गोरखा भूकम्पले ढालेको धरहराको निर्माण कार्य सम्पन्न भएर धरहरा ढलेको दिनको पनि प्रतीक्षा नगरी प्रधानमन्त्रीले शनिवार वैशाख ११ गते उद्घाटन गरे। धरहरा अग्लो छ, अग्लो ठाउँसँग सरोकार राख्दा नाम पनि अग्लो नै हुने मनोविज्ञानले काम गरेर होला। किनकि अहिले देशमा कोरोना महामारी व्याप्त छ, देशमा अहिले सत्ताको लडाइँ चरममा छ। कोरोनामा को बाँच्ने, को नबाँच्ने, सत्ता कसको पक्षमा रहने निश्चित छैन। कोरोनालाई हराउन सकिन्न, त्यसैले सत्तामा छउन्जेल नाम अग्लो पार्ने काम गर्न चुक्नुहुन्न। सत्ताको यही क्ष्Fणिकताले गर्दा होला, ‘गोरखा भुइँचालो’ गएको दिनका लागि २४ घण्टाको कुराइ पनि सम्भव भएन। किनकि धरहरा निर्माण कार्यले पूर्णता पाओस् वा नपाओस्, उद्घाटनजस्तो महत्वपूर्ण, आफ्नो नाम गाँसिने काम गर्न किञ्चित विलम्ब सह्य हुन सकेन। धरहरा ठड्याउने भीमसेन थापा कहाँ पुगिसके, तर धरहराले गर्दा उनको नाम आज पनि सबैको जिब्रोमा झुन्डिएको छ। अहिले भीमसेनको धरहरा होइन, प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गरेको धरहरा ठडिएको छ। यो धरहरा नढलुन्जेल कसो ओलीको नाम नरहला !
भीमसेन थापाको नाम धरहरा ठड्याएर मात्र अमर भएको होइन, उनले देशको लागि ठोस काम गरेका थिए। प्रधानमन्त्री केपी शर्माले पनि केही ठोस गरे मात्र धरहरासँगै उनको नाम अग्लो बन्छ। नाम त दुर्जनको पनि हुन्छ। रावण, कंसजस्ता दुराचारीहरूको पनि नाम मानिसलाई कण्ठस्थ छ। तर कुन अर्थमा ? धरहरा ठडिइरहला, ओलीको नाम पनि धरहरासँगै बाँचिरहला, तर कुन अर्थमा ? रावण र कंसजस्तो नभई सच्चरित्र नामका लागि उद्घाटन होइन, अहिलेको समस्या कोरोनाबाट देशवासीलाई त्राण दिलाएर मात्र हुन सक्छ। यसपालिको कोरोना हिजोको जस्तो सहज र सरल छैन। यसको सङ्क्रमण दर कैयौं गुणा बढी छ। मारक क्ष्Fमता पनि अपार छ। नेपाली जनतालाई कोरोनाले नै किन नमारोस्, त्यसको अपजस प्रधानमन्त्रीले बोक्नुपर्ने हुन्छ। भोलि कोरोना नियन्त्रणमा आउन सकेन भने यसको अपजसले धरहरामा टाँसिएको ओलीको नाम उप्कनेछ। रहिरह्यो भने पनि रावण र कंसको रूपमा जीवित रहनेछ। रोम जलिरहँदा निरो बाँसुरी बजाइरहेका थिए भनिन्छ–अर्थात् नागरिकको दुःखमा राजा रमाइरहेका थिए। आज देशलाई कोरोनाले विक्षिप्त पारिरहँदा प्रधानमन्त्री ओली कोरोना नियन्त्रणभन्दा अपूर्ण धरहराको उद्घाटन गरेर आत्मरतिमा निमग्न छन्।
धरहरा ठडिइसकेको छ। त्यो हतपत्त अब ढल्दैन। पृथ्वीमा आजसम्म गएको सबैभन्दा ठूलो रेक्टर स्केलको भूकम्पले पनि ढाल्न सक्दैन। अनि किन उद्घाटन गरिहाल्ने हतारो ? उद्घाटनको अर्थ त हो, त्यो वस्तु अबदेखि अर्थात् उद्घाटनपश्चात्, सार्वजनिक उपयोगको वस्तु भयो। तर धरहरा अझै ९–१० महीना सर्वसाधारणका लागि खुला हुँदैन। गर्ने काम नै थुप्रै बाँकी छ। शायद सत्ता अनिश्चितताको ग्राफ बढ्दो छ। त्यसैले नक्शा नै नभएको सडकको शिलान्यास हुँदैछ, अपूरो धरहराको उद्घाटन हुँदैछ। थाती रहेको छ भने कोरोनाको महामारीको त्रासबाट जनतालाई दिनुपर्ने सहयोग। लाचार सरकारले अब केही दिनपछि लकडाउनको आदेश जारी गर्नेछ, विदेशी दातृसंस्थाहरूले अनुदानमा औषधि दिएनन् भनेर गोहीको आँसु झार्नेछ, यहाँ जहिले पनि यस्तै त हुन्छ !