उमाशङ्कर द्विवेदी

ब्राह्मणमा सत्य, साधुहरूमा नम्रता र यज्ञमा लक्ष्मीको हुनु जसरी निश्चित छ, त्यसै प्रकार जहाँ नारायण छन्, त्यहाँ विजय पनि निश्चित छ। भोलि बिहान हँुदैमा मेरो रथ तयार रहोस्, यस प्रकारको प्रबन्ध मिलाउनुहोस्, किनभने हामीमाथि ठूलो काम आइपरेको छ।
तदन्तर अर्जुनले श्रीकृष्णसित भने–“भगवन्, अब तपाईं गएर सुभद्रा र उत्तरालाई सम्झाइबुझाइ गरेर उनीहरूको शोकलाई साम्य पार्नुहोस्।” अनि धेरै उदास भई श्रीकृष्ण अर्जुनको शिविरभित्र गएर पुत्रशोकले पीडित आफ्नी बहिनीलाई ढाडस दिन थाले। उनले भने– “हेर बहिनी, तिमी र बुहारी उत्तरा दुवैले शोक न गर। कालद्वारा एक दिन सबैको यस्तै गति हुन्छ। तिम्रो पुत्र उत्तम वंशमा उत्पन्न, धीर, वीर र क्षत्रिय थियो, यो मृत्यु उसको योग्य नै भएको हो, त्यसैले शोकलाई त्याग गर। हेर, बडे बडे सन्त पुरुष तपस्या, ब्रह्मचर्य, शास्त्रज्ञान र सद्बुद्धिद्वारा जुन गतिलाई प्राप्त गर्न चाहन्छन्, त्यही गति तिम्रो पुत्रलाई प्राप्त भएको छ। तिमी वीरमाता, वीरपत्नी, वीरकन्या र वीरकी बहिनी हौ, कल्याणी, तिम्रो पुत्रलाई उत्तम गति प्राप्त भएको छ, तिमी उसको लागि शोक न गर। बालकको हत्या गर्ने पापी जयद्रथ यदि अमरावतीमा गई लुक्यो भने पनि अब अर्जुनको हातबाट ऊ बच्न सक्नेछैन। भोलि तिमीले सुनौली कि जयद्रथको टाउको छिनिएर समन्त पञ्चकबाट बाहिर गएर खसेको छ। शूरवीर अभिमन्युले क्षत्रिय धर्मको पालना गर्दै सत्पुरुषहरूको गति प्राप्त गरेको छ, जसलाई प्राप्त गर्नको लागि हामीहरू तथा अर्का शस्त्रधारी क्षत्रियहरूले पनि चाहना राख्दछन्। रानी बहिनी, फिक्री न गर र बुहारीलाई पनि धैर्य देऊ। अर्जुनले जस्तो प्रतिज्ञा गरेका छन्, त्यो ठीकै हो, त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। तिम्रो स्वामीले जे गर्न चाहन्छन्, त्यो निष्फल हुन सक्दैन। मानिस, नाग, पिशाच, राक्षस, पक्षी, देउता र असुर पनि युद्धमा जयद्रथको सहायता गर्न आए पनि ऊ भोलि जीवित रहन सक्दैन।”
श्रीकृष्णको कुरा सुनेर सुभद्राको शोक झन् उर्लिएर आयो तथा उनी झन् अधैर्यपूर्वक विलाप गर्न थालिन्– “हो पुत्र, तिमीविना आज म मन्दभागिनी भइसकेकी छु। बाबु, तिमी त आफ्नो पिताझैं पराक्रमी थियौ र पनि युद्धमा कसरी मारियौ ? पाण्डव, वृष्णिवंशी तथा पाञ्चालवीरहरू छँदाछँदै तिमीलाई कसले अनाथझैं मा–यो ? आज भीमसेनको बललाई पनि धिक्कार छ। अर्जुनको धनुष धारण र वृष्णि तथा पाञ्चाल वीरहरूको पराक्रमलाई पनि धिक्कार छ। केकय, चेदि, मत्स्य र सृञ्जय वीरहरूलाई पनि धिक्कार छ।” यस प्रकार शोकबाट दुर्बल एवं दीनभावले विलाप गरिरहेकी सुभद्राको छेउमा द्रौपदी र उत्तरा पनि आइपुगिन्। अब त उनीहरूको शोकको सीमा नै रहेन। सबै क्वांँक्वाँ गरेर रुन थाले र उन्मत्त भई पृथ्वीमाथि लडेर बेहोश भए। उनीहरूको यो दशा हेरेर श्रीकृष्ण अत्यन्त दुःखित भए तथा उनीहरूलाई होशमा ल्याउनको लागि प्रयत्न गर्न थाले। उनले पानीको छिट्टा हानेर उनीहरूलाई सचेत पार्दै भने–“सुभद्रे, अब पुत्रको लागि शोक न गर। द्रौपदी, तिमीले उत्तरालाई सम्हाल। अभिमन्युलाई बडो उत्तम गति प्राप्त भएको छ। हामीले चाहन्छौं कि हाम्रो वंशमा जुन श्रेष्ठ पुरुषहरू छन्, ती सबैलाई पनि अभिमन्युको झैं गति प्राप्त होस्। तिम्रो महारथी पुत्र एक्लैले जुन काम ग–यो, त्यस्तै काम हामी र हाम्रा सुह्दहरूले पनि गर्न सकून्।”
सुभद्रा, द्रौपदी र उत्तरालाई यस प्रकारले आश्वासन दिएर भगवान् श्रीकृष्ण पुनः अर्जुनको छेउमा गएर भने–“अर्जुन, तिम्रो कल्याण होस्, अब गएर सुतिहाल, म पनि गइरहेको छु। यति भनेर उनले अर्जुनको शिविरको ढोकामा द्वारपालहरूलाई उभ्याइ अनेकौं शस्त्रधारी रक्षक तैनाथ गरिदिए। अनि उनले दारुक (श्रीकृष्णको सारथि)लाई साथमा लिएर आफ्नो छाउनीमा गई धेरैजसो कुरा विचार गर्दै शøयामाथि पल्टिए। आधा रातपछि उनको निद्रा खुलिहाल्यो, अनि उनले अर्जुनको प्रतिज्ञाको स्मरण गरेर दारुकसित भने– “पुत्रशोकले व्यथित भएको कारणले अर्जुनले यो प्रतिज्ञा गरेको छ कि म भोलि जयद्रथको वध गरिहाल्नेछु तर द्रोणाचार्यको रक्षामा रहने पुरुषलाई इन्द्रले पनि मार्न सक्दैनन्। त्यसैले भोलि म यस्तो व्यवस्था गर्नेछु, जसबाट अर्जुन सूर्य अस्त हुनुभन्दा अगावै जयद्रथलाई मार्न सकून्। दारुक, मेरोलागि स्त्री, मित्र अथवा बन्धु–बान्धव आदि कोही पनि कुन्तीनन्दन अर्जुनभन्दा प्रिय छैनन्। यस संसारलाई अर्जुनविना म एकक्षण पनि हेर्न सक्दिनँ। यस्तो हुनै सक्दैन। अर्जुनको लागि म कर्ण, दुर्योधन आदि सबै महारथीलाई उनीहरूको घोडा र हात्तीहरूसहित मार्न सक्दछु। भोलि सम्पूर्ण दुनियाँले थाहा पाइहाल्नेछ कि म अर्जुनको मित्र हँु।” क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here