फेरि कोरोनाको लहर आउने र लकडाउनको मानसिक स्थितिमा देश पुगेको छ। पहिलो चरणमा पनि लहैलहैको भरमा लामो समयसम्म देशलाई लकडाउनमा राखियो। यद्यपि लकडाउनको उद्देश्य चाहिं पूरा भएन। लकडाउनको उद्देश्य थियो, कोरोना सङ्क्रमणको प्रवाह नहोस्, तर भयो। सरकार नै आत्तिएर परीक्षण नै नगर्ने निधोमा पुग्यो। परीक्ष्Fण गर्दा जतिखेर पनि सङ्क्रमितको सङ्ख्या मात्र बढ्ने, सङ्क्रमणविरुद्ध गर्न केही नसक्ने अवस्थामा सरकारले हरुवा गोरुको छेरुवा दाउ लियो। अर्थात् पिसिआर परीक्षण नै नगर्ने। परीक्षण नै भएन भने सङ्क्रमण छ कि छैन थाहा हुँदैन। थाहा नहुनुको अर्थ हामीकहाँ कोरोना छैन भन्ने बुझियो। त्यसै भ्रममा धेरै मानिस सङ्क्रमित भए। पछिपछि सरकारले उपचारबाट पनि हात तान्यो र नागरिकलाई भाग्यभरोसे छाडिदियो। धन्य नेपालीहरूको इम्युनिटी पावर, सरकारको यत्रो नालायकीमा पनि महामारी कोरोनालाई पराजित गरेर नै छाडे। अन्य विकसित र साधनसम्पन्न मुलुकको तुलनामा नेपालमा कोरोनाबाट मृत्यु हुनेहरूको सङ्ख्या नगण्य नै रह्यो। अहिले त खोप पनि आइसकेको छ र लाखौं मानिसले लगाइ पनि सकेका छन्।
नेपालमा एउटा विचित्रको अवस्था देखिन्छ। जनता जुनसुकै पनि समस्याको समाधान सडकमा देख्छ। सरकार भने समस्या आयो कि जुझ्नुको साटो पलायनको बाटो अख्तियार गर्छ। हिजो जब कोरोनाको पहिलो प्रवेश भयो, न राम्ररी सीमा बन्द गर्न सक्यो, न क्वारेन्टाइन राम्ररी सञ्चालन गर्न सक्यो। ग–यो त लकडाउन र त्यसै निहुँमा सडकबाट समाधान खोज्ने जनताको डडाल्नो भस्काउन थाल्यो। जनता र सरकारको रहर मिल्दोजुल्दो छ। कोरोना सङ्क्रमण सरकारलाई हुने होइन, नागरिकलाई हुने हो। सतर्क नागरिक रहनुपर्छ। सतर्क रहनका लागि ठूलो तामझाम पनि आवश्यक छैन। मास्क लगाउने, साबुनपानीले हात धुने र व्यक्ति–व्यक्तिबीच दूरी कायम राख्ने। यतिमात्र गरेको भए अस्ति पिसिआर परीक्षण गर्दा पोजिटिभ परिणाम आउने थिएन। किनकि वीरगंजमा कोरोनाविरुद्ध लडाइँमा अग्रपङ्क्तिमा रहेका चिकित्सकहरूले घरीघरी बताइरहेका थिए, मास्क मात्र पनि प्रयोग गरे कोरोना सङ्क्रमणबाट धेरै हदसम्म जोगिन सकिन्छ। तर नेपाली जनताको सतर्कतासँग टाढाटाढाको पनि सम्बन्ध छैन। रोग लाग्दैन भन्ने अति विश्वास र लागिहाले सडक तताउनुको आनन्द बोनसमा।
सरकारको पनि हात चिलाउन थालेको छ क्यारे १ कोरोनाको दोस्रो लहर आउन थालेको गाइँगुइँ चल्न मात्र पाएको छैन, लकडाउनका लागि तयार रहन जनताको मानसिकता सकारात्मक बनाउन शुरू गरिसक्यो। यो थाहा छ कि जनता मान्दैन। बाहिर निस्कन्छ। तर रोकथामको सजिलो बाटो लकडाउन गर्ने र जनतामाथि रिस फेर्ने सामन्तवादी सोचले ग्रस्त छ। धूमधामका साथ कोरोनाप्रतिरोधी क्रियाकलाप आत्मसात् गर्न कहिले भन्दैन, त्यसको प्रचारप्रसार गर्दैन। लकडाउनले दिने अर्को आनन्द त झन् सरकारको अभीष्ट नै हो। लकडाउनको निहुँमा सरकारविरोधी गतिविधिमा अङ्कुश लगाउन पाइन्छ। कुर्सीमा अटसमटस गर्न थप समय जुर्छ। यति विघ्न लाभ छाडेर परामर्श दिन कसले टाउको दुखाओस् ? लकडाउन मात्र होइन, निषेधाज्ञा नै लागू गर्न पाए झन् खुदो पल्टिन्छ। अझ परिस्थिति यस्तो बनोस् कि सेनालाई सडकमा मार्च गराउन पाइयोस्। अनि सत्ता पनि आफ्नो, सत्तालीला पनि आफ्नो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here