२१ गते प्रतीकमा विश्वराज अधिकारीको लेख ‘बेरोजगारीको लागि हाम्रो शिक्षा नीति दोषी छ’ पढें। यसमा कुनै दुई मत छैन कि बेरोजगारीको लागि हाम्रो शिक्षा नीति, सोच र व्यवहार दोषी छन्। तर हामीलाई यो शिक्षा नीति पनि तपाईंले बखान गरेको युरोपले नै दिएर गएको हो। हाम्रो रैथाने शिक्षा मासेर मैकालेको क्लर्कको फौज तयार पार्ने शिक्षा नीति दिएर गए। तर आफूकहाँ त्यसको नामोनिशान पनि रहन दिएनन्। हो, हाम्रो कमजोरी यो हो कि हामीले त्यसलाई नबदलेर अहिलेसम्म बोकी हिडिरहेका छौं। यसमा लेखकले भने अनुसारका सुधार आवश्यक छ। विद्यालयमा शिक्षक र विद्यार्थी दुवैले राजनीतिमा लाग्ने कुरा मलाई पनि उचित लाग्दैन। तर त्यस्तो हुनु यहाँको विवशता पनि होला। भारत गुलाम रह्यो, नेपालमा राणाको क्रुरता। भारतमा स्वयम् महात्मा गाँधीले त्यसको विरुद्ध विद्यार्थीलाई आह्वान गर्नुपरेको थियो। अब त्यहाँका विद्यार्थीहरूको राजनीतिबाट टाढा बस्ने सिलसिला शुरू भइसकेको छ। हाम्रोमा त भारतको स्थिति पनि आउन सकेको छैन। विपीले शुरू गरेको तरुण दल र नेविसङ्घ बोक्नु हाम्रो नियति बनिसकेको छ। तापनि हजुरले अमेरिका गएको कति भयो ? मलाई थाहा छैन। यसबीच यहाँ पनि साना–ठूला रोजगार दिन सक्ने शिक्षा शुरू भइसकेको छ। अहेब, सिअहेब, ल्याब टेक्निसियन, रेडियोग्राफर, चिकित्सक, इन्जिनीयर, पोलिटेक्निक, कृषि संस्थान आदि इत्यादि थुप्रै प्राविधिक शिक्षालय छन्। त्यसैले त एउटाको लागि हजारौं निवेदनको डङ्गुर लाग्छ। तर यसको कारण यहाँको जनसङ्ख्याको वृद्धि पनि हो। एक त सरकारसँग रोजगारको कुनै रोडम्याप छैन र त्यसमाथि जनसङ्ख्याको बढ्दो चाप। सोच्नुस् त क्यानडा र भारत वा नेपालको बारेमा। क्यानडाको क्षेत्रफल भारतभन्दा तीन गुणा बढी छ तर जनसङ्ख्या केवल दिल्लीको बराबर। त्यहाँ त निवेदक आइदिए पनि धन्य मानिन्छ होला। यहाँ निवेदनको डङ्गुर नलाग्ने कुरै आउँदैन। हो सोच र व्यवहार बिल्कुल तपाईंले भने अनुसार नै छ– ‘एक त गिरल गाछीपर से उपरसे लागल मुअडी।’ एक त सरकारले रोजगार दिन सकेको छैन, त्यसमाथि ‘का बबुआ हमर हर चलाई ?’को मुअडी तयार छ बज्रनको लागि। यस मानसिकताबाट बाहिर निस्कनै पर्छ। धन्यवाद धेरै नेपालीको सोचमाथि हण्डर चलाएर झकझकाइदिएकोमा।
डा शिवशङ्कर यादव, छपकैया, वीरगंज