सवारीसाधन र टाँगा व्यवसायीलाई ट्राफिक सचेतना

प्रस, वीरगंज, २७ फागुन/
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले मङ्गलवार वीरगंज महानगरपालिका–१७ र १९ को दोसाँधमा रहेको तिलावे पुलमा सवारी छडके र सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

पर्साका ग्रामिण क्षेत्रबाट महानगर प्रवेश हुने मुख्य नाकामा रहेको तिलावे पुल भएर सञ्चालित २० भन्दा बढी सवारीसाधन चलाउने चालकहरूलाई सवारी नियमबारे सचेत गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख लोकराज भट्टले बताए । उनले सवारी चालकहरूलाई सवारी चालक अनुमति पत्र, सवारीसाधनधनी प्रमाणपत्र बोकेर सवारी नियम पालना गरी सवारीसाधन सञ्चालन गर्न सुझाएको बताए । उनले सवारी नियम पालना नगर्दा हुने दुर्घटनाबारेमा अवगत गराएको बताए । पछिल्लो समय ट्राफिक नियम पालना नगर्दा दुर्घटनाहरू हुने गरेका र अनाहकमा मानिसहरू घाइते हुने, ज्यान गुमाउने जस्ता घटनाहरू भएकाले यसबारेमा सवारी चालकहरूलाई जानकारी गराएको बताए ।

यसैबीच, ग्रीनसिटी सामुदायिक सेवा केन्द्र र वीरगंज महानगरले पनि आज वीरगंजमा टाँगा सञ्चालकहरूलाई सचेत पारेको छ । टाँगा सञ्चालनका लागि बसपार्कबाट मितेरीपुलसम्म बाइपास सडक प्रयोग गर्न सुझाएका र सो क्रममा घोडाहरूको मल व्यवस्थापनका लागि निर्देशन दिएको नगरप्रहरी प्रमुख हरि भुसालले बताए ।

ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानले २०५६ सालमा घोडा सञ्चालकहरूलाई घोडाको मल जथाभावी सडकमा नहोस् भनेर मलद्वारमा बोरा झुन्ड्याउन र गन्तव्यमा पुगेर त्यसको व्यवस्थापन गर्न भनिएको तर सो कार्य नगरेको कारण सडकमा जथाभावी घोडाको मलले वातावरण दूषित पारेको बताए । उनले सो कार्य नगर्ने टाँगा सञ्चालकलार्य कारबाई गर्नुपर्ने बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्