गाँजा र अफिमसहित दुईजना पक्राउ

प्रस, वीरगंज, २९ माघ/

जिल्ला प्रहरी कार्यालय, बाराले गाँजा, चरेससहित तीनजनालाई पक्राउ गरेको छ। बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष्Fक प्रकाश सापकोटाले हिजो जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा बस खानतलाशी गर्दा चार किलो ५०० ग्राम गाँजासहित भारत, बिहार बस्ने ४५ वर्षीय विजय श्रीवास्तवलाई पक्राउ गरिएको बताए। 

यसैगरी, हिजै राति १०ः३० बजे इलाका प्रहरी कार्यालय, अमलेखगंजको टोलीले जीतपुरसिमरा उपमनपा–२१ अमलेखगंजचोकमा चेकजाँच गर्दा वीरगंज जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल चालकले मोटरसाइकल फालेर भागेको र दुई पोकामा रहेको २८ किलो गाँजा बरामद गरिएको बताए। उनले आज बिहान ९ः३० बजे सोही टोलीले नेपाली नम्बरको पल्सर मोटरसाइकलमा सवार दुईजनाले प्रहरीलाई देखेर झोला फाली भागेको र दुईवटा झोलाबाट २७ किलो ९० ग्राम गाँजा बरामद भएको बताए। 

यसैगरी, आज बिहान प्रहरी चौकी पथलैयाले नेपाली नम्बरको स्कूटीबाट अफिमजस्तो देखिने १३ किलो वस्तु बरामद गरेको प्रवक्ता सापकोटाले बताए। उनले प्रहरीले स्कूटी रोक्न खोज्दा नरोकी भागेको र पिछा गर्दै जाँदा सूर्य नेपाल प्रालिनजीकबाट स्कूटी र सोमा सवार मकवानपुर जिल्ला, मनहरि गापा–६ बस्ने सूर्यबहादुर मोक्तान र भीमबहादुर मोक्तानलाई पक्राउ गरिएको बताए। 

स्कूटीबाट १३ किलो अफिमजस्तो देखिने वस्तु बरामद भएको र घटनाबारे आवश्यक छानबीन भइरहेको प्रवक्ता सापकोटाले बताएका छन्।