वनजङ्गल मानवजीवनको लागि नभई नहुने कुरा हो। मानव जन्मेदेखि मृत्युपर्यन्त वनजङ्गल चाहिन्छ। घर बनाउन, आगो बाल्न वा फर्निचरका विभिन्न सामग्री बनाउन त मानिसले वनजङ्गलको प्रयोग गरेकै छ। मानवजीवनको लागि नभई नहुने आक्सिजन पनि वनजङ्गल तथा बोटबिरुवाबाट नै प्राप्त हुने हो। वन सम्पदामा जङ्गलछेउका मानिसको मात्रै होइन कि संसारमा जति पनि प्राणी छन्, ती सबैको अधिकार बराबर छ। संसारमा प्रकृतिले दिएका सम्पदा धेरै छन्। जस्तै नदी, ताल, समुद्र, मरुभूमि, खोला, झर्ना, हिम शृङ्खला, वनजङ्गल, ज्वालामुखी, विभिन्न खानी आदि इत्यादि। यी सम्पदाहरूले कुनै न कुनै रूपमा मानवलाई जोखिमका साथै फाइदा पु–याइरहेका हुन्छन्। यसमध्ये कम जोखिम तर धेरै फाइदा लिन सक्ने क्षेत्र वनजङ्गल नै हो।
यसबाट फाइदा टाढाकाले भन्दा नजीककाले नै बढी उठाइरहेका हुन्छन्। वनजङ्गल आसपासका क्षेत्रमा अन्यत्रभन्दा पर्यावरण सन्तुलन रहन्छ। वर्षामा पानी पर्ने, मुहान सुरक्षित हुनुका साथै भूमिगत पानीका स्रोतहरू तयार हुन्छन्। त्यसैगरी, भूक्षय नियन्त्रण एवं खेतीयोग्य भूमिलाई उर्वरा बनाइ कृषि उत्पादनमा बढोत्तरी गर्छ। जहाँ वनजङ्गल त्यहाँ पर्यटन प्रवर्धनको पर्याप्त सम्भावना रहने भएकोले स्थानीयस्तरको आर्थिक उन्नतिमा टेवा पुग्छ। त्यसैगरी, जङ्गल क्षेत्र जडीबुटी उत्पादन एवं खोज अनुसन्धान स्थल पनि हो। यसले स्थानीयस्तरको पहिचान साथै स्वरोजगार सृजना गर्छ। त्यति मात्रै होइन, वनजङ्गलबाट काठ, पात, घाँस, दाउरा पाउने पनि नजीकका बासिन्दा नै हुन्। जङ्गलभन्दा टाढा रहेर पनि वातावरण प्रदूषण बढाउने उद्यम एवं क्रियाकलाप गरेबापत शुल्क तिर्नेहरूले तिरेको पैसा रेड प्लस अर्थात् कार्बन उत्सर्जनको नाममा आज वनजङ्गल क्षेत्रका बासिन्दाहरूकै लागि खर्च भइरहेको छ। हाम्रो मुलुकमा पनि वनजङ्गल क्षेत्रका बासिन्दाहरूको चौतर्फी विकासका लागि नेपाल सरकार र विभिन्न दातृ निकायहरूले काम गरिरहेका छन्। फाइदा लिन नसक्नु स्थानीयको अचेतनपन र सम्बन्धित जनप्रतिनिधिहरूको कमजोरी हो। वनक्षेत्रका बासिन्दालाई जोखिम जङ्गली जनावरबाट मात्रै छ। सुरक्षाका मापदण्ड अपनाउन नसक्दा वा होशियारी पु–याउन नसक्दा यस्ता घटना धेरै भएका छन्। फेरि पनि यो अन्य प्राकृतिक सम्पदाहरूभन्दा कम जोखिम छ।
यो लाभकारी प्राकृतिक सम्पदा वनजङ्गललाई बुझ्न सक्ने हो भने आसपासकै बासिन्दाले जोगाउनुपर्ने हो। तर यहाँ त उल्टो भइरहेको छ। आबादीको सीमा विस्तार गर्न जङ्गल अतिक्रमण गर्ने, दाउरा, घाँसको नाममा हरियो रूख पँmडानी गरेर नाश पार्ने, बहुमूल्य रूखहरू अवैधरूपमा चोरी कटानी र तस्करी गर्ने, डढेलो लगाएर वनविनाश गर्नेलगायतका कार्य वनजङ्गल छेउछाउका बासिन्दाले नै बढी गरिरहेका छन्। पर्सा, बाराको क्षेत्रमा पनि यही अवस्था छ। यहाँ वन जोगाउनका लागि डिभिजन वन, निकुञ्ज, सेना, प्रहरी, स्थानीय वन समूह, समिति रहे तापनि वनविनाशको क्रम रोकिएको छैन। घरभित्रै चोर सदस्य छ भने घरमूलीले जति नै प्रयास गरे पनि उपाय लाग्दैन। अपनाइएको रोकथामका उपायहरूबारे भित्रका सदस्यले बाहिर आफ्नो गिरोहलाई जानकारी गराउने हुँदा ती प्रयासहरू असफल हुन्छन्। यसर्थ पहिले भित्रकालाई चेतना दिनु र चोर पत्ता लगाएर कडा कारबाई गर्नु जरुरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here