प्रस, वीरगंज, २६ फागुन/
केडिया आँखा अस्पताल परवानीपुरले ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा बारा जिल्लाका १४ जना अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर र स्ट्रेचर प्रदान गरेको छ ।
सामाजिक अभियन्ता प्रकाश थारूको पहलमा कलैया उपमहानगरपालिकाका तीनजना, महागढीमाई नपाका दुईजना, सिम्रौनगढ नपाका एकजना, आदर्श कोतवाल गापाका आठजना गरी १४ जना अपाङ्गता भएकाहरूलाई ह्वीलचेयर वितरण गरिएको थियो । यसैगरी, आदर्श कोतवाल गापाका सुनीलकुमार यादवलाई स्ट्रेचर प्रदान गरिएको थियो ।
कार्यक्रममा केडिया आँखा अस्पतालका प्रतिनिधि भरत ठाकुर, सुशील पटेल, प्रहरी नायब निरीक्षक तुलसी पोखरेल, वडाध्यक्ष जवाहिर, मिथिला सारथि समाजका जीतेन्द्र पटेल सहभागी थिए ।