रामेश्वर मेहता, सिम्रौनगढ, ५ चैत/
सिम्रौनगढ नगरपालिका–९ कचोर्वा बसबरियासँगै रहेको भारतीय सीमावर्ती पिठवा गाउँमा मङ्गलवार अनौठो किसिमको माछा फेला परेको छ ।
दशगजानजीकको पिठवा गाउँका मानिसहरूले त्यहाँ रहेको अरुवा नदीमा माछा मार्ने क्रममा सकरमाउथ नामले चिनिने दुर्लभ माछा फेला परेको स्थानीय शिवपूजन कुशवाहाले बताए ।
उनले नदीको पानी सुकेको कारण आफूसहित स्थानीय युवकहरू माछा मार्ने क्रममा सकरमाउथ माछा चारवटा फेला पारेको बताए । भारतीय युवकहरूले माछा मार्ने क्रममा सकरमाउथ माछा फेला पारेका र अहिले गाउँमा यो माछालाई जोगाएर राखिएका उनले जानकारी गराए ।
माछाका जानकार धर्मेन्द्र कुमारले प्रारम्भिक बुझाइमा सकरमाउथ नामले चिनिने यो माछा भारतमा नपाइने र अमेरिकाको अमेजन नदीमा पाइने बताए । उनले सकरमाउथ नामले चिनिने यो माछा शिकारी जातको भएको र यसले नदीका अन्य माछाहरू खाने बताए । आज यो माछा फेला परेपछि सिम्रौनगढ र भारतको पिठवा गाउँबाट थुप्रै मानिसको माछा हेर्न भीड लागेको थियो ।
माछा मार्ने युवक कुशवाहाले अहिलेसम्म यस प्रकारको विचित्रको माछा नदेखेको बताए । उनले माछाको प्रारम्भिक पहिचान भएको र मानिसहरूले यो माछा फेला पर्नु अशुभ सङ्केत भएको टिप्पणी गरेको बताए । गाउँलेहरूले सकरमाउथ माछा नदीको लागि पनि खतरा हुने बताएका छन् ।
चारवटै माछा २५० ग्रामको दरले एक किलो तौलका छन् र यस माछाको खाने मुख अन्य माछाभन्दा फरक छ । यो सकरमाउथ माछाको मुख तल छ भने यसको माथिल्लो कवच बुट्टेदार र काँटेदार छ ।