प्रस, वीरगंज, ६ चैत/
नेपाल सरकार, शहरी विकास मन्त्रालय, वीरगंज महानगरपालिका, नगर विकास कोष तथा एशियाली विकास बैंकको संयुक्त लगानीमा वीरगंज महानगर–१ शान्तिनगरमा निर्मित फोहर पानी प्रशोधन केन्द्र बनेको पौने दुई वर्ष पुग्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन।
मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना अन्तर्गत निर्मित पानी प्रशोधन केन्द्रको २०७६ भदौ १० गते तत्कालीन शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले उद्घाटन गरेका थिए। सो आयोजना अन्तर्गत निर्मित पानी प्रशोधन केन्द्रबाट वीरगंजका सबै घरका शौचालयको फोहर पानीलाई प्रशोधन गरी श्रीसिया नदीमा बगाउने योजना हो। तर अहिले यो योजना पौने दुई वर्षदेखि थाती रहेको छ। वीरगंजमा यो योजना अन्तर्गत बनाइएका नालामा वीरगंजका घरधनीहरूले शौचालयको फोहर पानी नबगाउँदा पानी प्रशोधन केन्द्र प्रयोगविहीन भएको हो।
प्रशोधन केन्द्र निर्माण हुनुअगावै वीरगंज महानगरपालिकाले यससम्बन्धी सूचना जारी गरेको थियो तर केन्द्र निर्माण भएपछि पनि घरधनीहरूले महानगरको सूचनालाई बेवास्ता गरेका छन्। अहिलेसम्म ५० घरपरिवारले मात्र शौचालयको पानी नालामा विर्सजन गर्दै आएका छन्। यो योजना अन्तर्गत वीरगंज महानगरका करीब चार हजार घरपरिवार जोडिनुपर्ने तर अहिलेसम्म ५० भन्दा बढी घर जोडिन सकेका छैनन्। वीरगंज महानगरले बारम्बार आग्रह गर्दा पनि घरधनीले शौचालयको फोहर पानी पाइपमार्फत नालामा नमिसाउने गरेको वीरगंज महानगरका सेनिटरी महाशाखा प्रमुख इन्जिनीयर राजीव सिंहले बताए। घरधनीहरूले अटेर गरेपछि महानगरपालिकाले अहिले ठेक्कामार्फत यो काम सम्पन्न गर्ने तयारी गरेको छ। घरधनीहरूले शौचालय भएको ठाउँबाट नालासम्म पाइप बिछ्याएर फोहर पानी विसर्जन गर्दा थप खर्च पर्ने भएकोले अटेर गर्दै आएका छन्।
कतिपयको शौचालय घरको पछाडिपट्टि रहेको र लामो पाइप जडान गरी नालासम्म ल्याएर पानी विसर्जन गर्दा खर्च बढ्ने हुनाले यसतर्फ ध्यान नदिएका हुन्। खासगरी आदर्शनगर क्षेत्रमा यस प्रकारको समस्या रहेको छ। घरको पछाडि रहेको शौचालयबाट पाइप ल्याउँदा पुरानो संरचना भत्काउनुपर्ने झन्झटिलो कार्य भएकोले यसतर्फ ध्यान नदिएका हुन्। त्यसैले ठेक्कामार्फत काम सम्पन्न गर्ने तयारी महानगरको छ।
पानी प्रशोधन केन्द्र सञ्चालनको लागि शौचालयबाट निस्किने पानी न्यूनतम १० लाख लिटर आवश्यक पर्छ। वीरगंज महानगरका चार हजार घरको शौचालयको पानी योजना अन्तर्गतको नालामा जोडिएमा २० लाख लिटर शौचालयको पानी प्रवाह हुने इन्जिनीयर सिंहले बताए। तर अहिलेसम्म शौचालयको पानी नालामा नजोडिएको कारण मूल ढलको फोहर पानीलाई नै दैनिक प्रशोधन गरेर श्रीसिया खोलामा बगाउँदै आएको उनले बताए। प्रशोधन केन्द्र जुन प्रयोजनको लागि निर्माण गरिएको हो, अहिले सोको उपयोग हुन सकेको छैन। पानी प्रशोधन केन्द्र एक करोड लिटर क्षमताको हो। दीर्घकालीन योजना अन्तर्गत प्रशोधन केन्द्र निर्माण भएपनि प्रारम्भिक अवस्थामा प्रभावहीन भएको छ।
मझौला शहर एकीकृत शहरी वातावरणीय योजना र सघन शहरी विकास कार्यक्रम अन्तर्गत वीरगंजमा दुई चरणमा करीब साढे ५ अर्बको सडक र नाला निर्माण कार्य सम्पन्न भएको छ। पहिलो चरणको काम दुई वर्षअगावै सम्पन्न भइसकेको छ भने दोस्रो चरणको कामको समयावधि सकिएको र दुई/तीन प्रतिशत काम मात्रै बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here