राजेश मिश्र
‘कृपया म र मेरो समूहलाई भारी मतले विजयी बनाउनुहोस्’ यो वाक्य मतदान नसकिउन्जेलसम्म अस्तित्वमा रहनेछ। देशको चौथो अ·को रूपमा परिभाषित पत्रकारहरूको सङ्घीय, प्रदेश तथा जिल्लास्तरीय चुनाव एकैसाथ यही चैत २५ गते हुँदैछ। निर्वाचन नजीकिंदै जाँदा मतदाताहरूसँग भेटघाट र सामाजिक सञ्जालमा प्रचारप्रसारको क्रम तीव्र छ। वर्तमान संविधान अनुसार पत्रकारहरूको निर्वाचन प्रणाली परिवर्तित स्वरूपमा हुँदैछ। यद्यपि उम्मेदवारहरूले पत्रकारिता क्षेत्रमा आफूले गरेको योगदान, आगामी कार्यनीति र योजनाहरूको स्पष्ट खाका अघि सार्नुपर्नेमा त्यस्तो देखिंदैन। आफू सम्बद्ध दलका नेताको आशीर्वाद थाप्ने निरन्तरताले पत्रकारिताको मूल प्रवाह अवरोधपूर्ण छ।
वीरगंजका पत्रकार तथा साहित्यकार स्व विजयप्रकाश बिन भन्थे, “सत्ता सधैं पत्रकारले दासत्व स्वीकार गरोस् भन्ने चाहन्छ।” दुई दशकयता पत्रकारिता क्षेत्रमा पत्रकार तथा सञ्चारमाध्यमहरूको उल्लेख्य वृद्धि भएको छ। पत्रकारिताको क्षेत्रमा नेता, व्यापारी, ठेकेदारलगायतको उदय भएपछि विकृति झा·िदो छ। असली र नकली छुट्याउन गा–हो छ। कर्तव्यनिष्ठ पत्रकार र सञ्चारगृह धराशयी हुँदैछन्। त्यस्तै नकलीहरूको हालीमुहाली छ। बिगबिगी छ। अपवादबाहेक पत्रकारिताको सवालमा जमेको मयल पखालिनुपर्छ कि पर्दैन ? दुर्गन्धरहित पत्रकारिता हुनुपर्छ कि पर्दैन ? पत्रकारिताको अनुहार अन्य क्षेत्रभन्दा फरक हुनुपर्छ कि पर्दैन ? जस्ता यावत् प्रश्नहरू यतिबेला उम्मेदवारहरूको सामुन्ने खडा छ।
दलको ओतमुनि काम गर्ने वा कसैलाई ओत दिने पेशा होइन, पत्रकारिता। पत्रकारिता स्वतन्त्र पेशा हो। दलीय झन्डाको ओतमुनि स्वतन्त्र पत्रकारिता गर्नु असम्भव छ। यसको अर्थ दलको विचारसँग आबद्ध हुन पाइँदैन भन्ने होइन। कुनै विचारसँग सहमति राख्नु भिन्दै कुरा हो। यद्यपि दलीय विचार पत्रकारिता पेशामा लागू गर्ने हो भने सामाजिक न्यायको सवालमा अधोगति हो भन्नुपर्दा कसैलाई विमति नहोला।उहिले सूचनाको सवालमा केही साप्ताहिक अखबारहरू उदय भएका थिए। सामाचार कागजमा लेखिन्थ्यो। पत्रिकाको छपाइ ट्रेडिल मेशिनमा हुन्थ्यो। उहिले प्रविधिको न्यून संसाधनको बावजूद स्वच्छ पत्रकारिता थियो। अहिले प्रविधिको विकाससँगै पत्रिका, रेडियो, टिभी, अनलाइनलगायतका प्रशस्त सञ्चारमाध्यम उदीयमान छन्। यससँगै पत्रकारहरूको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। यद्यपि सङ्क्रमणको खतरा पनि उत्तिकै छ। त्यसैले सजगता अपरिहार्य छ।
आफू आबद्ध दलको अनैतिक गतिविधि छोप्ने र हुँदै नभएको विषयमा वाहवाही लेख्ने प्रचलनले पत्रकारिताको गरिमा ओरालोलाग्दो छ। संसारमा कतिपय ख्यातिप्राप्त र असल पत्रकारहरू छन्, जोसँग भेट्नको लागि महत्वपूर्ण व्यक्तित्वहरूले पनि हतपती अवसर पाउँदैनन्। तर यहाँ ठीक उल्टो छ। परिवर्तन कहिले सम्भव छ ? समय कहिले आउँला ? भन्ने प्रश्नको जवाफ प्रतिस्पर्धीहरूले दिनुपर्छ। नेताको वाहवाही लेख्ने वा चाकरी गर्ने प्रवृत्ति झन्डै एक दशकदेखि हावी छ। पहुँचको आधारमा पुरस्कार थाप्ने प्रचलन छ। अपवादबाहेक आज पत्रकारिता दलीय कार्यकर्ताको आवरणमा छताछुल्ल छ। दल केन्द्रित आचरणको कारण पत्रकारिताको मूल मर्म ओरालोलाग्दो छ।
अवसर, नियुक्ति, द्रव्यमोहलगायतका अवाञ्छित क्रियाकलापबाट मुक्त हुने हो भने राज्यले अपेक्षित परिणाम पाउने सम्भावना टाढा छैन। राज्यको उन्नति र प्रगतिको लागि वर्षौं कुर्नुपर्दैन। सञ्चारजगत्ले अपेक्षित परिणाम दिन सफल हुनेछ। दलको सदस्यता र प्रेस कार्ड एकअर्काको समकक्षी हुँदै होइन। सञ्चारकर्मी र दलको कार्यकर्ताको भूमिका एक साथ निभाउन सकिंदैन।
अहिले पत्रकारिता र राजनीति एक सिक्काका दुई पाटा जस्तै छन्। यद्यपि आआफ्नो धर्म र कर्तव्य अलग–अलग छ। पत्रकारले आफ्नो धर्म र कर्तव्य अनुसार सामाजिक पीडा बुझ्नुपर्छ। आज परतन्त्र पत्रकारहरूको कारण स्वतन्त्र पत्रकारहरूले कठिनाइ भोगिरहेका छन्। जबसम्म पत्रकार स्वतन्त्र पत्रकारितामा समाविष्ट हुँदैनन्, तबसम्म असल समाजको निर्माण हुन सक्दैन। आजको परिवेशमा पत्रकारहरूको सम्बन्ध राजनीतिसँग असामान्य रहेको तथ्य तीतो सत्य हो। जसले गर्दा देश प्रभावित छ। समाज प्रभावित छ। पत्रकारहरूले यस्तो लेखन गर्नुपर्छ, जसबाट राजनीति, सत्ता र समाजमा सही बाटो उन्मुख मानसिकता स्थापित हुन सकोस्। वर्तमान स्वरूपमा प्राय: समाचारको मुख्य आधार भनेको– सत्ता, सेलिब्रिटी र सिनेमा केन्द्रित छन्। सामाजिक सरोकार आज पत्रकारितामा अपवादबाहेक धेरै पछाडि पर्दै गइरहेको छ।पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो। त्यसैले निष्पक्ष भएर पत्रकारले आफ्नो कलम चलाउनुपर्छ। पार्टी विशेषसँग सामीप्यता राखेर कलम चलाउँदा सत्यतथ्य र निष्पक्ष धार प्रवाहित हुन सक्दैन। कुनै पूर्वाग्रह राखेर समाचार लेख्नु पत्रकारिताको मर्मअनुकूल हुन सक्दैन। चुनावको बेला कतिपय लेखक, पत्रकार र बुद्धिजीवीहरूले सुपारी लिएर कलम चलाउनु पनि पत्रकार आचारसंघिताको घोर उल्लङ्घन हो। यो तरीका कदापि ठीक होइन। पत्रकारिता, राजनीति र देश एकापसमा जोडिएका कडीहरू हुन। अन्य क्षेत्रका पात्रहरूको देखासिकी पत्रकारिता क्षेत्रमा अपेक्षित छैन। पत्रकारिता सदैव देश र समाज हितमा हुनुपर्छ।
दलीय महत्वाकाङ्क्षाभन्दा माथि उठ्नुपर्छ। पत्रकारिता क्षेत्रमा सकारात्मक परिवर्तनसहितको अपेक्षित भूमिका निर्वाह गर्ने प्रतिस्पर्धी को हो ? मतदाता सदस्यहरूले दलीय उर्दीभन्दा पनि स्वविवेकको प्रयोग गर्नु समय सान्दर्भिक हुनेछ। दबाब वा आर्थिक प्रलोभनमा मतदान गर्ने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ भन्ने विषयमा मतदाताहरूको जागरूकता नितान्त आवश्यक छ। स्वच्छ निर्वाचनको सवाल निर्विकल्प हुनुपर्दछ।
राजनीतिक निर्वाचनभन्दा पृथक र निष्पक्ष निर्वाचन सम्पन्न गरेर देशमा उदाहरण स्थापित गर्न सक्नुपर्दछ। मतको विकल्पमा द्रव्यलाई महत्व दिइयो भने चौथो अ· कहलिएको पत्रकारिताबाट देशले के अपेक्षा गर्ने ? राष्ट्रनिर्माणको क्रममा सञ्चारमाध्यम र पत्रकारको भूमिका अपरिहार्य रहेकोले निष्ठावान् र कर्तव्यनिष्ठ पात्रको छनोटमा स्वविवेकको प्रयोग गर्नु आफैंसँग न्याय गरेको ठहरिनेछ। अन्यथा पानीको धारसँगै प्रवाहित हुने हो भने आफूसँगै देशका आकाङ्क्षा स्वाहा हुने सम्भावनालाई नर्कान सकिंदैन। बदलिंदो परिवेशमा मतदाताहरूलाई प्रभावमा पार्ने नियत प्रबल हुने सम्भावना रहेकोले पत्रकारहरू सजग रहनुपर्दछ।
कानूनविपरीत क्रियाकलाप गर्ने निकाय वा व्यक्तिको खराब आचरणलाई उजागर गर्ने पत्रकारिता व्यावसायिक पेशा मात्र होइन, देशलाई भ्रष्टाचारजन्य सङ्क्रमणबाट मुक्त गर्ने, अवाञ्छित क्रियाकलापविरुद्ध लड्नेलगायतका नितान्त जिम्मेवारीपूर्ण कर्तव्य पनि हो। बाटो बिराउने जो कोही पनि किन नहोऊन्, उनीहरूलाई सही बाटो देखाउने पत्रकारको निर्वाचन स्वच्छ र पारदर्शी हुनुपर्छ।
आजको पत्रकारिताको क्षेत्रमा बहुरूपीहरूको वर्चस्वले असली र नकली पत्रकारबीचको भेद छुट्याउन मुश्किल छ। अन्य क्षेत्रका पात्रहरूको चौकीदारी गर्ने प्रवृत्तिले पत्रकारिताको महत्वलाई कुण्ठित पारिरहेको छ। पत्रकारिता देशको मेरुदण्ड हो भन्ने कुरा बिर्सनुहुँदैन। सञ्चारगृह र पत्रकारहरूको हकहितको सवालमा कसको भूमिका अपरिहार्य छ ? को सक्षम नेता हुन सक्छ ? भन्ने यावत् विषयहरूमा गम्भीर विमर्श आवश्यक छ। स्वहिताय नेता चुन्ने कि जनहिताय नेता चुन्ने मतदाताहरूले गम्भीर भई सोच्नुपर्ने बेला आएको छ।