जीतलाल श्रेष्ठ, निजगढ, १ जेठ/
डिभिजन वन कार्यालय, बाराले यस वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेको छ । वन कार्यालयले आफ्नो कार्यालय मातहतको खाली परिसरमा दुई लाख पचास हजार बिरुवा उत्पादन गर्ने सक्ने उच्च स्तरको टनेल निर्माण र नर्सरी स्थापना गरी मसला, टिक, सजीवन, महोगनी (मलेशियन साल), शिरिष, ईपिल, जामुन, सिसौ, सिमललगायत बिरुवा उत्पादन गरेको छ ।
यसरी उत्पादित बिरुवा सरकारी वन क्षेत्र, निजी वन क्षेत्र, सामुदायिक वन क्षेत्र, साझेदारी वन क्षेत्रमा समेत रोप्र्न सकिनेगरी उत्पादन गर्दै आएको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले जानकारी दिए । यहाँ उत्पादन हुने बिरुवा निश्शुल्क वितरण गर्ने जसका लागि आवश्यक प्रक्रिया भने पूरा गर्नुपर्ने उनले जानकारी गराए ।
निजी वनका लागि जग्गाधनीले बिरुवा उपलब्ध गराउन आवश्यक कागजातसहितको आवेदन वन कार्यालयमा उपलब्ध गराएसँगै बिरुवा रोप्ने जग्गा, जमीनको वन प्राविधिकको टोलीले स्थलगत अनुगमन एवं निरीक्षण गर्ने र सो प्राविधिक टोलीले दिएको प्रतिवेदन अनुसार नर्सरीमा उत्पादन गरिएका बिरुवा वितरण साथै आवश्यक परामर्शसमेत प्रदान गर्दै आइरहेको डिवका प्रमुख अहमदले भने ।
यसरी निजी जमीनमा बिरुवा रोपण गर्दा राष्ट्रिय वन, सामुदायिक, साझेदारी वनमा पर्ने वन पैदावरको चाप न्यूनिकरण हुने र जग्गाधनीले अन्य बाली भन्दा राम्रो आय गर्ने उनले बताए । “हामीले जिल्लाको उत्तरीभेगका साथै दक्षिणीभेगमा पनि निजी वन लगाउन प्रोत्साहन दिंदै आएका छौं । त्यसले केही वर्षभित्रै घाँस, दाउरा, सोत्तरसँगै वन पैदावर उपयोग गर्न सकियोस्”—उनले भने । वन क्षेत्र बाक्लिंदै जाँदा वर्षायाममा भारी वर्षा हुने र पानीको सतह माथि रहिरहने जसले गर्दा खेतीबाली लगाउन पानीको स्रोत कायमै रहोस् भन्ने पनि उद्देश्य रहेको उनले बताए ।
गत राष्ट्रिय वृक्षारोपण वर्ष अन्तर्गत यस वर्ष देशभर ५ करोड बोट बिरुवा रोपण गर्ने लक्ष्य सरकारले लिएसँगै बारामा लगभग ३ सय ५० हेक्टर क्षेत्रफलमा ६ लाख वृक्षारोपण भएको थियो । सङ्घ र प्रदेशको निर्देशन अनुसार गत वर्ष १० लाख बिरुवा उत्पादन गर्ने लक्ष्यसहित डिभिजन वन बारा लक्ष्य प्राप्तिका लागि अघि बढेको हो ।
यसमा विभिन्न प्रजातिका ६ लाख र ३ हजार ५ सय फलफूलका बिरुवासमेत रहेको छन् । डिभिजन वन कार्यालय बारा मातहतका नर्सरी सिम्रौनगढ, बरियारपुर, कलैया, फेटा, त्रिवेणी, डुमरवाना, तामागढीलगायत स्थानमा रहेका छन् ।