प्रस, रक्सौल, १७ वैशाख/
नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा कोरोनाकालमा सीमावर्ती सहयोग विषयक भर्चुअल गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा सहभागीहरूले सीमा सिलको विकल्पमा दुवैतर्फका नागरिकको आवागमन सहज गर्नुपर्ने, सीमामा हेल्पडेस्क स्थापना गर्नुपर्ने, रोजगार, तीर्थ र उपचारको क्रममा सीमा क्षेत्रमा रोकिएका मानिसलाई घर जाने तथा उनीहरूको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको थियो ।
मधुवनीका भाजपा नेता घनश्याम ठाकुरले सीमा क्षेत्रको सम्बन्ध भारतको दिल्ली र नेपालको काठमाडौंको नजरियाबाट हेर्न नहुने बताए । उनले दुवै देशबीचको सम्बन्ध आदिकालदेखि चल्दै आएको हुँदा आपसी भाइचाराको स्थितिमा कुठाराघात गर्न नहुने बताए । उनले दुवैतर्फका सरकारलाई यसबारे चिन्तित हुन आग्रह गरे । नेता ठाकुरले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाकालमा छिमेकी मुलुकहरूसँग बनाएको समन्वयकारी भूमिकालाई प्रभावकारी बनाउनुपर्ने र छिमेकीसँग संवाद चलाउनुपर्ने बताए ।
पत्रकार दीपक अग्निरथले पिसिआर अथवा एन्टिजेन परीक्ष्ँण गरी दुवै देशबीच आवागमन सहज बनाउनुपर्नेमा जोड दिए । उनले यसो नगर्दा दुवै देशका नागरिकलाई समस्या भएकोतर्फ ध्यानाकर्षण गराएका थिए ।
पत्रकार अग्निरथले नेपाल–भारतबीच सम्बन्ध प्रगाढ रहेको र दुवै देशले एकअर्काको सुख–दुःखमा साथ दिंदै आएकाले यो परम्परालाई कोरोनाको कारण ब्रेक लगाउन नहुने सुझाव दिए । अहिलेको सङ्क्रमणकालीन अवस्थाले आपसी सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने उनको तर्क थियो । खुला सीमाको कारण मुख्य प्रवेशद्वारभन्दा अन्यत्र क्ष्ँेत्रबाट लुकीछिपी आवतजावत भइरहेकाले दुवै देशका नागरिकले सचेतना अपनाउनुपर्ने उनको तर्क थियो ।
कार्यक्रमका अध्यक्ष कपडा बैंक नेपालका राजीवकुमार झाले सीमाको नियमन गर्न सर्वोच्च अदालतको फैसला पूर्वाग्रही भएको तर्क गरे । उनले खुला सीमालाई बन्द अथवा सिल गर्नु कुनै पनि अर्थमा सुहाउँदो नहुने तर्क गरे । उनले सीमामा कोरोना परीक्षण गरेर दुवैतर्फका नागरिकलाई सहज आवतजावतको वातावरण बनाउनुपर्ने बताए ।
भर्चुअल बैठकमा जसपाका केन्द्रीय सदस्य अनिल महासेठ, मनहर्वा सिसवाका नगरप्रमुख सञ्जय सिंह, तिलाठीका नगरप्रमुख सतीश सिंह, बिहारका पत्रकार ललित झालगायत सहभागी थिए ।