संसारमा विनाश विभिन्न किसिमका आइरहन्छन् । कतिपय मानव सिर्जित विनाश हुन्छन् भने कतिपय प्राकृतिक । हुनत प्राकृतिक होस् या मानव सिर्जित अधिकांश विपत्ति तथा विनाशमा मानवीय क्रियाकलापको मुख्य भूमिका हुन्छ । कोभिड-१९ भन्दा पहिले पनि धेरै महामारी तथा विनाश मानवसमाजले भोगिसकेको छ । कोभिड-१९ मानवले सिर्जना गरेको विपत्ति हो वा विशुद्ध प्राकृतिक भन्नेबारे अझै विश्व एकमत छैन । मानवले निम्त्याएको प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्धलगायतका विनाश पनि मानवको लागि कम निराशाजनक थिएन । जस्तोसुकै विनाश वा विपत्ति होस् त्यसबाट सकभर मानव आफूलाई सुरक्षित राख्न चाहन्छ । उक्त चाहनामा कैयौं सफल हुन्छन् भने कैयौं असफल । आपत्, विपत् वा सम्भावित दुर्घटनाबाट बच्नका लागि सबैभन्दा ठूलो हतियार स्वस्थ मनस्थिति हो । मानवको मनस्थितिलाई धेरै कुराले प्रभाव पारिरहेका हुन्छन् । आफ्नो मनमस्तिष्क आफ्नै नियन्त्रणमा रहे मात्रै मानवले विपत्तिविरुद्ध जुझ्न सक्ने हो । आत्तिएको, हताश वा त्रसित मनस्थितिले झन् दुर्घटना निम्त्याउँछ । त्यसैले हाल चलिरहेको विश्वव्यापी महामारीबाट बच्नका लागि पनि सबैभन्दा पहिले उच्च मनोबल हुनुपर्ने विज्ञहरूले सुझाएका छन् ।
मनस्थितिलाई मुख्यतः आसपासका वातावरणले प्रभावित पार्छ । बाहिरी प्रभावको तरङ्ग अर्थात् अनुकम्प शरीरका बाहिरी इन्द्रियहरूको माध्यमबाट सीधैं मानवको हृदय तथा मनमस्तिष्कमा पर्छ । मनमस्तिष्कबाट शरीर परिचालित हुने हुँदा यसले पूरै शरीरलाई प्रभावित गर्छ । प्राप्त सन्देशलाई मनमस्तिष्क वा हृदयले जे ठहर गर्यो, शरीरले त्यसलाई सोहीरूपमा ग्रहण गर्छ । भनिन्छ नि पानीलाई पनि विष नै हो भन्ठानेर पिइयो भने मानिसको मृत्यु हुन सक्छ । विषै नहुने सर्पले टोकेर मानिसको मृत्यु भएका घटनाहरू प्रशस्तै छन् । गत वर्ष सिराहाको एक गाउँमा सर्पदंशबाट एक महिलाको मृत्यु भएपछि सर्पदंशकै आशङ्कामा सोही स्थानका थप १४ जना अचेत बने । समयमैं उनीहरूको देखभाल भएपछि होसमा फर्किए । आखिर उनीहरूमध्ये कसैलाई काँडाले घोंचेको, कसैलाई सिरुले काटेको त कतिपयलाई कमिलाले टोकेको रहेछ ।
विपत्को बेला मानिसलाई थप त्रास र निराश हुन दिनुहुँदैन । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म आइसोलेशनमा बसेका, अन्यत्रबाट आएर क्वारेन्टाइनमा बसेका र सङ्क्रमणसँग लडिरहेका बिरामीको यसै पनि मनस्थिति त्रसित, अस्थिर र एक्लोपनको कारण निराशाजनक हुन्छ । सङ्क्रमणमुक्त भइसकेकाहरूमा समेत लामो समयसम्म निराशा, उदासीपन र त्रासको भाव देखिन्छ । यस्तो अवस्थामा उनीहरूलाई आशा, उत्साह एवं मनोबल उच्च रहने किसिमको वातावरण आवश्यक छ । वर्तमान युगमा मानवको भरपर्दो साथी समाचारमाध्यम एवं सामाजिक सञ्जालहरू हुन् । तर त्यही साथीले हरेक क्षण शोक, समवेदना, आँसु र विनाशका कथाहरू बोकेर आइरहेका छन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका एक विद्यार्थीले हालै तयार गरेको शोधपत्रमा ॅकोरोना सङ्क्रमित अवस्थामा मस्तिष्कघात हुने मुख्य कारण मनोदशा’ भनेको छ । मनको अवस्था सही नरहेमा औषधिले काम गर्न नसक्ने शोधपत्रमा उल्लेख छ । यसर्थ मनोदशा पैmलाउने सामग्रीभन्दा सफलता एवं मनोरञ्जन तथा चेतनामूलक सामग्रीहरूलाई बढावा दिन जरुरी छ ।