• राजेश मिश्र

‘ओहबेरा खरबिरुवा दवाई हीं देहाती जीवन में संजीवनी रहे’। उनी समुदायिक रूपमा मात्र पहाडी हुन्। यद्यपि पर्साको देहात उनको पुस्तैनी परिचय हो। यहीं माटोमा उनी जन्मे र हुर्के। उनीसँग भाषिकरूपमा नेपाली वा भोजपुरीमा कुरा गर्दा कुन समुदायका हुन् भन्ने कुरा छुट्ट्याउन सकिंदैन। जीवनकालमा उनी विभिन्न प्राकृतिक बाधा विघ्नका साक्षात् भुक्तभोगी पनि हुन्। पछिल्लो समय जनजीवनमा कहरको रूपमा उदय भएको कोरानाकाल पनि छिट्टै समाप्त हुने कुरामा उनी पूर्ण विश्वस्त छन्।

विगतका प्राकृतिक आपदाहरूका प्रत्यक्षदर्शीसँग भेट्ने अपेक्षालाई ललन (द्विवेदी) दाइको साथले उत्साह प्रदान ग–यो। वैशाख महीनाको टण्टलापुर घाम र हावाहुरीले उडाएको धूलोले पनि हाम्रो यात्रा प्रभावित गर्न सकेन। एक वृद्धसँग भेट भयो। उनीसँग विभिन्न प्रसङ्गमा भएको भलाकुसारीको सङ्क्षिप्त अंश प्रस्तुत छ।

 ‘बाबूसाहेब’ उपनामले समेत चिनिने पर्सा जगरनाथपुर गापा–४ सन्ठीका उनी हुन्, ९८ वर्षीय वृद्ध सीताराम सिंह क्षत्री।

                शारीरिक तन्दुरुस्ती, जोश, जाँगर र स्वर आदिले उनी वुद्ध हुन् भन्ने कुरा ठम्याउन मुश्किल पर्छ। मझौला कदकाठी, स्वेतवर्ण र हँसिलोे अनुहारका धनी उनी ठ्याक्कै आफ्ना बुबा लक्ष्मीचन्द सिंह क्षत्रीको प्रतिरूप भएको गाउँलेहरू बताउँछन्। उनी आफ्ना दिवङ्गत समकक्षीहरू शङ्कर राउत, बागड ठाकुर, रामायण राउत र चनरमन राउत लागायतलाई प्रायः सम्झिरहन्छन्।

तत्कालीन औहारा गाउँ पञ्चायत–सन्ठीको वडा अध्यक्षको जिम्मेवारी वषौंसम्म निर्वाह गरे। अहिले पनि व्यक्तिगत वा सामाजिक समस्या समाधानमा उनको मध्यस्थता आवश्यक ठानिन्छ। हाल बसाइको क्रममा सन्ठी र वीरगंज ओहोरदोहोर भइरहन्छ। यद्यपि गाउँमा रहुन्जेल गाउँलेहरू समस्या लिएर आइरहन्छन्।

एक प्रसङ्गमा भावुक हुँदै उनी भन्छन्– “बाल्यकालमा सधैं बच्चा नै रहने तथा हजुरबुबा, हजुरआमा, आमाबुबा, आफन्तजन तथा गाउँका बूढापाकाहरू जस्ताका त्यस्तै छन् भन्ने लाग्थ्यो। कसैले र कहिल्यै पनि सदाका लागि छाडेर परलोक जान्छन् भन्ने लाग्थेन।” झन्डै डेढ दशक अघि पत्नी छाडेर परलोक गइन्। यद्यपि विभिन्न आरोह–अवरोहका बावजुद परिवार, छिमेकी तथा गाउँलेहरूको अपनत्व र ममत्वले बाँचिरहेको छु।”

भारत, बिहारको तिरहुतबाट आएका गुरुजनहरूबाट अनौपचारिक शिक्षा हासिल गरेको उनी बताउँछन्। उनी भन्छन्–“पढ्नको लागि भुइँमा बनाउने पाटा र लेख्ने खली (चक) तयार पार्न गङ्गोल नदीबाट माटो ल्याइन्थ्यो। माटोले आयताकार पाटा तथा चक आफैंले बनाउनुपर्दथ्यो। उहिले बाँसको कोइनको कलम मसीमा पटक–पटक चोप्ने र लेख्ने काम हुन्थ्यो।”

गुरुजनबाट नाप्ने र जोख्ने शिक्षा जस्तै कनवा, रूवा, सावा, डेढा, अढैया, ढइँचा आदि सिकेको बताउँछन्। सीमावर्ती बजारमा मनोहर पोथी पाइन्थ्यो। अभिभावकजन सीमावर्ती बजारबाट छोराछोरीको लागि ‘मनोहर पोथी’ किनेर ल्याइदिन्थे। आकारमा पातलो र सानो भएपनि उक्त पुस्तक शिक्षाको सागर नै थियो।

त्यतिबेला सरकारी सेवाको सवालमा मनोहर पोथीको ज्ञान नै काफी थियो। कतिपय पढेलेखेका व्यक्ति नोकरीको सन्दर्भमा टाढा जाने अनुमति अभिभावकजनबाट पाउँदैनथे। अभिभावक वर्ग के भन्थे भने ‘हुँह नोकरी करे जइहन, जेतना बा ओतना त सगिंरहा करेवाला आ खाएवाला केहु हइले नइखे।” उतिबेला पहडा (अङ्कतालिका) र बिटकहरा (समान दुई अङ्कको गुणन) जान्ने व्यक्तिलाई नोकरीको अभाव थिएन। अङ्ग्रजीको पढाइ धेरैपछि शुरू भएको हो। गाउँमा विद्यालय स्थापना गर्नुपर्छ भन्ने अभिलाषा नेराप्रावि सन्ठीको रूपमा झन्डै साढे तीन दशक अघि उनले पूरा गरे।

महाभूकम्प

विसं १९९० को महाभूकम्पको महीना स्मरण नभए पनि जाडोयाम र सोमवारको दिन भने याद छ, उनलाई। भदौमा रोपेको ‘सारो’ धान अगहन (मङ्सिर) मा काटिन्थ्यो। त्यसलाई ‘अगहनी’धान भनिन्थ्यो। धानको कटनी अघि ब्रह्म विष्णुको पूजा अनिवार्य गरिन्थ्यो। अगहनी धानको दाइँ गर्ने काम चलिरहेको थियो। त्यसैले सम्भवतः पुस वा माघ हुनुपर्ने सम्भावना उनी बताउँछन्।

सहपाठीहरूसँग बिहानदेखि फूलबारीमा खेल्दाखेल्दै कति बेला ११ बज्यो, थाहै भएन। भोक लागेपछि खाना खान सबै आआफ्नो घर हिंडे। उनी घरभित्र छिर्नेबित्तिकै ‘आमा, भोक लाग्यो’ भन्दै कराउन थालेका थिए। खाना खानै लाग्दा जमीनमुनि हलचल महसूस भयो। घर हल्लिन थालेको थियो। चारैतिर भागमभाग मच्चियो। घर, झमडा र रूख आदि भुइँमा टाँसिने गरी हल्लिरहेका थिए। इनार भित्रको पानीको छाल माथिसम्म पुगिरहेको थियो। जमीनमा धाँजो फाटेर यत्रतत्र पानीको भेल बगिरहेकोे थियो।

वीरगंको मुख्य रोडमा उतिबेला रेल चल्थ्यो। विसं १९९० को महाभूकम्पपछि अहिलेको इनरबाइस भनिने रोडमा रेलमार्ग परिवर्तन गरिएको थियो। वीरगंजमा झन्डै एक सय पचास जति घर थिए। ती घर पूर्ण क्षतिग्रस्त भएको थियो। उनलाई सम्झना भए अनुसार वीरगंजको प्रसिद्ध अलखिया मठ र तारणी विक्रम शाह (बिबीहजुर) को छपकैयास्थित भवन मात्र बचेको थियो।

खरबिरुवा औषधि

एक प्रसङ्गमा उनी भन्छन्–“उति बेला स्वास्थ्य उपचारको सवालमा बूढापाकाको अनुभव र ‘खरबिरुवा’ (स्थानीय झारपात/वनस्पति) दवाईको विकल्प थिएन। जटिल समस्या भएमा औंलाका गिन्तीमा रहेका वैद्यलाई बोलाउन कोसौं टाढा जानुपथ्र्यो।” झन्डै ३० किमि टाढा रहेको सीमावर्ती गाउँ जैतापुर–लौकरीया कैयौंपटक गएको उनलाई झल्झली सम्झना छ। ज्वरोको विभिन्न नाम थियो जस्तैः बाइरोग (ज्वरोमा बरबराउने), जडैया (ज्वरोमा काम्ने), म्यादी, कालाजर र मलेरिया आदि। गाउँका बुजुर्गहरू ज्वरोको प्रकृति हेरेर कुन ज्वरो हो ? कुन खरबिरुवा औषधि प्रयोग गर्नुपर्छ भन्ने कुरा सुझाउँथे।

उनी भन्छन्–“सबके नाम इयाद नइखे, कुछ नाम इयाद बाटे जैसेः गुमा के झार, शहदइया (शहद जस्तै गुलियो), हुरहुर के पत्ता (सम्भवतः हर्रे) औरी भी बहुतसारा झारपात सब बेमारी में दियाय।” जटिल अवस्था भएमा टाढाबाट वैद्य बोलाएर ल्याउँदासम्म कतिपय बिरामीको ज्यान गइसक्थ्यो।

दुहाई सरकार के

राणा शासनकालमा घण्टाघरको पूर्वपट्टी सुवर्ण शम्शेरको जग्गामा प्रशासनिक कार्यालय थियो। कार्यालय प्रमुखको ओहोदामा एकजना सैनिक जर्नल बहाल थिए। सेवा प्रवाहको सवालमा उनी चर्चित पात्र थिए। पीडित मानिस कार्यालय अगाडि उभिरहन्थे। जर्नेललाई छतमा देख्नेबित्तिकै पीडितहरू गुहार लगाउँथे– दुहाई सरकार के १ ती अधिकारीले तल्लो कर्मचारीलाई तुरून्त कुरा बुझ्न आदेश दिन्थे। पीडितको कुरा बुझेर विपक्षीको नाममा सूचना टाँस भएसँगै कारबाई प्रक्रिया प्रारम्भ हुन्थ्यो। निरूपणको काम अहिलेजस्तै ढिलो हुँदैनथ्यो।

वैवाहिक जीवन

उनको बिहे गाउँमैं र घर नजीकै भएको रहेछ। दुलही थिइन् सुमित्रादेवी। उसो भए दुलहीसँग तपार्इंकोे पहिलेदेखि नै चिनजान होला नि ? भनी सोध्दा हाँस्दै उनले भने–“एके गाँव में घर भइला से ना चिन्हल, ना देखल बाते नइखे।” बिहे गर्न उनी पालकी चढेर गएका थिए। दुलहीको लागि सुनको तिलहरी, सातवटा मुन्द्री र चाँदीको माठा लगिएको थियो। विवाहपछि पति कृषि कार्य र पत्नी घरसारको कार्य सम्भाल्न लागे। दुई छोरा, एक छोरीको आगमनले परिवारिक जीवनमा खुशी थप भयो।

त्यतिबेला अहिलेको जस्तो वैवाहिक तडकभडक थिएन। उनी भन्छन्–“हाम्रो पालामा पहाडी वा मदेसी कुनैपनि समुदायमा दहेज शून्य विवाह हुन्थ्यो।”

तन्दुरूस्तीको राज

उनी आफ्नो तन्दुरूस्तीको राज केही नभएको बताउँछन्। गाईभैंसीको शुद्ध दूध, घ्यू र आफ्नै बारीमा आफैंले उब्जाएको विषादिरहित अन्न र तरकारी खाइन्थ्यो। खेती किसानीसँगै झन्डै तीस वर्ष उनले कुश्ती खेलेका रहेछन्। उहिले प्रत्येक गाउँमा कुश्ती खेल्ने चलन थियो। उतिबेला गाउँमा प्रहरी हुँदैनथे। चोरी र डाँकाजनी सामान्य थियो। त्यसैले स्वास्थ्य तथा सुरक्षाका दृष्टिले शारीरिक तन्दुरूस्ती आवश्यक ठानिन्थ्यो।

 उहिले शारीरिक श्रम खूब हुन्थ्यो। उनको सम्झनामा वीरगंजको यात्रा अहिलेसम्म ताजा छ। दही, चिउरा, चिनी साथमा लिएर वीरगंज गइन्थ्यो। पर्साको ग्रामीण क्षेत्र जोड्ने प्रसिद्ध तिलावे नदी पुगेपछि स्नान गरिन्थ्यो। दही–चिउरा खाएर पुनः यात्रा शुरू हुन्थ्यो। वीरगंजबाट फर्कंदा तिलावे नदी पार गरेपछि दौडिंदै घर पुगिन्थ्यो। उनी भन्छन्–“उहिले सबैजसो काम शारीरिक श्रममा निर्भर थियो। त्यसैले मानिस बलवान, हृष्टपुष्ट र दीर्घजीवी हुन्थे।

आपदाको बेला आत्मसयंम

कोरोनाकाल भन्दा पनि जटिल प्रकोपहरूको इतिहास छ। उहिलेका मानिस शून्य संसाधनका बावजूद जुन रूपमा प्रकोपहरूको सामना गर्थे, त्यसैको परिणाम अहिलेका पुस्ता विविध संसाधन र सुविधासहित जीवन बाँचिरहेका छन्। सामान्य समयको तुलनामा आपदाको बेला आत्मसयंम र सावधानी बढी आवश्यक हुन्छ। विगतका आपदा विलय भएजस्तै कोरोनाकाल पनि अवश्य नै विलय हुनेछ।

वनजङ्गलको फँडानी रोक्नुपर्छ। रूखबिरुवा रोप्नुपर्दछ। पीपल र तुलसी आदि वनस्पतिको महत्व बुझ्नुपर्दछ। भनिन्छ, अति गरे क्षति निश्चित छ। अर्थात् अति भोजनले जब शरीरमा क्षति गर्न सक्दछ भने प्रकृतिसँग अति गर्दा क्षति नहुने कुरै हुँदैन। विचारणीय पक्ष के हो भने, मानवताले प्रकृतिको सुख त चाहन्छ। यद्यपि प्रकृतिलाई जोगाउनु कर्तव्य ठान्दैन। मानव मनोविज्ञानले अरूलाई मात्र दोषी देख्छ। फलस्वरूप परिणति छर्लङ्ग छ। अब पनि ढिलो नगरी प्रकृतिको संरक्षणप्रति आजैदेखि सर्वव्यापी अभियान सञ्चालन गर्नुपर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here