प्रस, वीरगंज, ३० माघ/
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बैंक तथा वित्तीय संस्थाहरूलाई सेवाप्रवाह सहज र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिएका छन् ।
नेपाल राष्ट्र बैंक, वीरगंजको सभाकक्षमा बुधवार आयोजित बैंक तथा वित्तीय संस्थाको सेवा प्रभावकारी बनाउने विषयक अन्तत्र्रिmया कार्यक्रममा उनले जिल्लाभरिका बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुख र प्रतिधिनिहरू सहभागी रहेको कार्यक्रममा बैंकहरूको सेवाप्रवाहमा अनेकन झन्झट र सेवाग्राहीलाई हैरानी दिने कार्य भइरहेको गुनासा आएको चर्चा गर्दै बैंकहरूले सेवाग्राहीमैत्री सेवा बनाउन जरुरी भएको बताए ।
उनले कर्जा प्रवाहका प्रक्रिया, कर्जा असुली, धितो लिलाम प्रक्रियालगायतका कार्यहरू पारदर्शी बनाउन निर्देशन दिए । कर्जा असुली र कर्जा तिर्न नसकेका ऋणीहरूको धितो लिलामी गर्दा बैंकका कर्मचारीले अतिरिक्त दुःख दिने गरिरहेको जनगुनासो बढेको भन्दै उनले ऋणीलाई नाङ्गेझार पारेर कर्जा असुली गर्नु ठीक नभएको बताए । धितो लिलाम गर्दा सकभर ऋणीको मर्कालाई बैंकले बुझिदिनुपर्ने उनको सुझाव थियो ।
उनले भने, “ब्याज, किस्ता असुलीका नाममा बैंकका प्रबन्धकले कर्मचारी पठाएर काजकिरियामा बसेका, वैवाहिक समारोहमा रहेका ऋणीहरूको फोटो खिचेर ल्याउन लगाउने, ऋण कारोबारीको पसल, उद्योग वा फर्ममा ताल्चा लगाउने, सवारीसाधनको साँचो खोसिदिने जस्ता कार्यलाई उचित मान्न नसकिने जिकिर गरे । ऋणीलाई ऋणीको रूपमा मात्र नभई उसको सामाजिक हैसियतलाई बैंकले बुझिदिनुपर्ने र सोका लागि थप समय दिन आग्रह गरे ।
प्रजिअ अर्यालले ऋणीबाट कर्जा असुल्न बैंकलाई समस्या भएको अवस्थामा ऋणीलाई बोलाएर संवाद र छलफलका माध्यमबाट समस्या सुल्झाउन सुझाए । कर्जा असुलीका लागि अनावश्यक दुःख दिनाले ऋणीले एकदमै अप्रिय निर्णय लिन सक्ने र त्यसबाट थप खतरा सृजना हुन सक्नेतर्फ सचेत गराए ।
नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक सुशील पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा रहेका ९३ वटा बैंक तथा वित्तीय संस्थाका शाखाका प्रबन्धक, प्रतिनिधिहरू, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, पर्सा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरेराम सर्राफ, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, गैसस महासङ्घ पर्साका अध्यक्ष छठु साह लगायतको सहभागिता थियो ।