बाराको सिम्रौनगढ–४ हरिहरपुरमा ऐतिहासिक महत्वको मूर्ति फेला परेको छ। यो क्षेत्र आफैंमा प्राचीन सांस्कृतिक महत्वको स्थल हो। यसमा पनि थप ऐतिहासिक महत्वको मूर्ति फेला परेको छ। ऐतिहासिक यस अर्थमा कि यहाँ हालसम्म फेला परेका मूर्तिहरूभन्दा पछिल्लोपटक फेला परेको मूर्तिको आकार ठूलो छ। निजी जग्गामा पोखरी खन्ने क्रममा जमीनको सतहभन्दा करीब ७ फिटमुनि उक्त मूर्ति फेला परेको हो। कालो पत्थरले बनेको भगवान् विष्णुको मूर्ति जेसिबीले खन्ने क्रममा टुक्रा परेको छ। मूर्तिको कलाकृति शैली हेर्दा १३औं शताब्दीभन्दा पहिलेको हुन सक्ने अनुमान गरिएको छ, तर यस विषयमा तथ्यगत एवं वैज्ञानिक परीक्षण हुन बाँकी छ। मानव सभ्यताको खोज तथा अनुसन्धान गर्ने क्रममा विश्वमा आज ठूलो धनराशि खर्च गरिरहेको छ। बितेका दिनमा के थियो र त्यस अवधिदेखि पहिले वा पछि के भयो ? मानिसको कौतुहलता छ। पहिलेका घटनाक्रमहरूबारे वास्तविकता जानकारी भए मात्रै सोही आधारमा पछि आउने समयको अनुमान लगाउन सकिन्छ। सोही आधारमा पछि हुने सम्भावित घटनाको सामना गर्न मानवले पूर्वतयारी गरिरहेको हुन्छ।
यस मामिलामा हाम्रो मुलुक धेरै पछि छ। सिम्रौनगढ जस्तो मानव सभ्यताको खोज अनुसन्धान गर्न सहज प्राचीन सम्पदा अन्य मुलुकहरूमा भइदिए उनीहरूले आफूलाई भाग्यमानी ठान्ने थिए र विश्वमा आफ्नो मुलुकको शिर उँचो पार्ने थियो। काठमाडौं उपत्यकामा मानव बसोबासभन्दा पहिलेदेखि नै सिम्रौनगढमा मानव बसोबास गरिसकेको थियो। उपत्यकाका तत्कालीन राजाहरूले समेत गर्व गर्ने सिम्रौनगढको सम्मानमा यहाँका कलाकृति अङ्कित मुद्रासमेत भक्तपुरका राजाले चलाएका थिए। नेपालको प्राचीन राजवंश गोपाल ‘गुप्ता’ वंशभन्दा पनि पुरानो ‘विदेह गणराज्य’ अर्थात् मिथिला राज्यकालमैं सिम्रौनगढ उर्वरा अनि घना र धार्मिक भूमिको रूपमा विकास भइसकेको थियो। यो प्रतापी, तेजस्वी, धार्मिक, ऐतिहासिक, भौगोलिक एवं प्राकृतिकरूपमा प्रख्याती कमाएको भूमि भएकोले पछि कर्नाटवंशी राजाहरूले सन् १०९७ मा राज्य स्थापना गरे र करीब तीन सय वर्ष शासन गरेका थिए। पौराणिक तथ्य, लोकोक्ति एवं किंवदन्तीहरूलाई प्रमाणित गर्ने आधारहरूको खोजी हुनुपर्छ। त्यो प्रमाण सिम्रौनगढमा यत्रतत्र सर्वत्र बोलिरहेको छ। यसलाई बुझ्ने र चिन्ने प्रयास भएको छैन।
सिम्रौनगढ क्षेत्रमा भूमिको भौतिक संरचना परिवर्तन गर्ने किसिमका सबै क्रियाकलाप तत्काल बन्द गरिनुपर्छ। आवश्यक परे भूमि अधिग्रहणसमेत गर्नुपर्छ। विश्वको ध्यानाकर्षण गराउन सक्ने सम्पदा हातमा भएर पनि चाल नपाउने हाम्रो मुलुकले अझैसम्म सिम्रौनगढको संरक्षण, विकास र खोज अनुसन्धान तथा पर्यटन प्रवर्धनको गुरुयोजना बनाउन सकेको छैन। माटो माथिबाट हेर्दा जमीनभित्रका वस्तु पत्ता लगाउन सक्ने यन्त्रको विकास भइसकेको छ। विज्ञान प्रविधिले कुनै पनि वस्तु यति वर्ष पुरानो भन्ने कुरा सहजै बताइदिन्छ। तर यस्तो कुनै पनि प्रयास भएको छैन। महत्वपूर्ण त सिम्रौनगढको नाम नामेट हुनेगरी पोखरी खनिंदै छ। प्राचीन सम्पदा नष्ट हुनेगरी जमीनको सतह परिवर्तन गरिंदै छ, र तीनै तहका सरकार मूकदर्शक बनेका छन्। सिम्रौनगढलाई चिन्न र चिनाउन सके यहाँका बासिन्दालाई मात्रै होइन, यो मुलुकलाई नै यसले समृद्ध बनाउन सक्छ। त्यसको लागि मुलुक र मुलुकवासी ब्यूँझन सक्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here