‘…लाई घ्यू पच्दैन’ हाम्रा पुर्खाहरूले सुनाउँदै आएको उखान–टुक्कामा सत्यता छ। वर्षौंको अध्ययन तथा प्रयोग एवं अनुभवको आधारमा उखान–टुक्काहरू बनेका हुन्छन्। त्यसैले पनि अधिकांश उखान–टुक्का सत्यतामा आधारित हुन्छन्। ‘घ्यू’ शब्द नै सुन्दा राम्रो र मीठो लाग्छ। अति नै व्यावहारिक, सबैसँग नम्र, असल व्यवहार गर्ने व्यक्तिलाई ‘कस्तो घ्यू मान्छे’ भनेर प्रशंसा गरिन्छ। असल तथा पौष्टिक चिजबाट बन्ने भएकोले घ्यू राम्रो अनि लाभदायक भएको हो। तर यति लाभदायक वस्तु पनि कुकुरको लागि भने अफाप सिद्ध छ। कुकुरको पाचन प्रणालीको बनोट तथा प्राकृतिक स्वभावको कारण उसलाई घ्यू पच्दैन। सकारात्मक प्रभाव पर्नुपर्नेमा नकारात्मक असर पर्नु तथा उल्टो नतीजा दिनुलाई नपचेको मानिन्छ। हाम्रो मुलुकमा आज फेरि यो उखान चरितार्थ भएको छ।
कम्युनिस्टहरूले बन्दूकको नालबाट सत्ता कब्जा गर्न सकिन्छ र सेनाविना सत्ता टिक्न सक्दैन भन्ने मान्यता राख्ने भएकाले उनीहरूले सेना र हतियारलाई प्राथमिकता दिन्छन्। मतपत्रबाट आएको कम्युनिस्ट सत्ता विश्वमा न्यून छन्। कम्युनिज्म व्यवस्था रहेका चीन, उत्तर कोरिया, क्युबालगायतका मुलुकमा कम्युनिस्ट पार्टी सशस्त्र विद्रोहबाट नै सत्तामा पुगेका हुन्। जनमतको विश्वास नै नगर्ने कम्युनिस्ट पार्टीलाई नेपाली मतदाताले अत्यधिक बहुमत दिएर सत्ताको तालाचाबी सुम्पिएका थिए, तर पचेन। हुनत हाम्रो मुलुकका कम्युनिस्टहरू समय अनुसार परिमार्जन हुँदै शान्तिपूर्ण प्रतिस्पर्धामा आएको र लोकतान्त्रिक प्रणालीलाई स्वीकार गरेको दाबी गर्छन्। वास्तविकता भने उनीहरूले भने जस्तो होइन। माक्र्स, लेलिन र माओको दर्शनले संसदीय व्यवस्थालाई बुर्जुवा व्यवस्था भनेको छ। बुर्जुवा व्यवस्थाको संसद्लाई ‘फटाहाहरूको गफ गर्ने अखडा’ संज्ञा दिएका छन्। अतः कम्युनिस्टहरूले संसद् भवनलाई ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने ठाउँ’ भनेका हुन्। कम्युनिस्टहरू अन्तर्राष्ट्रिय सर्वहारावादी भएकाले हाम्रो मुलुकका कम्युनिस्टहरूले पनि त्यही दर्शन मान्ने हुन्। बाँकी त देखावा मात्रै हो। एमाले होस् या माओवादी वा अरूहरू, सशस्त्र युद्धबाट सम्भव नभएपछि मात्रै बाध्यतावश शान्तिपूर्ण बाटोमा आएका हुन्। अझै पनि “साम्यवादमा जानका लागि बुर्जुवा संसदीय बाटो प्रयोग मात्रै गरेका हौं” उनीहरू भनिरहेका छन्।
विचार, प्रकृति र स्वभावले समेत नमिल्ने जनमतको भारी मतदाताले कम्युनिस्ट पार्टीलाई दिएको कारण अपच भएको हो। नकारात्मक प्रतिफल आज मुलुकवासीले भोक्दै छ। देश र जनताको कल्याण गरून् भनेर सत्तामा पु–याएको पार्टी आफैं रोगी भएर मृत्यु शøयामा पुगेपछि समस्या आउने नै भयो। ‘नेकपा’ नामको ठूलो पार्टीको अवसान भइसक्यो। नेकपा ‘एमाले’ र ‘माओवादी केन्द्र’ नामका छुट्टाछुट्टै पार्टीको अस्तित्व पनि धरापमा परेको छ। माओवादी केन्द्र पटक–पटक चोइटिएपछि अब उक्त नाम नै परिवर्तन गर्ने निर्णय भइसकेको छ। एमालेमा ओली समूह र नेपाल–खनाल समूह आगामी चुनावसम्म दुई टुक्रा हुने निश्चित भइसक्यो। फेरि पनि दुवैतर्फका नेताहरूले आफू एकताको पक्षमा छु भन्दै झोले कार्यकर्ताहरूलाई गुमराहमा पारिरहेका छन्। चतुर कार्यकर्ताले भने बिस्तारै बुझ्न थालिसके। यी सबै समस्याको मुख्य कारण जनमत र कुर्सी नै हो। आशा गरौं, कसलाई के पच्छ भन्ने कुरा यस घटनाबाट मतदाताले अवश्य नै बुझ्नेछन्।