एचपिभी खोप लगाउन किशोरीहरू उत्साहित

प्रस, वीरगंज, ३० माघ/
पर्सा जिल्लामा एचपिभी खोप लगाउन किशोरीहरूको उत्साहजनक सहभागिता देखिएको छ ।

आज एकै दिन पर्सा जिल्लाका छवटा पालिकामा सञ्चालित खोपमा छ हजार ७० जना किशोरीले खोप लगाएका स्वास्थ्य कार्यालय, पर्साका फोकल पर्सन जयमोद ठाकुरले बताए ।

पर्सा जिल्लामा पहिलो चरणको खोप अभियान अन्तर्गत वीरगंज महानगर–१ देखि १६, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका र पर्सागढी तथा पोखरिया नगरपालिकामा माघ २२ गतेदेखि २८ गतेसम्ममा १३ हजार ९५७ जना किशोरीले खोप लगाएका थिए ।

यसैगरी, दोस्रो चरणमा माघ २८ गतेदेखि वीरगंज महानगरका १७ देखि ३२, पकाहामैनपुर, धोबिनी, ठोरी, विन्ध्यवासिनी, सखुवाप्रसौनी गापा र बहुदरमाई नपामा खोप सञ्चालनमा छ । बिहीवारसम्म २३ हजार ५९४ जना किशोरीले एचपिभी खोप लगाएको फोकल पर्सन ठाकुरले बताए । सामुदायिक विद्यालयका शिक्षकहरूले तलब नपाएको भनी बहुदरमाई नपामा माघ ६ गतेदेखि विद्यालय बन्द भएकोमा आजदेखि विद्यालय सञ्चालनमा आएको र आज एक हजार १०२ जना किशोरीले एचपिभी खोेप लगाएको उनले बताए ।