बितेको मङ्गलवार राति सर्लाहीको बरहथवामा विद्युत् सर्ट भई एक घरमा आगलागी हुँदा तीन लाख ५० हजार नगदसहित करीब साढे दश लाख मूल्यबराबरको धनमाल जलेर नष्ट भयो। त्यसैगरी, बितेको बिहीवार सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिकास्थित एक गाई फार्ममा विद्युत् सर्ट भई आगलागी हुँदा २० वटा गाई जलेर मृत्यु भयो भने करोड रुपैयाँभन्दा माथिको क्षति छ। केही महीना पहिले विद्युत् सर्र्ट भएर आगलागी हुँदा ताप्लेजुङ्ग जिल्लाको फुङ्लिङ बजार खरानी भयो। गत भदौमा धादिड्ढो थाक्रेमा विद्युत् सर्ट भएर आगलागी हुँदा दुईजनाको ज्यान गयो भने १२ जनाभन्दा बढी घाइते भए। त्यसैगरी बितेको पुसमा सप्तरीको राजविराजमा आगलागी हुँदा बिजुली नै नभएको गोठमा सुतिरहेकी एक वृद्धाको ज्यान गयो। गोठनजीकैको घरमा विद्युत सर्ट हुँदा आगलागी भएर गोठमा आगो सल्किएको थियो। हाम्रो मुलुकमा विद्युत् सेवा पुगेका प्रायः सबै स्थानमा यस प्रकृतिको घटना दिनहुँ भइरहेका छन्। घरमा, पसलमा, उद्योग एवं गोदाममा त कुनै दिन कृषि फार्म एवं होटल, रेस्टुरेन्टमा विद्युत् सर्ट भई आगलागी भइरहेका छन्।
विद्युत् सर्ट भएकै कारणबाट आगलागी भएका घटनाको यकीन तथ्याङ्क नेपाल सरकारसँग छैन। पछिल्लो एक दशकयता विद्युत् सेवा प्रसारणसँगै विद्युत् चुहावटको कारण आगलागी हुने घटना वृद्धि भएको नेपाल प्रहरीको दैवी प्रकोप उद्धार शाखाले जनाएको छ। अन्य मुलुकको तुलनामा भने विद्युत्को कारण आगलागी हुने घटना हाम्रो मुलुकमा बढी छ। सम्पन्न मुलुक भारत, अमेरिका, चीनलगायतका मुलुकहरूमा विद्युत् सर्ट हुने घटनाहरू आक्कलझुक्कल भइहाले पनि मानवीय हर्कत तथा विद्युत्सम्बन्धी उपकरणमा छेडछाड गर्दा हुने गरेको पाइएको छ। हाम्रो मुलुकमा त विद्युत् सेवा उपलब्ध घरमा सुतिरहेको मानिस बिहान सग्लो उठ्ने हो कि होइन भन्ने चिन्ता छ। विद्युत् सेवा उपलब्ध नहुँदासम्म उज्यालोका लागि बालिने टुकी, पानस वा आगोबाट आगलागी हुने डर छ। विद्युत् सेवा उपलब्ध भएपछि त्यही बिजुलीबाट आगलागी हुने त्रास छ।
बिजुली सर्ट हुने विभिन्न कारण छन्। पावरहाउसदेखि उपभोक्ताको घरसम्म प्रसारण लाइनमा प्रयोग गरिएका विद्युतीय सामग्रीको गुणस्तर तथा मरम्मतसम्भारको अवस्था, जडान गर्ने प्राविधिकले प्रयोग गरेको सीप, सम्बन्धित विद्युत् उपभोक्ताले प्रयोग गर्ने विद्युतीय उपकरण एवं मानवीय छेडखानी, तत्काल विद्युत् वितरणमा कार्यरत प्राविधिकहरूको काम र दैवी प्रकोप विद्युत् सर्ट हुने मुख्य कारणहरू हुन्। मुलुकमा विद्युत्बाट जति पनि आगलागी भएका छन्, त्यसमा उपरोक्त पक्षहरूमाथि गहन अध्ययन भएको पाइँदैन। “विद्युत् सर्ट भएर आगलागी भयो” भनेपछि दायित्व सकियो। यसो हुँदा सधैं उपभोक्ता मारमा परिरहेका छन्। उपभोक्ताको आफ्नै गलतीबाट विद्युत् सर्ट भएको छ र त्यसले अरूलाई पनि पीडा पु–याएको छ भने त्यस्ता उपभोक्तालाई कारबाई हुनुपर्छ। सामानको खराबी भए सोही पक्षलाई कारबाई हुनुपर्छ। यदि प्राविधिक लापरवाही हो भने सम्बन्धित पक्षलाई कारबाई गर्ने र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था हुनुपर्छ। यसो हुँदा विद्युत् प्राधिकरणदेखि सामग्री उत्पादन एवं सप्लाइकर्ता, कर्मचारी, उपभोक्तालाई समेत दायित्व एवं जिम्मेवारी बोध हुनेछ। हरेक पक्षमा जिम्मेवारी बोध रह्यो भने दुर्घटना नै हुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here