राजेश मिश्र
बुहारीः काकीजी, पैंचा दु डिबा चाउर दिं ना, घर में चाउरे नैखे, लइकासन खाएला रोवता (काकी हजुर दुई डिब्बा चामल सापटी दिनुस् न, घरमा चामल छैन, बच्चाहरू खानको लागि रोइरहेका छन् ।)
छिमेकीः ए पतोह, चाउर त हइले नैखे हो, रल जवन चाट पोंछ के एहबेरा ओरा गइल (ए बुहारी, चामल त छँदै छैन, जति थियो अहिले खाना पकाउँदा सकियो ।)
बुहारीः खुदीओ नइखे काकीजी ? अगर उहो नइखे त दु गिलास माडे दे दीं (के खुदी पनि छैन काकी हजुर ? यदि त्यो पनि छैन भने दुई गिलास माड दिनुहोस् ।)
देहातको उपरोक्त संवादमा एक महिलाले सासू पर्ने आफ्नी छिमेकी महिलासँग अन्न मागिरहेकी छन् । उनको घरमा खाद्यान्न थिएन । बिहानको एघार बजेसम्म चुलो बलेको थिएन । बच्चाहरूलाई भोक लागेको थियो । उनीहरूलाई खाना चाहिएको थियो । खानाको लागि क्रन्दन गरिरहेका बच्चाहरूको भोक मेटाउन आमालाई चिन्ता हुनु स्वाभाविक थियो । छिमेकीसँग सहयोग माग्नुको विकल्प थिएन । चामल वा खुदी वा माड जे भएपनि छिमेकीसँग उनी पंैचौ मागिरहेकी थिइन् । छिमेकी परिवारको हालत पनि उनीभन्दा राम्रो थिएन । यद्यपि आफ्नो छाकबाट भात र तरकारीका साथै खुदी र माड दिएर छिमेकी महिलाले आफ्नी छिमेकी बुहारीलाई यथाशक्य सहयोग गरिन् ।
कोरोना महामारीकोे पहिलो लहर अर्थात् गत वर्षको आर्थिक र मानसिक पीडा कम नहुँदै यो दोस्रो लहरले पीडा थप गरिदिएको छ । कोरोना महामारीमा कम वा धेरै हरेक क्षेत्र प्रभावित छ । यद्यपि दैनिक ज्यालामा निर्भर वर्ग र साना व्यवसायीलगायत मध्यम श्रेणीका नागरिकमा खाना, उपचार र ऋण आदिको चिन्ताले मानसिक तनाव बढ्दो छ । स्थानीय तहले चाहेमा यस्तो बेला आमजनलाई भरोसापूणर् आश्वस्त गर्न सक्छ ।
पर्साको वीरगंजदेखि झन्डै पच्चीस किलोमिटर पश्चिमतर्फ अवस्थित जगरनाथपुर गाउँपालिकाको वडा नं ५ चिलझप्टीको प्रसङ्ग गत साता चर्चामा रह्यो । सङ्क्रमितहरूको मृत्यु, सुनसान गाउँ तथा चिकित्सकको टोली पुग्दा मानिसहरू सरेहतर्फ भागेका विषयहरू सञ्चारमामध्यमहरूको केन्द्रबिन्दुमा रह्यो ।
स्थानीय सर्वसाधारण (राजनीतिक दलबाहेक) मानिसहरूसँग ग्रामीण मनोविज्ञान बुझ्ने प्रयास मैले पनि गरें । सङ्क्रमित भएकाहरू प्रायः अतिनिम्न र मध्यमवर्गीय परिवारका छन् । उनीहरूको मनमा बसेको मनोविज्ञान अर्थपूणर् छ । एक, सरकारी अस्पतालमा गरीबहरूको बेवास्ता मात्र होइन पहुँचको आधारमा सरकारी सुविधासहितको उपचार पाइन्छ । दुई, निजी चिकित्सालयहरूको महँगो उपचार थेग्न सकिंदैन । तीन, कोरोना सङ्कटभन्दा पनि खेतीको चिन्तालगायत अनेक विषयले उनीहरूको मनमा जरा गाडेको पाइन्छ । के उनीहरूको मनमा जरा गाडेको मनोविज्ञान असान्दर्भिक भन्न सकिन्छ ? संक्षिप्तमा भन्नुपर्दा चिलझप्टी मात्र होइन अहिले ग्रामीण जीवनलाई गाँसको साथै चिकित्सकीय सेवाको विषयमा आश्वस्त पार्ने नियत अङ्कुरित हुनु जरुरी छ । सामाजिक मनोविज्ञान सूक्ष्मरूपमा बुझ्ने र पहल गर्ने नेतृत्वदायी सरोकार अपरिहार्य छ ।
सरकारी अस्पतालको वातावरण आपैंmमा बिरामीयुक्त छ । त्यस्तै, निजी अस्पतालहरूको चिकित्सकीय सेवा सम्पन्नबाहेकका बिरामीहरूका लागि आभूषण/सम्पत्ति बिक्री गर्नुको विकल्प छैन । उच्च हैसियत भएकाहरूका लागि उपचारमा लाखौं रकम खर्च गर्नु कठिन नहोला । यद्यपि सामान्य नागरिक स्वास्थ्य सेवाको आधारभूत सुविधाबाट वञ्चित हुनु भनेको संविधानमा अङ्कित मूल्य-मान्यताको चरम अपमान हो ।
ॅमुखमा राम राम बगलीमा छुरा’ भनेजस्तै अस्पतालहरूको व्यवहार नहोस् । टेम्पुमा बिरामी बोकेर अस्पतालको चक्कर काट्नुपर्ने जस्तो अमानवीय व्यवहार कुनै पनि बिरामीले खेप्नुनपरोस् । बिरामीप्रतिको सेवाभावना केवल पैसामा निर्भर छ। व्यापारमुखी हुनुको पछाडि अनेक कारणमध्ये अत्यधिक ऋण लिएर निर्माण भएका चिकित्सालयहरूको एकमात्र ध्येय जसरी पनि पैसा आर्जन हुन गएको छ । मानवीयता भएका निजी चिकित्सालयहरू छैनन् भन्ने होइन तर सङ्ख्यात्मकरूपमा अति न्यून छन् ।
झन्डै चार दशकअघिको कुरा अहिलेसम्म पुरनियाहरूको स्मरणमा ताजा छ । तत्कालीन राजा वीरेन्द्रले स्वास्थ्य सेवा प्रवाहको बारेमा गरेको छड्के जाँच चर्चायोग्य छ । छड्केको क्रममा उनी एकपटक पर्साको तत्कालीन सतवरिया (हाल पोखरिया अस्पताल) अस्पताल आइपुगे । त्यति बेला निजी अस्पतालहरू थिएनन्, नत्र उनीहरू पनि छड्केमा पर्थे होलान्। स्वास्थ्य सेवाको प्रभावकारिताबारे उनी प्रत्यक्ष अनुभूति गर्न चाहन्थे । मध्यरात्रिमा राजाले अस्पतालसँगै रहेको आवास क्षेत्रमा पदार्पण गरे । चिकित्सकको कोठासम्म पुगे । धेरैबेरसम्म आवाज लगाए पनि स्वास्थ्यकर्मीको कानसम्म उनको आवाज पुगेन । त्यसपछि ढोका ढकढकाउन थाले । यद्यपि ढोका खुलेन । स्वास्थ्य सेवासम्बन्धी अव्यवस्थाको पराकाष्ठा उनले स्वअनुभूति गरे । पुरनियाहरू भन्छन्, अन्तिमपटक उनले ढोकाको सिक्री जोडले ठटाउन थालेका थिए रे। अन्ततः ढोका खुल्यो । स्वास्थ्यकर्मीले आँखा मिच्दै नानाथरीका कुरा सुनाउन थालेका थिए । निद्रा भङ्ग भएकोले स्वास्थ्यकर्मी रोषमा थिए । भोलि दश बजे आउनु भन्दै ढोका बन्द गरे । राजाको आदेशानुसार तत्कालै ती स्वास्थ्यकर्मीलाई पदमुक्त गरिएको थियो ।
अहिले कोरोना महामारीको बेलामा अनेक प्रकारले सर्वसाधारण मानिस ठगिइरहेका छन् । अस्पताल, औषधि र खाद्यान्न आदिमा दोहन प्रवृत्ति छताछुल्ल छ । दशकौंदेखि गिद्ध नामक पक्षी लोपोन्मुख छ । तर किन ? किनभने मानिसमा गिद्धप्रवृत्ति हावी छ । गत वर्षदेखि अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाउनेहरूमा कैयौं कर्तव्यपरायण चिकित्सक, नर्स तथा प्रहरीहरू छन् । यद्यपि आँखाबाट हेर्न नसकिने एक सूक्ष्म जीवको कारण आइपरेको अभूतपूर्व सङ्कटमा मानवबीच नै केही मानिस यस्ता छन्, जो यो आपदालाई अवसरको रूपमा हेरिरहेका छन् । आज मुनाफाखोर र अवसरवादीहरूलाई गिद्धसँग तुलना गरिंदैछ । यदि रामायणको जटायु जस्तै आजको गिद्ध बोल्न सक्ने भए उनीहरूले भन्थे, “हे मनुष्य १ तिमीहरूले गर्ने कालोधन्धामा हाम्रो नाम बदनाम गर्न छोडिदेऊ ।”
अनेक बेथितिहरूका बीच सकारात्मक प्रकृतिका पेशाकर्मीहरूका कारण समाज आशान्वित छ । कोरोनाको यस सङ्कटकालमा आफ्नो कर्तव्यपथमा अग्रसर चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा प्रहरीहरू पनि छन्, जो ज्यानको परवाह नगरी अहोरात्र खटिरहेका छन् । त्यस्तै, दया, करुणा र सहानुभूतिका प्रतिमूर्ति बनेर असहायहरूको मदतमा उभिरहेका मानवताप्रेमी पात्रहरूको कारण आमजनको ह्दयमा आशा र विश्वासको सञ्चार भइरहेको छ । यस्तो प्रतिकूल अवस्थामा सुरक्षाको दृष्टिकोणले मानिसहरू घरभित्र रहेका बेला उनीहरू आफ्नो ज्यानको बाजी लगाएर अहोरात्र सेवामा समर्पित छन्। असहायहरूका लागि खाना र उपचारको प्रबन्धनमा उभिरहेका कुशल पात्रहरूबाट समाजले पाठ सिक्नुपर्छ । गाउँहरूमा मास्क बाँडेर सामाजिक जागरूकता फैलाउने कार्य प्रशंसायोग्य छ । यद्यपि कसको घरमा चुलो बलेन ? को भोको छ ?
को बिरामी छ ? कसलाई उपचारको खाँचो छ ? लगायतका विषयमा सामाजिक अभियान आवश्यक छ । उपरोक्त कथाझैं एकअर्काको सहारा बन्ने संस्कार ह्दयमा अङ्कुरित हुनु जरुरी छ ।