प्रस, वीरगंज, ३० माघ/
वीरगंज महानगरपालिकाले महानगरभित्र रहेका संस्थागत विद्यालयहरूमा अध्ययनरत ७०८ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।
चालू आवमा कक्षा ९ मा अध्ययनरत २२१ र कक्षा ११ मा ४८७ गरी ७०८ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको शिक्षा महाशाखा प्रमुख हरिराउत कुर्मीले बताए । उनले पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीहरूले भर्ना, मासिक शुल्क र आन्तरिक परीक्षाबापतका शुल्कहरू बुझाउनु नपर्ने बताए ।
महानगरले २०७६ सालदेखि संस्थागत विद्यालयहरूमा अध्ययनरत विद्यार्थी सङ्ख्या अनुसार १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आइरहेको उनले बताए ।
शुरूमा कक्षा ९ र ११ का विद्यार्थीहरूसँग परीक्षा लिएर छात्रवृत्ति प्रदान गर्दै आएको महानगरले हालका दिनमा कक्षा ८ र १० मा विद्यार्थीले पाएको प्राप्ताङ्कबमोजिम कुल सङ्ख्याको ५० प्रतिशत महिला हुनेगरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । कक्षा ९ र ११ का विद्यार्थीहरूले एकपटक छात्रवृत्ति पाएपछि स्वतः कक्षा१० र १२ मा छात्रवृत्ति पाउने प्रावधान छ ।
महानगरले छात्रवृत्ति प्रदान गर्दा ३७ प्रतिशत जेहेन्दार, ३२ प्रतिशत विपन्न, १० प्रतिशत जनजाति, पाँच प्रतिशत दलित, तीन/तीन प्रतिशत अपाङ्ग र जनान्दोलनका घाइतेका सन्तान र दुई/दुई प्रतिशत शहीद परिवारका सन्तति, बेपत्ता परिवारका सन्तति तथा मधेस आन्दोलनका घाइतेहरूका सन्ततिलाई प्रदान गर्दै आएको महाशाखा प्रमुख कुर्मीले बताए । महाशाखाका अधिकृत आनन्द लामिछानेले कक्ष्Fा ९ को लागि गत वर्ष वैशाखदेखि र कक्षा ११ को लागि चालू आवको साउनदेखि पूर्ण छात्रवृत्ति प्रदान गरिएको र यसबापत विद्यार्थीहरूले विद्यालयमा शुल्क बुझाएको भए फिर्ता पाउने बताए । उनले विद्यालयले लिएको शुल्क विद्यार्थीहरूले फिर्ता लिन पाउने अथवा अन्य शुल्क तिर्नुपर्ने कुरामा मिलान गर्न सकिने बताएका छन् ।