प्रस, सिम्रौनगढ, ५ चैत/
बाराको सिम्रौनगढ इलाकालगायत मधेसका कतिपय क्षेत्रमा यो महीना ओरहा खाने परिपाटीमा निकै कमी आएको छ।
ओरहा खाने परिपाटी बारा, पर्सा, रौतहट, सर्लाहीलगायत थारू समुदायमा निकै प्रचलित रहेको र चार दशकपूर्व ओरहा गाउँ–गाउँमा सबैले बेलुकीको खाजाको रूपमा खाने गर्थे।
ओरहा वर्षको एकचोटि फागुन–चैततिर खाने भएकोले यसतर्फ गाउँलेहरूको धेरै रुचि थियो।
गाउँलेहरूले विभिन्न प्रकारका अपरिपक्व बिरुवाहरू खेतबाट ल्याइ आगोमा पोली ओरहा बनाउने गर्छन्। जसमा चना, केराउ, गहँु, खेसारी, पुपरा आदिका बिरुवाको मिश्रण ओरहा वा बेग्लाबेग्लै ओरहा बनाउँछन् र बालकदेखि वृद्धले बडो रुचिले खान्छन्।
ओरहा बनाउने मुख्य समय अपराह्न चार बजेपछि हो, जुन बेला हावाको चाप कम हुन्छ र ओरहा राम्ररी पाक्छ। अनि बेलुकीको खाजाको रूपमा खान्छन्। यहाँसम्म कि ओरहा ताडीको साथ चखनाको रूपमा धेरै प्रचलित रहेको ताडीपारखीहरू बताउँछन्।
फागुन–चैतको बेलुकीतिर गाउँभन्दा टाढा सरेह (खेत)को पूरै आकाश धूवाँमय हुने गरेको अमृतगंजका वृद्ध जलधारी मुखिया बिन बताउँछन्। तर हाल आधुनिक परिपाटीमा विभिन्न परिकारका तैयारी खाजा सामग्री रहेकाले ओरहा खाने प्रचलन हराउँदै छ। ओरहा बनाउन बढी समय लाग्ने, आगो लाग्ने डर, टिभी र मोबाइलमा व्यस्तता आदि कारणले ओरहाप्रति गाउँलेहरूको रुचि कम हुँदै गएको छ।