि विगत ६ महीनादेखि मजदूरको बन्द र हडतालबाट मुक्त भएको छ। मजदूरको बन्द र हडतालबाट गत डिसेम्बरदेखि वीरगंज–२१ परवानीपुरस्थित ब्रिटानिया नेपाल मुक्त भएर हाल दैनिक करीब २५ टन विभिन्न ब्रान्डका बिस्कुट उत्पादन गरिरहेको छ। उद्योग अहिले २४सैं घण्टा ३ सिफ्टमा सञ्चालनमा छ। कम्पनी व्यवस्थापन स्रोतका अनुसार अहिले करीब स्थायी र अस्थायी गरी २५० जना मजदूर, कर्मचारीले रोजगार पाएका छन्।

“हडतालबाट फिर्ता लिएर कानूनी बाटोबाट न्याय माग्न मजदूर अदालत गएपछि अन्य मजदूरले उद्योग चलाइरहेका छन्,” कम्पनीका एक अधिकारीले भने, “हडतालबाट व्यवस्थापन पक्ष आजित भइसकेको थियो, उद्योग नै बन्द गर्ने निधो गरिसकेको अवस्थामा अहिले उद्योग नियमित चलिरहेको छ।” ब्रिटानिया नेपालले हाल मेरीगोल्ड, टाइगर क्रन्च, डाइजेस्टिभमा सुगर र सुगर फ्री ब्रान्डमा बिस्कुट उत्पादन भइरहेको छ। हाल उद्योगमा तीन सिफ्टमा १६२ जना स्थायी र करीब सयजना दैनिक ज्यालादारीमा काम गर्ने अस्थायी मजदूरहरूले रोजगार पाएका छन्। कोरोना महामारीको दोस्रो चरणमा एक दिन पनि उद्योग बन्द नभएको तर विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण आशिंकरूपमा करीब २० प्रतिशत उत्पादनमा कटौती गरेको र ढुवानीको लागि पनि पर्याप्त मात्रामा सवारीसाधन नपाएको ब्रिटानिया नेपालले जनाएको छ। निषेधाज्ञामा सवारीधनीले गाडी चलाउन मानेका छैनन्, बजार बन्द हुँदा पनि बिस्कुटको माग केही घटेको छ।

गत नोभेम्बरमा उद्योगमा १२ जना मजदूरलाई आचरणविपरीत काम गरेको भन्दै व्यवस्थापन पक्षले निष्कासन गरेपछि दोस्रो सातादेखि उद्योगमा मजदूर हडताल शुरू भएको थियो। लगातार दुर्ई साता उद्योगको उत्पादन ठप्प पार्दै सम्पूर्ण मजदूर हडतालमा उत्रेका थिए। त्यसपछि उद्योगले बल प्रयोग गराइ मूलगेट खाली गरायो र उद्योग सञ्चालन गर्ने वातावरण बनाएको थियो। आन्दोलनरत मजदूर उद्योगको भविष्य हेर्दै काममा फर्के भने निष्कासित १२ जनामध्ये एकजनाले हरहिसाब बुझेर अहिले टेम्पो किनेर चलाउन थालेका छन् भने बाँकी ११ जना मजदूर श्रम अदालत काठमाडौंमा पुनर्बहालीको माग गर्दै पुनरावेदन गरेका छन्।

उद्योगले गत नोभेम्बरमा स्थायी मजदूरहरू सुनेश महतो तत्वा, रवीन्द्र दास, वीरेन्द्र महतो, अजिज मियाँँ, हसरोद्दीन देवान, कमोदकुमार यादव, लालबाबू महरा, सुनील साह, श्रीकान्त पटेल, सुशील पटेल, रामकिशोर पटेल र पप्पु साह कलवारलाई कामबाट हटाएको थियो। श्रम ऐन अनुसार आचरणविपरीतका गतिविधि गरेको भन्दै उद्योग व्यवस्थापन पक्षले उनीहरूलाई हटाएको थियो। दुर्ई वर्षअघि एक अर्ब १३ करोड रुपैयाँमा स्थापना भएको उद्योगमा भारतको वाडिया समूहको लगानी छ। यो उद्योग शुरूमा बाराको सिमरामा स्थापना गर्ने योजना थियो। तर त्यहाँ उद्योग विस्तारका लागि जग्गा नपाइएकोले लिपनीबिर्तामा स्थापना गरिएको हो।

वीरगंजका उद्योगी अशोक बैधले आफ्नो करीब अढाई बिघा जग्गा बेचेपछि परवानीपुरमा कम्पनी स्थापना भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here