ओमप्रकाश चौधरी/प्रमोद यादव, ३० चैत/
थारू समुदायका युवतीहरूले मनाउने घाटो पर्वको मौलिकता पछिल्लो दिनमा घट्दो छ।
परम्परागतरूपमा थारू समुदायका युवतीहरूले माटोको घाटोलाई देवी गौरीको रूप सम्झेर पूजा गर्ने गर्थे। चैत शुक्ल पक्षदेखि यो पर्व थारू समुदायका युवतीहरूले धूमधामका साथ मनाउँदै आएका थिए। खासगरी असल वरको चाहना राख्दै युवतीहरूले यो पर्व मनाउने गरेका थिए। यस वर्ष चैत २० देखि वैशाख ५ गतेसम्म घाटो पर्व मनाइँदैछ।
पर्सा जिल्लाका विभिन्न गाउँपालिकामा रहेका थारू समुदायका युवतीहरूले पर्व मनाए पनि परम्परागतरूपमा ठूलो सहभागिता देखिएको छैन। जीराभवानी गापा–२ सेढवा निवासी ५५ वर्षीया देवकीदेवी थरुनीले थारू बाहुल्यता भएको गापामा पर्व मनाउने गरेको बताइन्। उनले फागु पूर्णिमाको भोलिपल्ट गाउँटोलको एक घरमा युवतीहरूले माटोको पिर्का बनाएर तथा माटोको घाटो बनाइ बिहान–बेलुका माता गौरीको पूजा अर्चना गर्ने चलन रहिआएको बताइन्। उनले युवतीहरूले समूहमा फूल लोढ्ने (परम्परागत गीत) गाउँदै बगैंचामा रहेको आँपको नयाँ पात ल्याइ अन्न र दूधबाट बनाइएको खीर चढाइ भोग लगाउने चलन रहेको बताइन्। उनले गर्मीयाममा राति युवतीको समूहमा गीत परम्परा रहेकोमा अहिले यो परम्परा बिस्तारै लोप हुन थालेकोमा चिन्ता व्यक्त गरिन्। पटेर्वासुगौली गापा–३ निवासी राजकुमारीदेवी थरुनीका अनुसार घाटो सेलाउने दिन प्रत्येक घरमा ससुरा रहेका छोरीलाई निमन्त्रण दिएर बोलाउने चलन रहेको र सो दिन ठेकुवा, तेलही रोटीलगायतका विशेष परिकार तयार गर्ने परम्परा रहेको बताइन्। उनले यसो गर्नका लागि गाउँटोलमा चन्दा सङ्कलन गरी सांस्कृतिक कार्यक्रम गर्ने गरिएकोमा अहिले सो परम्परा पनि बिस्तारै लोप भइरहेको बताइन्। उनले सांस्कृतिक कार्यक्रम परम्परागतरूपमा नभएर विधि पु–याउनको लागि मात्र आयोजना हुँदै आएको बताइन्। सांस्कृतिक कार्यक्रममा गीत, नृत्य गर्ने परम्परा अहिले हराइसकेको उनको भनाइ छ।
जीराभवानी गापा–४ की युवती प्रियङ्का चौधरीले परम्परागतरूपमा घाटो पर्व लोपोन्मुख हुनुको कारण शिक्षा भएको बताइन्।
पहिले शिक्षाको अभावमा युवतीहरू एकीकृत हुने र यस्तो परम्परा निर्वाह गर्दै आएकोमा अहिले अध्ययनमा लीन भएका कारण परम्परागत संस्कृतिमा असर परेको टिप्पणी गरिन्।
अध्ययनको कारण समय अभावले परम्परागत संस्कृति मनाउन युवतीहरू असमर्थ भएको उनको बुझाइ छ। अहिले विधि पूरा गर्नेसम्मको पूजा अर्चना गरिने गरी परम्परालाई निर्वाह गर्ने काम मात्र भइरहेको प्रियङ्का बताउँछिन्।
दुई सातासम्म मनाइने यो पर्वमा अहिले शिक्षाको कारण युवतीहरू अध्ययनका साथै विभिन्न रोजगारमा संलग्न भएको र उनीहरूलाई लामो समयसम्म परम्परागत घाटो पर्व मनाउन समय अभाव भएकोले संस्कृति लोप हुन लागेको बताइन्।
पटेर्वासुगौली गापाकी उपाध्यक्ष एवं थारू कल्याणकारी समिति, पर्साकी केन्द्रीय पार्षद् ममता महतो थारूले
थारू परम्परा, संस्कृति तथा भाषा संरक्षणको जिम्मेवारी जनप्रतिनिधि र थारू कल्याणकारी समितिको भएको बताइन्।
उनले यसको जगेर्नाको लागि गापाले सङ्घीयता लागू भएको पहिलो आर्थिक वर्षमा केही लगानी गरेको बताइन् तर सोको परिणाम उल्टो आएको बताउँदै परम्परागत संस्कृतिको जगेर्ना समुदायबाट हुनुपर्ने प्रतिक्रिया दिइन्। उनले परम्परागत घाटो पर्वको संरक्षणको लागि थारू कल्याणकारी समिति, पर्सा प्रयासरत रहेको प्रतिक्रिया दिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here