प्रस, वीरगंज, २६ फागुन/
नेशनल प्याब्सन पर्साको आयोजनामा सोमवारदेखि जुनियर टी–२० क्रिकेट प्रतियोगिता शुरू भएको छ । नारायणी क्रिकेट मैदानमा शुरू भएको प्रतियोगिताको मधेस प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य जीतेन्द्र सोनलले उद्घाटन गरेका थिए । उनले प्रदेश सरकारले खेलकूद ऐन पारित गरेको र आगामी दिनमा मधेस प्रदेशमा खेलकूदको तीव्र विकास हुने सम्भावना बढेको बताए ।
उनले खेलकूदका लागि योजना बनाएर आएको खण्डमा आफूले प्रदेश सरकारबाट आवश्यक सहयोग गराउने आश्वासन दिए । उनले पछिल्लो समयमा पर्सा र बारा जिल्लामा खेलकूदका गतिविधिहरू बढ्दै गएको बताए । क्रिकेट खेल लोकप्रिय भएको र नेपालले पनि यो खेलको माध्यमबाट विदेशमा देशको नाम बढाएको बताए ।
नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन समारोहमा एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष डा नन्दन यादव, सचिव इन्द्रदेव साह, पर्साका उपाध्यक्ष विनोद गुप्ता, कोषाध्यक्ष राजेशकुमार लिम्बू, प्रतियोगिता संयोजक सन्तोष साहलगायतको सहभागिता थियो ।
जुनियर टी–२० क्रिकेट प्रतियोगितामा जिल्लाबाट एनप्याब्सनमा आबद्ध ज्ञाननिकेतन, विद्यासदन, सिद्धार्थ एकेडेमी, एन्जल वल्र्ड, ओसिस मावि, मदरल्यान्ड, पर्सा ईश्वर इङ्गलिश बोर्डिङ स्कूल, आइडियल एकेडेमी, माउन्ट हर्मन, जेपिएस एकेडेमी, ज्ञानोदय मावि, मिसन एकेडेमी, विभूति एकेडेमी, ममता विद्या मन्दिर, शान्ति निकेतन स्कूल, कन्हैया साह इङ्गलिश स्कूल गरी १६ वटा विद्यालयका विद्यार्थीहरू सहभागी छन् ।