ठाराबमा १४ र नर्सिङमा तीनवटा समूहको उम्मेदवारी दर्ता

नितेश कर्ण, वीरगंज, २७ फागुन/
वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पस र चिकित्साशास्त्र अध्ययन संस्थान (वीरगंज नर्सिङ क्याम्पस)मा मङ्गलवार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ ।

ठाराब क्याम्पस स्ववियु निर्वाचनको लागि सङ्घ, सङ्गठन, संयुक्त प्यानल र समूह गरी ३४ वटा दर्ता परेकामा आज १४ वटा समूहले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृत दिलीप सिंहले प्रत्यक्ष र समानुपातिक गरी १४ वटा सङ्घ, सङ्गठन, संयुक्त प्यानल र समूहले उम्मेदवारी दर्ता गराएको बताए । समाजवादी विद्यार्थी युनियनबाट सभापतिमा हरिकिशोर यादव, समाजवादी विद्यार्थी युनियन नेपालबाट सगीर अलि, जय नेपाल विद्यार्थी सङ्घबाट राजु गुप्ता, स्वतन्त्र विद्यार्थी युनियनबाट दिलीपराज महतो, नेपाल विद्यार्थी समूहबाट राजकुमार यादव, अनेरास्ववियुबाट पवन यादव, स्वतन्त्र युवा समूहबाट श्याम गुप्ता, नेपाल विद्यार्थी कल्याण समूहबाट धर्मेन्द्र साह कानू, नेपाल विद्यार्थी सङ्घबाट विकास मण्डल धानुक, राष्ट्रिय विद्यार्थी सङ्घबाट सुधांशु चौरसिया, अखिल क्रान्तिकारीबाट अनिल पटेल, पिस फर चेन्ज स्वतन्त्र विद्यार्थी युनियनबाट सिकेन्द्र यादव, सुधीर पटेल समूहबाट कमलेश यादव र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट दिनेश साहको उम्मेदवारी परेको निर्वाचन अधिकृत सिंहले बताए ।

स्ववियुका लागि सभापति, सचिव र कोषाध्यक्ष तथा सदस्यहरू प्रत्यक्ष र बाँकी समानुपातिकबाट निर्वाचित हुने बताइएको छ । उम्मेदवारी दर्ता गराएकाहरूले प्यानलसहित प्रत्यक्ष र समानुपातिकमा नाम दर्ता गराएका छन् ।

यसैगरी, वीरगंज नर्सिङ क्याम्पसमा चारवटा समूहले दल दर्ता गराएकामा तीनवटाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत अञ्जुकुमारी महतोले बताइन् । यो क्याम्पसमा अखिल क्रान्तिकारीबाट अध्यक्षमा कविता आचार्य, नेपाल विद्यार्थी सङ्घबाट दियांशु श्रेष्ठ र अनेरास्ववियुबाट आरजु रायले प्यानलसहित प्रत्यक्ष र समानुपालिकमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत महतोले बताइन् ।

उम्मेदवारी दर्ताका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्मको समयावधि थियो । स्ववियु निर्वाचन आगामी चैत ५ गते हुनेछ । ठाराबमा १० हजार ८०५ मतदाता छन भने नर्सिङमा २७५ जना मतदाता छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्