वैधनाथ ठाकुर
दुई हप्ताअगाडिसम्म यस्तो लागिरहेको थियो कि अब नेपालमा कोरोना छैन। खासगरी वीरगंजमा मानिसहरूले करीब–करीब मास्क लगाउनै छाडिसकेका थिए। बैंकमा जानुपर्दा गार्डले मास्क नलगाएकालाई भित्र प्रवेश निषेध गर्ने गरेकाबाहेक अन्यत्र कहीं पनि मास्कको जरुरी कसैले ठानेका थिएनन्।
यस्तोमा अचानक भारतमा कोरोना सङ्क्रमण बढ्न थालेको समाचार आउन थाल्यो। खासगरी दिल्ली, राजस्थान, महाराष्ट्रलगायतका ठाउँमा फेरि लकडाउन गर्नुपर्ने अवस्था देखिन थालेपछि त्यहाँ भएका नेपाली फेरि नेपाल फर्कने र सङ्क्रमण बढ्ने चर्चा घनीभूत हुन थाल्यो। यसै क्रममा भारतले दिनुपर्ने १० लाख कोभिशिल्ड खोप पनि आन्तरिक माग बढी भयो भनेर नदिने घोषणा गरेपछि नेपालमा फेरि कोभिडको त्रास अर्थात् लकडाउनको त्रास सबै क्षेत्रमा देखिन थालेको छ।
यतिबेला होली पर्व नेपालीहरूको दैलोमा आइसकेको छ। फागु पर्वको रङ र अबिरसँगै कोरोना भाइरस पनि घरभित्र नआओस् भन्ने मनसायले रेडियोमा सरकारी विज्ञापन बज्न थालेका छन्। घरभित्रै फागु पर्व मनाऔं कोरोनाबाट सुरक्षित रहौं। यस्तोमा कसरी सुरक्षित फागु पर्व मनाउने ? यतिबेला यो बहसको विषय बन्न पुगेको छ।
हामी सबैलाई थाहै छ, अहिले विद्यालयहरू खुलेका छन्। सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विद्यार्थी, शिक्षक, कर्मचारीहरूले होलीपूर्वको कक्षामा धूमधामसँग होली खेलेका देखिन्छन्। न त त्यहाँ मास्क छ, न त सामाजिक दूरी। यतिबेला कोरोनासँग सबै मानिस नडराउने भइसकेका छन्। यो राम्रो कुरा हो तर कोरोनाले हामीलाई केही गर्दैन भनेर सोच्नु ठीक होइन। कोरोनाको सङ्क्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने तथा पटक–पटक साबुनपानीले हात धुने जस्ता कार्यलाई जीवनशैलीको रूपमा विगत एक वर्षको बानीलाई हामीले विकास गर्नुपर्ने हो तर अझै पनि हामी त्यसतर्फ सचेत हुन सकेका छैनौं। यस्तो सोच हाम्रोलागि नकारात्मक नै हो। प्रहरी प्रशासनले डन्डा चलाएर वा जरिवाना गरेर हामीले मास्क लगाउने नत्र नलगाउने भनेपछि आजको २१औं शताब्दीमा हामी मानसिकरूपमा धेरै पछाडि परेका छौं। यतिबेला हामीले के बिर्सनुहुन्न भने हाम्रै देशका तीन हजारभन्दा बढी नागरिकको मृत्यु कोरोनाको कारण भइसकेको छ। यसतर्फ आवश्यक सतर्कता सबै वर्ग, पेशा, क्षेत्र, लिङ्गले राख्न जरुरी छ। कोरोनाले कुनै जाति, धर्म, वर्ग, पेशा, लिङ्गलाई चिन्दैन। यसको सङ्क्रमणको शिकार सबै हुने भएकाले कोरोनालाई हलुकारूपमा कसैले लिनुहुँदैन। हिन्दू धर्मावलम्बीहरूका अधिकांश चाडपर्व धर्ममैं आधारित छन्। त्यस्ता पर्वहरू डेढ/दुई सय वर्षदेखि मात्रै चलेको कुरा सजिलै बुझ्न सकिन्छ। हिन्दू संस्कृति अनुसार होली पर्वको सुरुआत त्रेतायुगदेखि भएको हो। अर्थात् रामायणकालमा यो पर्व जन्मेको देखिन्छ। त्रेतायुगमा भगवान् विष्णुको परमभक्त प्रह्लादसँग घटित घटनाले होली पर्व जन्मेको सर्वविदितै छ। कथा अनुसार हिरण्यकश्यपुले आफ्नो छोरा प्रह्लाद विष्णुभक्त भयो भनेर आफ्नै बहिनीले काखमा राखेर आगोमा भस्म पार्न खोज्दा स्वयम् होलिका नै भस्म भएकीले त्यही दिनको सम्झनास्वरूप होलिका दहन गरी रङ्ग र अबिरका साथ यो पर्व मनाइन्छ।
फागु पर्व वसन्त ऋतुको परिचायक पनि हो। यो पर्व फागु पूर्णिमाको दिन मनाइने भएकोले यसलाई फगुवा पनि भनिन्छ। यो पर्वमा युवकयुवती, केटाकेटी विभिन्न समूह बनाएर हातमा रङ, अबिर लिएर एकअर्कालाई छ्यापाछ्याप गरेर खुशियाली मनाउँछन्। यो पर्वमा भाङ खाने पनि चलन छ। यस दिन मासु, पुवा, पुरी विशेषगरी खाने गरिन्छ। यस पर्वलाई प्रेम, भाइचारा तथा स्नेहको पर्व पनि भनिन्छ। यो दिनमा पुराना रिसइबी, मनमुटाव, झगडा आदि सबै बिर्सेर सबैजना एकअर्कालाई अङ्कमाल गरी अपनत्व बाँड्ने कार्य गर्ने गर्दछन्। साँझपख प्रौढहरू तराईमा मृदङ, मजिरा, झाल, करताल लिएर फागु गीत गाएर गाउँभरि घुम्ने प्रचलन छ। तर हिजोआज वैदेशिक रोजगारले युवाहरू लाखौंको सङ्ख्यामा विदेशिएका तथा कोरोना सङ्क्रमणको खतरासमेत रहेको हुनाले फागु पर्व अलि खल्लो हुँदै गएको छ।
भन्नलाई फागु पर्वलाई जातिपाति, छुवाछूत, ठूलो–सानो, धनी–गरीब यी सबै विभेद मुक्त गर्ने पनि भनिन्छ तर हिजोआज फागुमा रक्सी बढी प्रयोग हुने, फागु खेल्नेहरूले बाटोमा हिंड्ने गरेका बटुवालाई जबरजस्ती रङ, अबिर लगाउने, लुगा च्यात्ने, लोलामा कडा वस्तुको प्रयोग गरेर शरीरमा हिर्काउने, पुरानो दुश्मनी फागुकै दिनमा साँध्ने जस्ता काम गरेर फागु पर्वको मौलिकतालाई समाप्त पारिएको छ। खासगरी फागुमा प्रयोग हुने फगुवा गीत जोगिरा सररर आदि गाउँदा बढी उत्तेजित तथा अश्लील शब्द प्रयोग गर्ने हुनाले पनि फागु पर्व निकै विकृत हुँदै गएको छ।
किसान र अन्धविश्वासको द्वन्द्वको रूपमा पनि यस पर्वलाई कतिपय विद्वान्ले अथ्र्याउन खोजेका देखिन्छन्। जेहोस्, होली पर्व हिजोआज सुसंस्कृत बन्नेतिर कम र विकृत बन्नेतिर बढी उन्मुख भएको सबैले महसूस गरेका छन्। जसरी फागु पर्वमा विभिन्न रङमा मानिसहरू रङ्गिएर केवल आफ्नो मनोरञ्जनको मात्रै ख्याल गर्छन्, ठीक त्यसैगरी यतिबेला नेपालमा राजनीतिक पार्टीहरू पनि आफ्नो स्वार्थसिद्धिमा मात्र तल्लीन भएका देखिन्छन्। एउटाले आफ्नो स्वार्थ सिद्धिको लागि बहुमतको सरकार भइरहेको बेला संसद् नै विघटन गर्छ भने अर्कोले संसद् पुनस्र्थापनापश्चात् लड्डु साटेर खुशियाली मनाउँछन् तर समर्थन त्यही सरकारलाई गरिरहन्छ। न त अविश्वासको प्रस्ताव ल्याउँछ, न त समर्थन फिर्ता लिन्छ। योभन्दा ठूलो फागु के होला ?