प्रस, रौतहट, २७ फागुन/
गौर राइस मिल बचाऊ समिति, रौतहटले मङ्गलवार गौर नगरपालिकाका विभिन्न वडाहरूमा जनजागरण अभियान सञ्चालन गरेको छ ।
नेकपा एमाले, नेपाली काङ्ग्रेस लगायतका दल तथा स्थानीयवासीहरूको सक्रियतामा गौर नगरपालिकाका विभिन्न वडाहरूमा जनजागरण अभियान तथा सभाको आयोजना गर्दै गौर राइस मिललाई भूमाफियाहरूबाट बचाउन आग्रह गरिएको छ ।
गौर नगरपालिकाको सबगढामा आज आयोजित जनजागरणसभामा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अजय गुप्ताले गौर राइस मिल गौरवासीको धरोहर रहेको, राजनीतिक दलको सभा गर्ने स्थल, खेलाडीको खेल खेल्ने ठाउँ भएकोले बिक्री गर्न नहुने बताए ।
उनले राइस मिलको हकदार नरहेको तर नक्कली कागजात बनाइ दाबी गर्दै आएका भूमाफियाहरूलाई पक्राउ गरी कारबाई गर्न माग गरे ।
राइस मिल बिक्री गर्न गौर नगरपालिकाका प्रमुख शम्भु साह लागिपरेको आरोप लगाउँदै नगरप्रमुख साहले अविलम्ब सार्वजनिकरूपमा जनतासँग माफी माग्नुपर्ने उनले बताए । उनले नगरप्रमुख साहले मिल नबेच्ने प्रतिबद्धता जाहेर गर्दै नगरवासीसँग माफी माग्नुपर्ने माग राखे ।
कार्यक्रममा नेकाका मोहनप्रसाद यादव, पूर्वउपप्रमुख किरण ठाकुर, नेता श्यामसुन्दर पटेल, भूषण सिंहलगायतले गौर राइस मिल कुनै पनि हालतमा कुनै पनि शक्ति लागेर बिक्री गर्न नसक्ने बताए । फर्जी कागजातका आधारमा गौरको धरोहरलाई बिक्री गर्न नदिने उनीहरूले प्रतिबद्धता जाहेर गरे ।
यस अघि आज बिपी चोकमा नगरप्रमुख साहविरुद्ध टायर बालेर नाराबाजी गरिएको थियो । प्रदर्शनकारीहरूले नगरप्रमुख साहले
गौर राइस मिल बिक्री गर्न लागेको भनेर उनको राजीनामा माग गरेका थिए ।