नेपाल–चीन मैत्री सम्बन्ध झल्किने वृत्तचित्र प्रदर्शन

प्रस, निजगढ, ३० माघ/
नेपाल–चीन सांस्कृतिक तथा परम्परागत मित्रतालाई उजागर गर्ने उद्देश्यले बुधवार बाराको निजगढ नगरपालिका–४ बागदेवस्थित जनकल्याण आभारभूत विद्यालयमा वृत्तचित्र प्रदर्शन गरिएको छ ।

चाइना मिडिया ग्रुुप (सिएमजी)ले विभिन्न अवधिमा नेपाल–चीन मैत्री सम्बन्ध झल्किने केही वृत्तचित्रहरू चीनमा छायाङ्कन गरेको र केही एआईको सहयोगमा तयार पारिएको जनाएको छ ।

ती वृत्तचित्रमा नेपालको सीमा क्षेत्रमा अवस्थित तिब्बती सिचाङ स्वशासित क्षेत्रका तिब्बती भिक्षुहरूको जीवनशैली, तिब्बती पठार भूमिमा कृषि उत्पादनका लागि विज्ञान प्रविधि, तिब्बती आली प्रिफेक्चर र नेपालका हुम्लालगायत सीमावर्ती जिल्लाहरूबीचको सीमा व्यापार, एआई प्रविधिको सहयोगमा निर्मित नेपाल–चीन सम्पदा संवाद र चिनियाँ नववर्ष गालासम्बन्धी मनोरञ्जनात्मक सामग्रीहरू सो वृत्तचित्रमा समावेश गरिएको बेइजिङबाट आएका सिएमजी नेपाली सेवाका पत्रकार लक्ष्मी लम्सालले जानकारी दिए । नेपाल–चीन सम्बन्धमा इतिहासदेखि वर्तमानसम्म बुद्धभद्र, सुआन चाङ, भृकुटी, फा सियान, अरनिकोलगायत पूर्वजहरूको अतुलनीय योगदान रहेको जनाउँदै यी दुई छिमेकी देश भएर पनि भाषिक कठिनाइले चीनबारे बुझ्न नसके पनि नेपाली भाषामा निर्माण गरिएको यस वृत्तचित्रको माध्यमले धेरै कुरा बुझ्न सहज भएको उक्त वृत्तचित्र हेरेका विद्यार्थी र शिक्षकहरूले प्रतिक्रिया दिए । यस वृत्तचित्र काठमाडौंका विद्यालयहरूमा पनि देखाइएको जनाइएको छ ।