रोग, शोक, मरण–हरण मानिसका सबभन्दा ठूला विपत्ति हुन्। यसो त भनिन्छ मानिस ज्यूँदाको जन्ती र मर्दाको मलामी हो। आजको आधुनिक जीवनशैलीले यस उखानलाई धेरै हदसम्म विस्मृत तुल्याइदिएको छ। अब मानिस–मानिसबीच त्यो आत्मीयता र चासो रहेन। मानिसका लागि ठूलो कुरा सम्बन्ध हो। सम्बन्धको सरोकार संस्कृतिसँग छ र आधुनिक जीवनशैलीले सम्बन्ध धरापमा पर्दै गएको छ, शारीरिक र मानसिक दुवैरूपमा। यसको पछाडि शहरीकरण पनि अर्को कारण छ। शहर भन्नेबित्तिकै विभिन्न ठाउँमा आएर बसोवास गर्ने व्यक्ति। आजीविकाको बोझिलो परिपाटीले परस्पर मानवीय संवेदना नै उत्पन्न हुन दिंदैन। छिमेकी–छिमेकीबीच पनि चिनजान र परिचय हुँदैन भने सम्बन्ध कसरी स्थापित हुने ? सम्बन्धविना केको जन्ती र केको मलामी ? खासगरी कोरोनाले गर्दा आफन्तबीच पनि जन्ती र मलामीको सार्वभौम सत्यलाई नामेट पार्न थालेको छ। कहाँ नाता–गोतामा मरण हुँदा नून बारेर आत्मीयता प्रकट गर्ने चलन र कहाँ आफ्नै परिजनको जन्त र मरण पनि त्याग्नुपर्ने बाध्यता ?

अहिले त शहरीकरणभन्दा पनि ठूलो परिधिमा वैदेशिक रोजगारले परिवार–परिवारबीचको सम्बन्धलाई तोड्न थालेको छ। पति विदेशमा छन् भने पत्नी अर्कासँग सल्किने, पत्नी विदेशमा छिन् भने पतिले जोसुकैलाई ताक्ने। पति–पत्नीको सम्बन्ध समाज, धर्म, कानूनभन्दा शारीरिक आवश्यकताका लागि पनि हो। यो पनि भोक हो। मानिसले धेरै दिन यो भोक सहन सक्दैन। उसमा कुसंस्कारले फणा उठाउन थाल्छ र अन्ततः बाराको महिलाको हविगत हुन पुग्छ, जसले न शारीरिक भोक नै मेटाउन सकिन्, पति र परिवारबाट परित्यक्त हुन्छिन् र भएका दुई भाइ छोरा पनि गुमाइन्। यो त प्रतिनिधि घटनामात्र हो। प्रायः विदेशिएको परिवारमा यस्तै घटना हुने गरेको देखिएको छ। यसको पछाडिको कारण विश्लेषण गरी तदनुरूप कानून निर्माण र अझ त्योभन्दा पनि वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता नहटाउन्जेल यस्ता समस्याको कुनै समाधान खोज्न सकिंदैन। पेटको भोक पहिलो आवश्यकता हो, त्यसपछि शारीरिक भोक। पेटको भोक मार्ने तारतम्य मिलाउन एकथरी विदेश जाँदा घर बस्ने अर्कोथरीलाई शरीरको भोकले सताउन थाल्छ। अनि बाराकी अन्सारीको हविगत भोग्नबाट कसैले रोक्न सक्दैन।

हाम्रो समाज आज एउटा द्विविधात्मक बाटोमा छ। स्वदेशमा आजीविकाको जोहो कठिन छ, विदेश जानैपर्छ। विदेश जाँदा माथिको घटना स्वाभाविक बन्न जान्छ। यस्तो घटना नहोस् भन्नका लागि यौन स्वतन्त्रतासम्बन्धी कानून बनाउनुपर्ने हुन्छ, जुन समाजलाई कुनैै पनि किमतमा मन्जुर हुनेछैन। तर त्वरित समाधान चाहिएको छ। विनाकुनै हानि यसको व्यवस्थापनको एउटै बाटो छ, स्वदेशमा रोजगार। जुन नेपालको सरकारले कहिल्यै गर्न सक्दैन। समाजले यसको बाटो खोज्नु भनेको पुरानो सामाजिक मूल्य मान्यतामा परिमार्जन, व्यापक सोचका साथ वर्तमान संरचनामा परिवर्तन मात्र हुन सक्दछ। यो बेग्लै कुरा हो कि सामाजिक मूल्य र मान्यतामा परिवर्तन एक दुई दिन वा वर्षमा हुने कुरा होइन, यसका लागि कम्तिमा दुईतीन पुस्ता नै लाग्छ। तर आवश्यकता छ भने यसको पूर्ति त हुन्छ नै, ढिलो वा चाँडो। ढिलो भयो भने थुप्रै परिवारको बिजोग हुन्छ, धेरै जीवन अभिशप्त जीवन बाँच्न विवश बन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here