प्रस, वीरगंज, २९ फागुन/
पर्सा, बारा र रौतहटसमेत तराईका जिल्लामा नसर्ने रोगको कारण बिरामीको मृत्युदर बढ्दै गएको छ।
तराईका जिल्लामा रोग लागेर मृत्यु भएकामध्ये करीब ६० प्रतिशत मानिस नसर्ने प्राणघातक रोगको कारण मृत्यु भएको एउटा तथ्याङ्कले देखाएको छ। वीरगंजका एक दर्जनभन्दा बढी अस्पतालमा भर्ना भएका बिरामीमध्ये ६० प्रतिशत नसर्ने रोगबाट ग्रसित भएको चिकित्सकहरूले बताएका छन्।
एक व्यक्तिबाट अर्कोमा तत्काल नसर्ने, छिटो कुनै पनि शारीरिक परिवर्तन नदेखिने, प्रतिक्रिया नजनाउने भएपनि नसर्ने रोगले बिस्तारै मानिसको ज्यान लिने गर्दछ।जतिसुकै उपचार गरे पनि निको नहुने भन्दै स्वास्थ्यकर्मीले खानपान र बानी व्यवहारमा परिवर्तन गर्न सर्वसाधारणलाई सुझाएका छन्।
नारायणी अस्पतालका चिकित्सक उदयनारायण सिंहले चिल्लो, मसलादार खाना नखान, मदिरा, धुम्रपान नगर्न, नियमित व्यायाम गरेको खण्डमा धेरै किसिमका प्राणघातक रोगबाट बच्न सकिने बताएका छन्। अहिले तराईका जिल्लाहरूमा क्यान्सर, मुटु, मिर्गाैला, उच्च रक्तचाप, मधुमेह जस्ता नसर्ने प्राणघातक रोगबाट मानिसको मृत्युदर बढेको डा सिंहले बताए। सामान्य अवस्थाभन्दा फरकरूपमा रक्तचाप तथा मधुमेह देखिने बित्तिकै ख्याल गर्न सकियो भने नसर्ने रोगको आक्रमणबाट बच्न सकिने उनको भनाइ छ। रोग लाग्ने सङ्केत देखियो भने त्यसलाई न्यूनीकरण गर्न सकिने डा सिंहले बताए। मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह जस्ता समस्याका कारण मानिसमा दीर्घरोग देखा पर्ने उनको भनाइ छ। नसर्ने रोगको सङ्क्रमण बढ्न थालेपछि सरकारले गरीब तथा विपन्न परिवारलाई उपचार बीमा गर्दै आएको छ। नसर्ने रोग लागेपछि उपचार गराउँदा निको पार्न गा–हो हुने, खानपानमा धेरै ख्याल गर्नुपर्ने, नियमित चिकित्सकको सल्लाहमा बस्नुपर्ने, स्वास्थ्य जाँच नियमित गराइरहनुपर्ने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here