श्रीमन्नारायण

विगत एक वर्षदेखि नेपाललगायत सिङ्गो विश्वलाई कोरोना महामारी तथा यसको भयले त्रसित बनाएको थियो। बितेको १३ महीनामा अनियमितता, भय एवं अस्तव्यस्त जनजीवन नै हाम्रो नियति बन्न गएको थियो। अङ्ग्रेजी नयाँ वर्ष २०२१ को आगमनसँगै नयाँ उमङ्ग, विश्वास एवं उत्साहमा वृद्धि भएको छ। कोरोना महामारीको प्रकोप रोकथाम गर्ने खोपको आगमनसँगै यसको प्रभाव पनि कम हुन थालेको छ र खोप तथा मनोवैज्ञानिक प्रभावले जनजीवन सामान्य भइरहेको छ।
दक्षिणी छिमेकी भारतले नेपाललाई १० लाख खोप अनुदानस्वरूप सहयोग गरेको कारण अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई निश्शुल्क खोप लगाउने काम भइरहेको छ। फोहर व्यवस्थापनमा खट्ने सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहनका चालक, सहचालक, कोभिडको प्रत्यक्ष उपचारमा सेवा दिने वा खोप व्यवस्थापनमा खट्ने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खट्ने स्वयंसेवक, सुरक्षाकर्मी, अन्तर्राष्ट्रिय प्रवेशबिन्दुमा खट्ने स्वास्थ्यकर्मी, स्वयंसेविका र वृद्धाश्रमको हेरचाहमा खट्ने व्यक्तिलाई पहिलो चरणमा खोप लगाउने काम भइसकेको छ। नेपाल सरकारले दक्षिणी छिमेकी भारतबाट २० लाख खोप खरीद गर्ने निर्णय गरेको छ। आवश्यकता अनुसार थप खोप आउनेछ। भारतको सिरम इन्स्ट्च्यिुटले उत्पादन गरेको कोभिशिल्ड र भारतकै बायोटेक कम्पनीले उत्पादन गरेको खोप नेपाल सरकारले खरीद गर्ने भएको छ। भारतमा निर्मित खोपको संयुक्त राष्ट्रसङ्घ र विश्व स्वास्थ्य सङ्गठनले पनि प्रशंसा गर्दै अनुमोदन गरेका कारण यसको विश्वसनीयता विश्वव्यापीरूपमैं बढेको छ। कोभिड खोपको उत्पादन गरेर भारतले मानवताको रक्षाका लागि विश्वकल्याणको निम्ति ठूलो भूमिका निर्वाह गरेको छ। यसले अन्तर्राष्ट्रिय स्तरमैं उसको विश्वसनीयता र प्रभाव बढ्ने निश्चित छ। कोभिड खोपले नेपाललगायत विश्व समुदायको उत्साहलाई बढाएको छ।
कोरोना महामारीपछि भएको आर्थिक सङ्कटका बावजूद भारतले करीब १५० देशमा स्वास्थ्य सहायता पु–याएको छ। संयुक्त राष्ट्रसङ्घीय महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस मानवीय सङ्कटको सामना गर्न खोप उत्पादन र वितरण क्षमताको उपयोग गर्ने घोषणा गरेका थिए। मानवताको सेवा र विश्व समुदायको देखरेखप्रतिको हाम्रो प्रतिबद्धता र जिम्मेवारीलाई भारतले पूरा गर्ने आश्वासन उनले विश्व समुदायलाई दिएका थिए। शायद त्यही भएर होला ब्रजीलका राष्ट्रपतिले भारतबाट कोरोना खोप प्राप्त भएपछि आभार प्रकट गर्दै सञ्जीवनी बुटीको पहाड लग्दै गरेको भगवान् हनुमानको तस्वीरलाई अङ्कित गर्दै ट्वीट गरेका थिए।
सन् २०२० मा जब दक्षिण एशियामा कोरोना महामारीको प्रकोप शुरू भएको थियो, तब भारतले त्यसै बेला रेमेडेसिभिर, मास्क, पारासिटामोल, पञ्जा, पिपिईसेट र उपचारमा आवश्यक स्वास्थ्य सामग्री छिमेकी देशमा आपूर्ति गरेको थियो। त्यस्तै भारतले दक्षिण छिमेकी देशमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न विभिन्न चरणमा प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरेको थियो। भारतले विगत एक वर्षमा नेपाललाई पनि कोभिड महामारीसित मुकाबिला गर्न निरन्तर औषधि, पिसिआर परीक्षण किट, औषधि, आइसियू भेन्टिलेटर, एम्बुलेन्सलगायत उपकरण उपहारस्वरूप उपलब्ध गराउँदै आएको छ। महामारीअघि विश्वमा बन्ने कुल खोपको ६० प्रतिशत हिस्सा लिएको भारतीय कम्पनी सेरम इन्स्ट्च्यिुट पनि छिमेकी राष्ट्रलगायत विश्वभर आफ्नो उत्पादनमार्फत सम्बन्ध र प्रभाव विस्तार गर्न चाहन्छ। भारतको पुणेमा रहेको सेरम इन्स्ट्च्यिुटले प्रतिदिन लाखौं डोज कोरोनाविरुद्धको खोप निर्माण गर्ने गरेको छ। भारतकै बायोटेक र ज्वाइन्ट्स क्याडिलाजस्ता कम्पनी पनि खोप उत्पादनको अन्तिम चरणमा पुगेका छन्। भारतले शुरू गरेको खोप निर्यात कार्यक्रम अन्तर्गत साढे दुई करोड जति खोप निर्यात गरिसकेको छ। जसमध्ये ६५ लाख त अनुदानमैं उपलब्ध गराएको छ। नेपालसहित सेसलिस, अफगानिस्तान, भूटान, मालद्विप्स, कम्बोडिया, बङ्गलादेश, श्रीलङ्का र क्यारेबियन मुलुक डोमिनिका र बारबाडोसलगायत दर्जनौं देशलाई अनुदानस्वरूप खोप उपलब्ध गराएको छ।
विश्व स्वास्थ्य सङ्गठनको नेतृत्वमा स्थापना भएको कोभ्याक्स सुविधा अन्तर्गतको खोप पनि भारतमा निर्माण गरिने अस्ट्राजेनेकाको खोप हिस्सा ठूलो छ। यो वर्ष पहिलो ६ महीनामा २४ करोड डोज अस्ट्राजेनेकाले कोभ्याक्स उपलब्ध गराउनेछ, जसमध्ये १ करोड ७० लाख डोज भारतकै प्रतिद्वन्द्वी राष्ट्र पाकिस्तानले पाउनेछ। पाकिस्तानमा पनि भारतीय औषधि निर्माता कम्पनीले उत्पादन गरेको औषधि र खोपलाई नै विश्वसनीय मानिंदै आएको छ। खोपको लागि आवश्यक पूर्वाधार निर्माणमा जुटेको भारतले आफ्नो देशमा प्रयोग गरेको कुल खोपको मात्राभन्दा तीन गुणा बढी निर्यात गरेको छ।
दक्षिणी छिमेकी भारतले आफ्नो वार्षिक आर्थिक बजेट २०२१–२२ मा कोरोना भाइरसको खोपको निम्ति ३५ हजार करोड रुपियाँ विनियोजन गरेको छ। खोप अभियानको निम्ति भारतको आशावादिता र दृढ इच्छाशक्तिको यो ठूलो उदाहरण हो। भारतको कोरोना खोपको सफलताप्रति संयुक्त राष्ट्रसङ्घ र विश्व स्वास्थ्य सङ्गठनले पनि आफ्नो समर्थन जनाइसकेका कारण विश्वकै ठूलो खोप अभियान (भ्याक्सिनेशन क्याम्पेन) अघि बढाउन भारतले उत्पादन गरेको खोप ‘कोभ्याक्स’ र ‘कोभिशिल्ड’ भारतमा वितरण भइसकेको छ। सिरम इन्स्ट्च्यिुट अफ इन्डियाले उत्पादन गरेको कोभिशिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो।
भारतमा कोरोना खोपको उत्पादन हुन थालेपछि सहज र सुलभ तरीकाले खोप प्राप्त गर्ने देशको रूपमा नेपाल पनि रहेको छ। नेपाल–भारतबीच परम्परागत बहुआयामिक सम्बन्धको परिप्रेक्ष्यमा यो सहयोग अपेक्षित पनि थियो साथै सङ्कटको बेला अविस्मरणीय सहयोग पनि।
६ वर्षअघि नेपालमा महाविनाशकारी भूकम्पले व्यापक क्षति पु–याउँदा पनि सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र भारत नै थियो। भूकम्पका कारण क्षतिग्रस्त तातोपानी नाका अहिलेसम्म पनि सञ्चालन हुन सकेको छैन। त्यसैगरी, गत वर्ष कोरोना महामारीको सङ्क्रमण शुरू भएसँगै उत्तरी छिमेकी चीनले केरुङ नाका पनि बन्द गरिदिएको थियो, जुन हालै सञ्चालनमा आएको छ तर दक्षिणी छिमेकी भारतबाट आपूर्ति कहिल्यै बन्द भएन। खाद्यान्न, फलफूल, तरकारी, औषधि, इन्धन तथा आवश्यक सामग्री निर्बाध आयात हुँदै आएको छ। विषम र विकट घडीमा सहयोग गर्ने मित्रलाई नै सच्चा सहयोगी मान्ने गरिन्छ। नेपालको चौतर्फी विकास र प्रत्येक सङ्कटको घडीमा सहयोग गर्न भारत सदैव तत्पर रहँदै आएको छ। कोरोना महामारीका कारण अस्तव्यस्त हुन पुगेको हाम्रो आर्थिक व्यवस्थालाई सुदृढ बनाउन यो सहयोगी साबित हुन सक्छ।
नेपालका प्रायः सबै उद्योगको निम्ति चाहिने कच्चा पदार्थ भारतबाट नै आउने गरेको छ। नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच होस् भन्ने नेपालको चाहना रहिआएको छ। यस विषयमा कतिपय महत्वपूर्ण सम्झौता पनि भएका छन् र आवश्यक पाइला पनि चालिएका छन्। भारतका ठूला ऊर्जा उत्पादन कम्पनीहरूले माथिल्लो कर्णाली र अरुण तेस्रो एवं तल्लो अरुण जलविद्युत् परियोजनामा लगानी गरेका छन्, यसबाट नेपाललाई पनि ठूलो लाभ पुग्नेछ। कोरोना महामारीका कारण सृजित विषम परिस्थितिमा नेपालको अर्थतन्त्रमा ठूलो –हास आएको छ। कोरोना महामारीका कारण नेपालका ठूला उद्योगलाई चाहिने कच्चा पदार्थको प्राप्ति, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन तथा बजारीकरण सबै क्षेत्रमा असर परेको छ। नेपालजस्तो देशमा जहाँ उद्योगधन्दाको राम्रो अवस्था छैन र नयाँ–नयाँ उद्योग खुल्न सकिरहेका छैनन्, कोरोनाले थप पीडा पु–याएको छ। कोभिडविरोधी खोप आएपछि अब यसमा पनि सुधार आउनेमा नेपालको उद्योगजगत् आशावादी छ। त्यसैगरी, होटल व्यवसाय पनि विगत एक वर्षदेखि ठप्प छ। तत्काल भारतीय पर्यटकलाई भिœयाएर पनि यस क्षेत्रलाई राहत दिनु आवश्यक छ तर सरकारले सीमानाका सञ्चालनमा ल्याएको छैन। तत्काल विदेशी पर्यटक आउने सम्भावना छैन। भारतीयलाई पनि आकर्षित नगर्ने हो भने होटल व्यवसाय चौपट हुने निश्चित छ। खोप उत्पादन हुन थालेपछि अब जनजीवन सामान्य हुन थालेको छ। पठनपाठन, कार्यालय, व्यापार, यातायात सबै क्षेत्र पूर्ववत् अवस्थामा फर्किन थालेको छ। कोभिड खोपको उत्पादनपछि नेपाली जनतामा खुशी छाएको छ। जनजीवन सामान्य हुन थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here