उमाशङ्कर द्विवेदी
यता पुरुषसिंह अर्जुनले बडो भीषण सिंहनाद गरेर आप्mनो बाणले हस्तिसेनालाई छिन्नभिन्न पार्न थाले। ती हात्ती गाण्डीवबाट हानिएका हजारौं तीक्ष्ण बाणबाट घाइते भई भयङ्कर चित्कार गर्दै भुइँमा पछारिन थाले। हात्तीका काँधमा बसेका पुरुषहरूको मस्तक पनि अर्जुनले बाणहरूबाट छप्काउन थाले। उनी मण्डलाकार धनुषसहित नृत्य गरेझैं गरिरहेका थिए। यस प्रकार अर्जुनको हातबाट व्यथित भएर दुःशासनको सेना आप्mनो नायकसहित भागिहाले र बडो तीव्र गतिले द्रोणाचार्यबाट सुरक्षित हुने आकाङ्क्षाले शकट व्यूहभित्र छिरिहाले।
अब महारथी अर्जुन दुःशासनको सेनाको संहार गरेर जयद्रथको छेउमा पुग्ने विचारले द्रोणाचार्यको सेनामाथि जाइलागे। आचार्य व्यूहको ढोकामैं उभिएका थिए। अर्जुन उनको सामु पुगेर श्रीकृष्णको सहमतिले हात जोडी भने–ब्रह्मण, तपाईंले मेरो कल्याणकामना गर्नुहोस्। मेरोलागि तपाईं पितासमान हुनुहुन्छ। जसरी अश्वत्थामाको रक्षा गर्नु तपाईंको कर्तव्य हो, त्यसै प्रकार तपाईंले मेरो पनि रक्षा गर्नुपर्ने हो। आज तपाईंको कृपाबाट म सिन्धुराज जयद्रथलाई मार्न चाहन्छु, तपाईंले मेरो प्रतिज्ञाको रक्षा गर्नुहोस्।
अर्जुनले यस प्रकार भनेपछि आचार्यले मुस्काउँदै भने– अर्जुन, मलाई परास्त नगरेर तिमीले जयद्रथको छेउसम्म जान सक्दैनौ। यति भन्दाभन्दै उनले हाँस्दा–हाँस्दै अर्जुनलाई उनको रथ, घोडा, ध्वजा र सारथिसहित तीखो बाणहरूबाट आच्छादित गरिदिए। अर्जुनले पनि द्रोणाचार्यका बाणहरूलाई छलेर आप्mना अत्यन्त भीषण बाणहरूबाट उनीमाथि आक्रमण गरे। द्रोणाचार्यले त्वरित गतिले उनको बाणलाई काटेर आप्mनो विषाग्नि समान प्रज्वलित बाणबाट श्रीकृष्ण र अर्जुन दुवैमाथि प्रहार गरे। अनि धनञ्जय लाखौं बाण हानेर आचार्य सेनाको संहार गर्न थाले। उनको बाणबाट काटिएर अनेकौं योद्धा, घोडा र हात्ती धराशयी हुन थाले। अब द्रोणले पाँच बाणबाट श्रीकृष्णलाई र त्रिहत्तरी बाणबाट अर्जुनलाई घाइते पारेर तीनवटा बाणबाट उनको ध्वजालाई छेडिदिए, अनि एकक्षणमैं बाणको वर्षा गरेर अर्जुनलाई अदृश्य पारिदिए।
अर्जुन र द्रोणाचार्यको युद्धलाई यस प्रकारले बढिरहेको हेरेर त्यस दिनको प्रधान कार्यको बारेमा विचार गरेर अर्जुनसित भने– अर्जुन, अर्जुन, हेर, यहाँ हामीले समयलाई नष्ट गर्नुहुँदैन। आज हामीले ठूलो काम गर्नुपर्दछ। त्यसैले द्रोणाचार्यलाई छलेर हामीले अगि बढ्नुपर्दछ। अर्जुनले भने– तपाईंको जे इच्छा, त्यो गर्नुहोस्। अनि अर्जुन आचार्यको प्रदक्षिणा गरेर बाण हान्दै अगि बढ्न थाले। यो हेरेर आचार्य द्रोणले भने– पार्थ, तिमी कहाँ जाँदै छौ ? संग्राममा शत्रुलाई परास्त नगरेरै तिमी कहिले पनि पछि हट्दैन्थ्यौ। अर्जुनले भने– तपाईं मेरो शत्रु होइन, म पनि तपाईंको शिष्य र पुत्र समान नै हुँ। संसारमा कोही पनि यस्तो पुरुष छैन, जसले युद्धमा तपाईंलाइ परास्त गर्न सकोस्। यस प्रकारले भन्दाभन्दै अर्जुन जयद्रथ वधको लागि उत्सुक भएर बडो त्वरित गतिले कौरवसेनामा छिरिहाले। उनको पछिपछि उनका चक्र रक्षक पाञ्चाल राजकुमार युधामन्यु र उत्तमौजा पनि गइहाले।
अब जय, कृतवर्मा, काम्बोजनरेश र श्रुतायुले उनीहरूलाई अगि बढ्नबाट रोके। ती विजयभिलाषी वीरहरूका साथ अर्जुनको घोर संग्राम हुन थाल्यो। कृतवर्माले अर्जुनलाई दश बाण हाने। अर्जुनले उसलाई एक सय तीन बाण हानेर अचेतझैं पारिदिए। अनि उसले श्रीकृष्ण र अर्जुन दुवैमाथि पच्चीस–पच्चीस बाण हान्यो। अनि अर्जुनले उसको धनुष काटेर उसलाई त्रिहत्तरीवटा बाण हानेर घाइते पारिदिए। कृतवर्माले तत्कालै अर्को धनुष लिएर पाँचवटा बाण छातीमाथि हानेर अर्जुनलाई घाइते पारिदियो। अनि श्रीकृष्णले भने– पार्थ, तिमी कृतवर्मामाथि दया न गर। यतिबेला उसको र आप्mनोबीचको सम्बन्धको विचार नगरेर बलात् यसलाई मारिदेऊ। यो सुनेर अर्जुन आप्mनो बाणहरूबाट कृतवर्मालाई अचेत पारेर काम्बोज वीरहरूको सेनातर्फ लागे।
अर्जुनलाई यस प्रकार बढिरहेको हेरेर महापराक्रमी राजा श्रुतायुध आप्mनो विशाल धनुष तानेर बडो क्रोधित हँुदै सामु आए। उनले अर्जुनलाई तीन र श्रीकृष्णलाई सत्तरीवटा बाण हाने तथा एउटा तीखो बाणबाट उनको ध्वजामाथि प्रहार गरे। अर्जुनले तत्कालै उनको धनुष काटेर तूणीरलाई पनि टुक्राटुक्रा पारिदिए। अनि उनले अर्को धनुष लिएर अर्जुनको छाती र भुजामा नौवटा बाण हाने। यसपछि अर्जुनले हजारौं बाण हानेर श्रुतायुधलाई व्यथित पारी उनको सारथि र घोडाहरूलाई पनि मारिदिए। अनि महाबली श्रुतायुध रथबाट ओर्लेर हातमा गदा लिई अर्जुनतिर दौडिए। उनी वरुण देउताका पुत्र थिए। महानदी पर्णाशा यिनकी माता थिइन्। उनले पुत्र स्नेहवश वरुण देउतासित भनेकी थिइन्– मेरो पुत्र संसारमा शत्रुहरूद्वारा अवध्य होस्। वरुणले प्रसन्न भएर भनेका थिए– म तिमीलाई यो वर दिइरहेको छु र साथै यो दिव्य अस्त्र पनि दिइरहेको छु। यसको कारणले तिम्रो पुत्र अवध्य भइहाल्नेछ तर संसारमा मानिस अमर हुन कुनै पनि प्रकारले सम्भव छैन। जो यस संसारमा उत्पन्न हुनेछ, उसले अवश्य नै मर्नुपर्छ। यति भनेर वरुण देउताले श्रुतायुधलाई एउटा अभिमन्त्रित गदा दिएर भने– यो गदा तिमीले त्यस्तो व्यक्तिमाथि हान्नुहँुदैन, जसले युद्ध नगरिरहेको होओस्। यस्तो गरेपछि यसले तिमीमाथि नै मार गर्नेछ तर यतिबेला श्रुतायुधको मस्तकमाथि काल मडारिरहेको थियो। त्यसैले उनले वरुण देउताको कुरामाथि कुनै ध्यान दिएनन् र त्यस गदाबाट श्रीकृष्णमाथि प्रहार गरे। श्रीकृष्णले त्यस गदाको मारलाई आप्mनो वक्षस्थलमाथि झेले र गदा त्यहाँबाट फर्केर श्रुतायुधको काम फत्ते पारिदियो। श्रुतायुधले युद्ध नगरिरहेका श्रीकृष्णमाथि गदाले प्रहार गरेका थिए। त्यसैले त्यो गदा फर्केर गई श्रुतायुधलाई नै नष्ट पारिदियो। यस प्रकार वरुण देउताको कथन अनुसार श्रुतायुधको अन्त भयो र उनी सबै योद्धाले हेर्दाहेर्दै प्राणहीन भएर पृथ्वीमाथि लडे। क्रमशः…